नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै

२०७८ भदौ २५ शुक्रबार १०:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक डे नाइट अर्थात् दिन र रातमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । नेपालले आज फ्लड लाइटमा पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्न लागेको हो 

ओमानस्थित अल अमारत स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।  नेपालले एकदिवसीयमा डे नाइटमा खेल्न लागेको यो पहिलो पटक हो । टि ट्वान्टी अन्तर्राष्ट्रियमा भने नेपालले सन् २०१९ मा सिंगापुरमा भएको त्रिकोणात्मक सिरिज खेलेको थियो ।

आजको खेलमा नेपाली टिममा केही परिवर्तन हुन सक्ने सम्भावना छ । यसअघि गत मंगलबार भएको पहिलो अ‍ोडिआईमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । १ सय ३५ रनको झिनो लक्ष्य पूरा गर्न नेपाली ब्याट्सम्यानले निकै संघर्ष गरेका थिए ।

आज ब्याट्सम्यानले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर पूर्ण रुपमा फ्लप भएका थिए । सो खेलमा बिक्रम सोब, आशिफ शेख र कुशल भुर्तेलले ओडिआईमा डेब्यु गरेका थिए ।

बिक्रमले डेब्यु वलमानै विकेट लिर्दैै कीर्तिमान समेत बनाए । टिममा तीव्र गतिका वलर गुल्शन झा डेब्युको प्रतिक्षामा छन् । आजको खेलसँगै नेपालले विश्वकप लिग टु अन्तर्गत सिरिजको तयारी पूरा गर्नेछ । सिरिजमा ओमान र अमेरिका सम्मिलत छन्  । त्रिकोणात्मक सिरिज भदौ २८ गतेबाट सुरु हुनेछ । 
 

ताजा खबर