विश्वकप छनोटमा ब्राजिलको लगातार आठौं जित

२०७८ भदौ २५ शुक्रबार १०:३२:०० मा प्रकाशित

दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले लगातार आठौं जित हात पारेको छ । शतप्रतिशत नतिजा निकाल्ने क्रममा ब्राजिलले पेरुलाई दुई शून्य गोलले पराजित गर्यो । ब्राजिलको जितमा नेइमारको प्रदर्शन उच्च रह्यो । घरेलु मैदानमा ब्राजिलले पहिलो हाफमानै दुई शून्यको अग्रता लिएको थियो ।

१४ औं मिनेटमा एभर्टन रिबेइरोले नेइमारको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा नेइमार आफैंले गोल गरेपछि ब्राजिलले सहज जित हात पार्यो । दोस्रो हाफमा गोल नथपेपनि ब्राजिल माथि पेरुले गतिलो  चुनौति पेश गर्न सकेन ।

जितपछि ब्राजिल विश्वकप नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको ब्राजिलको ८ खेलबाट २४ अंक छ ।  आज बिहानै भएका छनोटका  अन्य खेलमा कोलम्बियाले चिलीलाई तीन एक,  उरुग्वेले इक्वेडरलाई एक शून्य र पाराग्वेले भेनेजुएलालाई दुई एकले हरायो ।

उरुग्वे तेस्रो, इक्वेडर चौथो र कोलम्बिया पाँचौ तथा  पाराग्वे छैटौ स्थानमा छ । पेरु सात, चिली आठ , बोलिभिया नवौ र भेनेजुएला दशौं स्थानमा छन् । शीर्ष चार टिमले कतार विश्वकपमा स्थान बनाउँदा पाँचौ हुने टिमले प्ले अफ खेल्ने मौका पाउनेछ ।

ताजा खबर