सन्दर्भ कांग्रेस महाधिवेशनः देउवालाई सत्ता जोगाउन सकस  

२०७८ भदौ २७ आइतबार १२:५१:०० मा प्रकाशित

गत २०७६ फागुनमै चार बर्षे नियमित कार्यकाल सकिएको काङ्ग्रेस पार्टी नेतृत्वले पार्टीको बिधान र नेपालको संविधानको सहारा लिएर अठार महिना थप गर्यो । भदौ १८ गतेबाट सुरु भएको वडा अधिबेशन अठचालीस जिल्लामा  सम्पन्न भैसक्यो । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेल्धुरामा छोरा जयबीरलाई राजनीतिमा ल्याउन केही दिनदेखि तानाशाह चरीत्र देखाई रहेका छन् । अघिल्लो महाधिवेशनका तीन गुट (सिपौदे) सिटौला, पौडेल र देउवा आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवार हुने संभावनाको बलियो आधार नै देखिँदैन । पार्टीको आगामी नेतृत्वमा आफ्नो उपस्थिति कमजोर देखेका अतिवादी र अहंकारी स्वभावका देउवा । शकुनी र च्याखे राजनीतिमा माहिर सिटौला, द्वय चरित्र र कमजोर राजनीतिक अडानका पौडेल । ०७५ सालदेखि पार्टीभित्रको राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्ने हो भने उनीहरु मध्ये देउवा मात्रै दोषी देखिँदैनन् । राजनीतिक भद्र सहमतिमा ईमानदार हुने हो भने पौडेलले पूर्व निर्वाचित महामन्त्री प्रकाशमान सिंहलाई, देउवाले उपसभापति बिमलेन्द्र निधिलाई सभापति उम्मेदवारमा प्रस्ताव गर्नु पर्ने रहेछ । देउवा र निधि अनि पौडेल र प्रकाशमान निकट जिल्ला सभापति र केन्द्रिय नेताहरुको भेटघाट र सम्पर्कबाट अहिले बल्ल प्रष्ट पार्दैछन् ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई ‘कु’ गर्दा प्रकाशमान सिंह ५ बर्षका थिए । बुबा आमा जेलमा थिए । आफ्नो घरमा बस्न पाएनन् । डेरा सर्दै सर्दै दुख साथ अध्ययन गर्दै गए । ०३६ सालको जनमतसंग्रह ताका नेता सिंह २४ बर्षका थिए । युवा समुहको नेतृत्व गर्दै बाल पेन्टिङ गर्ने, पोष्टर झुन्डाउने, सभामा कुर्सी, सोफा मिलाउने काम गर्थे । ३५ बर्षको उमेरमा २०४७ सालमा काठमाडौ जिल्ला सभापतिमा निर्वाचित भएर पार्टी संगठनमा काम गरे । २०५७ सालको १०औ महाधिवेशनबाट ४५ बर्षको उमेरमै केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । १२औ महाधिवेशनमा निर्वाचित पदाधिकारी मध्ये सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए । ५५ बर्षको उमेरमा महामन्त्री बनेका नेता सिंहको कार्यकाल प्रशंसा गर्न लायक रह्यो । अहिले ६६ बर्ष उमेरका प्रकाशमान सिंहले आफुलाई पार्टी सभापतिको स्वाभाविक उम्मेदवार बताउँछन् । सुशील कोईरालालाई संसदीय दलको नेता बनाउन नेता सिंहको कार्यदक्षताबाट सभापति सुशील कोइराला ज्यादै प्रभावित थिए । सुदृढ पार्टी संगठन र सरकार सञ्चालनमा प्रकाशमान सिंहको खुलेर प्रशंसा गर्न रुचाउथे उनी । १३औं महाधिबेशनमा देउवा इतर टिममा सभापतिमा प्रकाशमान सिंह र डा. शशांक कोईराला महामन्त्रीको उम्मेदवार हुने करिब करिब पक्का पक्की नै रहेछ । पार्टी सभापतिमा देउवाको भर लाग्दैन, पौडेलले चलाउनै सक्दैनन् भन्ने खुम बहादुर खड्काले महामन्त्रीमा शशांक समर्थन गरेका थिए ।

प्रकाशमान सिंहलाई सभापतिको उम्मेदवार बनाएर जिताउन चाहेका खड्काले पौडेलको नाममा सहमति बनेपछि देउवाको लागि भोट मागेका थिए ।  उपसभापति बन्न देउवालाई साथ दिएका खुमबहादुरलाई आफू सभापतिमा निर्वाचित भए देउवाले उनी माथी बेइमानी गरे । पौडेलको साटो  प्रकाशमान सिंह सभापतिको उम्मेदवार भएको भए तीन चोटि कोईरालासँग पराजित देउवा चौथो पटक नेता सिंहसँग हार्ने निश्चित प्रायः थियो । २०५७ सालदेखि अहिलेसम्मकै उनले पाएको लोकप्रिय मतले यहि पुष्टि गर्छ । एक पल्ट मात्र आफुलाई सभापतिमा प्रस्ताव गर्न पौडेलले अनुरोध गरेपछि उनको वरिष्ठता हेरेर पनि प्रकाशमानले सभापति पद उनलाई छोडी दिएका  रहेछन् । पौडेल र प्रकाशमान बीच भएको राजनीतिक भद्र सहमतिलाई बिर्सन खोजेको आरोप छ रामचन्द्र माथि ।

गान्धीवादी स्वभावका निष्ठावान नेता महेन्द्रनारायण निधिका सुपुत्र हुन् बिमलेन्द्र निधि । उनैलाई  बिपि कोइरालाले २०३६ सालमा नेबि संघको अध्यक्ष बनाएका थिए । देउवा गुटका बरिस्ठ नेता पार्टी उपसभापति बिमलेन्द्र निधि आसन्न महाधिवेशनमा सभापति पदको अर्का उम्मेदवार हुन् । १४औं महाधिवेशनमा देउवाले आफुलाई सभापति पदमा प्रस्ताव गर्ने भद्र सहमति बनेको रहेछ । आफुले पाउने  पदाधिकारी पदमा अरुलाई उम्मेदवार बनाएर निधिले  देउवालाई सभापतिमा जिताउन सफल भएका रहेछन् । राजनीतिक ईमानदारी देखाएर यस पटक देउवाले आफुलाई सहयोग गर्नुपर्ने बताउँछन् उनी । अघिल्लो सहमति अनुरुप आफुलाई सभापतिमा प्रस्ताव ल्याउनुको साटो देउवाले उल्टै फेरि एकपल्ट सभापतिमा सहयोग गर्न भने पछि निधि अहिले रुष्ट छन् । सभापति उम्मेदवारको लागि पूरा तयारी सहित देशैभरका नेता र कार्यकर्तासँग भेटघाट र सम्पर्कमा छन् । काङ्ग्रेस भित्रका युवा नेताहरू र देउवा निकट जिल्ला सभापतिहरू, नेता र  सांसदहरुसँग पछिल्लो पटक निधिको सामीप्य बढ्दै गएको प्रष्ट देखिदैछ । मधेसी समुदायको नेता भए पनि हिमाल र पहाड उनको आचरण एवं नेतृत्व मनपराउनेहरुको संख्या बढ्दो छ । नेतृत्वको अकर्मण्यताले गर्दा काङ्ग्रेस पार्टी संगठन अहिले लथालिङ्ग अवस्थामा छ । गएको चुनाबमा पार्टी लज्जास्पद पराजित भएपछि डिप्रेसन गएका काङ्ग्रेसीहरु अझै फ्रेस हुन सकेका छैनन् ।

अहिले पार्टी नेतृत्वप्रति कार्यकर्ताको निराशा र काङ्ग्रेसप्रति मतदाताको आकर्षण घट्दो छ । पौडेल टिमका उनीपछिका वरिष्ठ नेता प्रकाशमान सिंह जनजाति समुदायको पनि प्रतिनिधित्व गर्दछन् । देउवा टिमका वरिष्ठ नेता उपसभापति बिमलेन्द्र निधि मधेसी समुदायको प्रतिनिधित्व गर्ने नेता हुन् । १२औं महाधिवेशनमा  कोईराला टिमबाट प्रकाशमान सिंह र बिमलेन्द्र निधि देउवा टिमबाट महामन्त्री पदका उम्मेदवार थिए । निधिसँग ४४० मतको अन्तरमा बिजयी प्रकाशमानले सभापतिमा पराजित देउवालाई ३४० मतले पछि पारेका  थिए । प्रकाशमानको लोकप्रिय जनमत देखेर डराएका देउवाले १३औ महाधिवेशनमा प्रकाशमानको विकल्पमा  रामचन्द्र पौडेलको नाममा सहमति गराउन देउवाको पनि भित्री रणनीति हुनुपर्छ । १३औ महाधिवेशनमा सिटौलालाई गुटको नेता बनाउन सहयोग गरेका युवा नेता गगन कुमार थापा अहिले पौडेल टिममा आई सकेका छन् ।

प्रकाशमान र गगनको समीकरणले पार्टी र टिम बलियो बन्न ठूलो सपोर्ट मिल्ने धेरैको विश्लेषण छ । सानो बिपि भनेर चिनिने पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले देउवा टिममा स्पेस नपाउने भएपछि सम्भवत उनी निधि निकट हुने अर्को प्रवल संभावना पनि उत्तिकै छ । सभापति र महामन्त्रीमा उनिहरुको समीकरण बन्न सक्यो भने देउवालाई सभापति उठाउन उक्साउनेहरुलाई राम्रै धक्का लाग्ने देखिन्छ । लामो समयसम्म देउवा निकट रहेका निधि लाभका पदमा रहेका बेला ठूल ठुला विवादमा फसेका छैनन् । बानेश्वर स्थित भाडाको घरमा बसेका निधि माथि आर्थिक अनियमितताको आरोप पनि लागेको छैन ।

सिलवाल र चन्दको आईजी काण्डमा उनी गृहमन्त्री थिए । नियम मिचेर जयबहादुर चन्दको पक्षमा देउवाले रडाको मच्चाउन खोज्दा उनलाई रोक्न निधिले ठुलै प्रयास गरेका थिए , तर सकेनन् । आईजी काण्डमा देउवा बिवादमा फसे पार्टीलाई चुनावमा क्षति भयो । पूर्व गृहमन्त्री निधिले आफुलाई आलोचनाबाट बचाए । सभापति निकट रहेका कारण उनी पार्टी संगठनमा उनका कमजोरी नभएका होइनन् । आफ्नो गुटको नेतालाई संरक्षण गर्न खोज्दा उनी मात्र होईन अरु पनि आलोचित भएका छन् । नेकपा ओलि सरकार सत्तामा रहदा देउवा नेतृत्व प्रतिपक्षी दल संघीय संसदमा सत्तापक्षको हैसियत देखाएकै हो । राजदुत, अख्तियार, लोकसेवा आयोगको नियुक्तिमा भाग पाउने ओलि सरकारको  भ्रष्टाचारको बिरोधमा चुईक्क नबोलेकै हो । काङ्ग्रेसलाई सत्ताको साझेदारी दल जस्तै देखाउने काङ्ग्रेस नेतृत्वलाई काङ्ग्रेसीले समेत रुचाएका छैनन् । 

काङ्ग्रेस भित्र अर्को चमत्कारी घटना घटेन भने सभापति पदको अन्तिम प्रतिस्पर्धामा जाने प्रकाशमान सिंह र बिमलेन्द्र निधि देख्छन् राजनीतिक बुद्धिजीवी र पार्टी भित्रका प्रभावशाली नेताहरू । पार्टी नेतृत्वमा जनजाति वा मधेसी समुदायबाट जो गए पनि पार्टी संगठन बलियो हुने र कार्यकर्तामा उत्साह थपिने काम पकै हुनसक्छ । ०४८ सालदेखि अहिलेसम्म पार्टी नेतृत्व  र सरकार प्रमुखमा खस आर्यको निरन्तरता रहँदै आएको देखिन्छ । आफ्नै बर्गको नेतृत्व माथि आफैंले असन्तुष्टि ब्यक्त गरेको चोक चौतारीमा छरपस्ट छ । ०४८ को आमचुनाब पछि काङ्ग्रेस पार्टीले लिनु पर्ने समाबेशी एजेन्डा ०५१ पछि माओवादीले अगाडि ल्यायो । समाबेशीको मनोबिज्ञानलाई अगाडि देखाएर शुरु भएको जन युद्धले देशको राजकीय राज्य सत्तालाई नै परिवर्तन गरि दियो । समावेशीकरण र वर्ग संघर्ष अन्त्यको लागि पनि यस पटक काङ्ग्रेस नेतृत्वमा परिवर्तन आउन उत्तिकै जरुरी देखिन्छ । बिपि कोईराला र गणेशमान सिंहले नेपाली काङ्ग्रेसलाई समाबेशी बनाउन खोजेको सपना पूरा हुन अझै बाँकी  छ । आसन्न काङ्ग्रेस महाधिवेशनमा नैतिकवान नेतृत्व, समाबेशी प्रतिनिधित्व हुन सक्यो भने पार्टीको निम्ति मात्र होईन देशले दीर्घकालिन राजनीतिक थायित्व पनि पाउनेछ ।
 

ताजा खबर