सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

२०७८ भदौ २५ शुक्रबार ०८:४८:०० मा प्रकाशित

राजविराज । सप्तरीमा गएराति भएका छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ ।

को७प ४४१० नम्बरको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नम्बरको ट्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो । खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
 

ताजा खबर