पीएनजीमाथि नेपालको सहज जित

२०७८ भदौ २५ शुक्रबार २३:०५:०० मा प्रकाशित

काठमाडौं । सन्दीप लामिछानेले करियरकै उत्कृष्ट बलिङ गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालको छ । पीएनजीविरुद्धको दोस्रो एक दिवसीयमा सन्दीपले ५ दशमलब एक बल बलिङ गर्दै ६ विकेट लिए ।

उनले मात्र ११ रन खर्चे । सन्दीपले यसअघि सन् २०२० मा भएको आईसीसी डिभिजन–२ अन्तर्गत यूएसएविरुद्धको खेलमा ६ ओभर बलिङ  गर्दै ६ विकेट लिएर १६ रन खर्चेका थिए । ओमानको अल इमिरेट क्रिकेट मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले १९ ओभर १ बलमा सम्पूर्ण विकेट लिएर ८२ रन बनायो ।

पीएनजीका लागि कार्लेस अमिनीले १६ रन बनाए । त्यस्तै नोर्मान भानुवाले १२ रन जोड्दा गाउडी टोकाले १० रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौड्यलले ८६ रनको अर्धशतकीय पारी खेले । १२३ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै ज्ञानेन्द्र मल्ल ४५ रन बनाए । ७० बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि करण केसीले ४२ रन बनाए । उनले २६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । विनोद भण्डारीले नेपालका लागि १७ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाए ।

नेपालले पीएनजीसँगको यी दुई खेल आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलेको हो । लिग २ मा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेल सोमबार अमेरिकाविरुद्ध खेल्दै छ ।
 

ताजा खबर