मेसीले तोडे पेलेको कीर्तिमान

२०७८ भदौ २५ शुक्रबार १०:२७:०० मा प्रकाशित

लियोनल मेसीले दक्षिण अमेरिकी क्षेत्रमा सर्वाधिक गोल गर्ने ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई तीन शून्य गोलले पराजित गर्दा लियोनल मेसीले ह्याट्रिक गरे ।

ब्युनो आयर्समा भएको खेलमा मेसीले १४ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले बोलिभियन डिफेन्डरलाई जिल्याउँदै गोल गरेका हुन्  ।  यो गोलसँगै मेसीले पेलेको ७७ गोलको कीर्तिमान बराबरी गरेका थिए । पहिलो हाफमा एक शून्यले अघि रहेको अर्जेन्टिनाविरुद्ध बोलिभिया खेलमा फर्कन सकेन । ६४ औं मिनेटमा मेसीले अग्रता दोब्बर पारे ।  ८८ औं मिनेटमा मेसीले टिमका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

राष्ट्रिय टिमका लागि मेसीको गोल संख्या ७९ पुगेको छ । जुन पेलेको भन्दा दुई गोलले बढी हो । अर्जेन्टिनाको जर्सीमा मेसीले सातौ ह्याट्रिक गरेका हुन् । उनले राष्ट्रिय टिमका लागि अहिलेसम्म १ सय ५३ खेल खेलेका छन् ।  पेलेले  ९२ खेलमा ७७ गोल गरेका थिए ।

गत डिसेम्बरमा मेसीले  एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेकै कीर्तिमान तोडेका थिए । मेसीले  स्पेनिस क्लब बार्सीलोनाका लागि ६ सय ७२ गोल गरेका छन् । पेलेले ब्राजिलको सान्तोषबाट ४ सय ४३ गोल गरेका थिए । मेसी यसै सिजन बार्साबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजी गएका हुन् ।

अन्तर्राष्ट्रिय पुरुष फुटबलमा धेरै गोल गर्नेको किर्तिमान भने मेसीका चीर प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले  राष्ट्रिय टिमबाट १ सय ११ गोल गरेका छन । रोनाल्डोले इरानका अली डेइको १ सय ९ गोलको किर्तिमान तोडेका हुन् । जरी विश्वकप छनोटमा अपराजित छ । तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक  छ ।  बोलिभिया नौ खेलबाट ६ अंक सहित नवौ स्थानमा छ । 

ताजा खबर