संखुवासभा सामूहिक हत्या प्रकरणः एक जना छिमेकी पक्राउ

२०७८ भदौ २६ शनिबार ११:०८:०० मा प्रकाशित

संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना छिमेकीलाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याको आशंकामा छिमेकी २५ वर्षीय युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।

 

ताजा खबर