प्रिती र सविताको डेब्यु गोलमा नेपाल विजयी

२०७८ भदौ २४ बिहीबार १९:१३:०० मा प्रकाशित

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २–० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो ।

नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।

उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् । ८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल फर्काइन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो । दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

ताजा खबर