एब्स्ट्रयाक्ट चिन्तन तीज: मौलिकता फर्किनेछ

२०७८ भदौ २४ बिहीबार ११:४६:०० मा प्रकाशित

समय बदलिन्छ । सभ्यता र शैली बदलिन्छ । तर, बदलिँदैन परम्परा । समस्या बदलिन्छ, बाधा बदलिन्छ, तर बदलिँदैन उच्छवासको मर्म । बुहार्तन बदलिँदैछ । सासु र बुहारीको सम्बन्ध बदलिँदैछ । अब छैन, पहिलेजस्तो कटु ।

ब्याचलर सक्नासाथ बिबाह गर्ने अनि पतिसँगै बिदेशिने । नयाँ पुस्ताका शिक्षित नारीमा अचेल यही सपना छ । विदेशिएपछि बुहारी र सासु साथमा नरहने भए, अनि केको किचकिच, केको बुहार्तन् ? 

पहिला यस्तो थिएन । गाउँघरमा नजिकै धारा हुँदैनथे । बिहान सुर्योदय नहुँदै उठेर बुहारी तामा र पित्तलका गाग्री बोकेर निकै परको पँधेरा या कुवामा पानी लिन जान्थे । कम्मरमा पानी बोकेर आउन नपाउँदै गोठ सफा गर्थे । वस्तुभाउलाई दानापानी खुवाएर भान्सामा पस्थे । खाना बनाउँथे, सबैले खाएपछि रहलपहल खान्थे । दिउँसो घाँस दाउराको चटारो, खेतबारीको हतारो । राती अबेरसम्म सासुका गोडा माडेर सुत्न नपाउँदै बिहान पानी लिन उठनुपर्ने ।

तैपनि सासुको किचकिच, अपजस !

रोपाईंबाट थिलोथिलो भएको ज्यान । बुहार्तनको सकस । भाद्र शुक्ल तृतीयाका दिन आउने तीज बुहारीहरुका लागि मानौं जेलमुक्तीको क्षण सरह हुन्थ्यो । माइत जान पाइने । बाल्यकालका सखाहरुसँग भेट्न पाइने । मनका बह पोखेर गाउन र नाच्न पाइने । 

साँच्चै, चेलीका लागि तीजको रौनक र रोमाञ्च बेग्लै थियो । सासु, श्रीमान, नन्दबाट पाएका हेपाहा व्यवहारलाई सांकेतिक या ठाडै तीजका भाकामा गाउँदै नाच्दा उनीहरु रेचन (क्याथर्सिस) महसुस गर्थे । मनको खिल निस्किएझैं, गाँठो फुके झैं । 

उन्मुक्त हाँसो हाँस्न पाइने, आफ्नो नैसर्गिक स्वतन्त्रतालाई एक हदसम्म स्वच्छन्दतामा बदलेर फुरुंग पर्न पाइने अवसर बन्थ्यो, तीज । समूह–समूहमा झुरुप्प भेला भएर नाच्दा एउटाले गीत सक्न पाएको हुँदैन, अर्कोले फुँदा जोडिहाल्थ्यो । 

पँक्तिकारलाई सम्झना छ, तीन दशकअघि तीजमा मामाघर जाँदाको रौनक । गुल्मी, थोर्गा । रिडीबाट ठाडै उकालो चढेर पुगिने एउटा गाउँ । अहिले त त्यहाँ मोटरबाटो पुगिसकेको छ, तर पहिला हिँडेरै जानुपथ्र्यो, बनका झाडी समाउँदै । 

कटहर पाक्थे । बारीभरी मकै । फर्सीका मुन्टा । मोही, आटो र बोडीको तरकारी । भदौरे गाभा । दर खाने दिन चाहिँ अनदीको चामलमा घिउ हालेर बनाइएको विशेष पुवा । खाँदेको काँक्राको अचार ।


वल्लाघर, पल्लाघर जताततै चेलीहरुको आगमन । ‘ए ठूली पनि आइछे, साइली पनि आइछे, लौ रमाइलो हुने भो’ ‘पल्लाघरे माइली पनि आइछे है, उसलाई छुटाउनुहुन्न’
‘लौ आज पण्डित बाजेकहाँ नाच्ने’ मैनटोल बालेर दर खाने रातभरी कुनै आफन्तका घरमा भेला भएर गाउँका चेलीहरु नाच्थे र गाउँथे,  ‘पारी बनपालेमा ठूलो रुख सल्लै हो
भेट भएको बल्लै हो ।’

चेलीहरुको त्यो जमघटमा चेला अर्थात् हाम्रा मामाहरु चाहिँ खंैजडी, मादल र बाँसुरी बजाउँथे । त्यो सांस्कृतिक माहौलमा हामी केटाकेटी चाहिँ लुपुक्कै निदाउँथ्यौं । नाचगानले तिब्रता लिएको बेला झसंग जाथ्यौं ।


बिचबिचमा सेल रोटी, काँक्राको खाँदेको अचार, दही, मोही आउँथ्यो । केटाकेटीको मुख्य सरोकारको विषय त्यही हुन्थ्यो । रिडिमा मामाले किनिदिएको सुन्तलाको स्वाद भएको सुन्तले रङकै क्यान्डी गोजीभरी हुन्थे । बस हामीलाई के चाहियो ? 

रातभरीको अनिदो, भोलीपल्ट तीजमा दिनभरीको नाचगानको धपेडी । केही चेलीहरु नाच्दा नाच्दै चक्कर लागेर ढल्थे । एकजना ढल्नासाथ त्यसको ‘भाइरल प्रभाव’ भन्या झैं अरु पनि ढल्न थाल्थे । पानी छम्कीएर ब्रत तोड्न लगाइन्थ्यो र खानेकुरा खान दिइन्थ्यो । तैपनि मान्दैनथे, ब्रत तोड्न ।

‘भो ब्रत त तोड्दिन, गाउँमा खिसि गर्छन्, के मुख देखाउनु ?’

‘फलाहार खान हुन्छ, शास्त्रमा लेख्या छ’, गाउँका कुनै जान्ने सुन्ने विद्वानको सल्लाह आउँथ्यो । ‘हो हो, पण्डित बाले भनेपछि कुरो सोह«ै आना सही हो, अन्न पो खान भएन, फलाहार त हुन्छ’, अर्को जान्ने सुन्नेले भन्थे । 

अनि बेहोस भएकी चेलीलाई पाकेको कटहर, मालभोग केरा या यस्तै कुनै फल खान दिइन्थ्यो । केहीबेरपछि शक्ति बढ्थ्यो र तिनै चेली कम्मर मर्काइ मर्काइ नाच्थीन् । चौथीका दिन नुहाइवरी ब्रत पारण गरेर खाना खानुको मजा बेग्लै हुन्थ्यो, चेलीलाई । कुनै फलामे द्वार छिचोलेजस्तो । पुरुषार्थ नै गरेजस्तो । आफ्नो स्त्री कर्तब्य निर्वाह गरेजस्तो । 

ऋषि पञ्चमीका दिन ब्रतालुले ३६५ वटा दतिवनले दाँत माझ्ने होड । ज्यानभरी माटो दलेर स्नान । वर्षभरी दात माझेको छैन भने पनि त्यो एकदिनको मझाइ नै पर्याप्त । ध्येय वर्षभरीको पाप पखाल्न त्यसो गरिएको भनिए पनि खासमा दाँतको स्वास्थ्यका लागि त्यो लाभकारी नै हो । दतिवनले ३६५ पटक दाँत माझ्दा दाँत टिलिक्क ।


एकथरीले नारीको तीजको ब्रतलाई पितृसत्तात्मक समाजमा नारीको अपमानका रुपमा व्याख्या गरे पनि ब्रत आफंैमा स्वास्थ्यका लागि उत्तम कर्म हो । उपवास बस्दा हाम्रो पाचन प्रणालीले एक दिन भए पनि विश्राम पाउँछ । पेट सफा हुन्छ । अचेल अमेरिका, युरोप र भारतमा पनि रेचन प्रकृया अनुसार जल उपवास (वाटर फास्टीङ थेरापी) सुरु भइसकेको    छ । 

यो थेरापी बमोजिम सात दिनसम्म पानी मात्र पिएर बसिन्छ । गत वर्ष पंक्तिकारले पूर्व क्षेत्रीय प्रशासक गुल्मीकै प्रेमनिधि ज्ञवालीले वाटर फास्टीङ गरेको देखेको थियो । सात दिनसम्म पानी मात्र पिएर बस्दा कमजोरी हुँदैन ? भन्ने प्रश्नमा ज्ञवालीले भनेका थिए, ‘दुइ दिनसम्म सकस त हुन्छ, तर तेश्रो दिनदेखि ज्यान हल्का हुँदै जान्छ । केही दिन सफा नगरेको शौचालयमा झैं आन्द्रामा धेरै वर्षदेखि जमेर रहेका कुडाकर्कट सफा हुँदै जान्छ र सातौं दिन शरीर पुरै डिटोक्स र परिशुद्ध हुन्छ ।’

विदेशमा सात दिनसम्म पानी मात्र खाएर बस्न सकिने थेरापी प्रचलनमा आइरहेको बेला हाम्रा नेपाली चेलीले तीजमा एक दिन पानी पनि नखाइ ब्रत बस्दा एकथरीलाई जुन आपत्ति छ, त्यो खासमा चेलीहरुप्रतिको सहानुभूति हैन । बरु, हाम्रो मौलिक संस्कृति र परम्परामाथि प्रकारान्तरको प्रहार हो । 

पतिको दीर्घायूका लागि पत्नीले ब्रत बस्दा पत्नीकै उदात्त प्रेम र सम्मान झल्कीन्छ । हाम्रो पूर्वीय संस्कार अनुसार पत्नीका लागि पती देवता सरह हो । बस, यहाँ कमी के मात्र हो भने, अब पतिले पनि पत्नीलाई देवी सरह व्यवहार गरुन्, हेपाहा व्यवहार नगरुन् । 

बदलिँदो समयसँगै अब पति र पत्नीविच पारस्परीक सहयोग बाध्यात्मक आवश्यकता भएको छ ।

पंक्तिकारकी भाञ्जी प्रतिष्ठा पहारी (नेपाल) अहिले अमेरीकामा छिन् । भाञ्जीसँगै ज्वाईं मनोज नेपाल पनि उतै छन् । दुबै त्यहाँ अध्ययनका लागि गएका हुन् । एकजनाले काम गरेर कमाउने, अर्कोले पढ्ने । अर्कोले पढेर भ्याएपछि उसले पनि कमाउने । यसरी डायोस्पोरीक सभ्यता विकास भइसकेको सन्दर्भमा अब पतिका लागि पत्नी पनि देवी सरह भइसकेकी छिन् । 

स्वदेशमै पनि महिला कामकाजी हुन थालेका छन् । अब जुठा भाँडा पत्नीले नै माझ्नु्पर्छ भन्ने रहेन । दुबैले कमाउने भएपछि घरको काममा पनि पारस्परीक सहयोग हुनैपर्ने देखियो । यदि यसमा असन्तुलन भएको खण्डमा महिलाको अहंकार जाग्नसक्ने देखियो । जहाँ अहंकार जाग्न थाल्छ, त्यहाँ प्रेम र विश्वास हराउँछ । अनि बल्ल डिभोर्स । डिभोर्स नचाहने हो भने, पत्नीलाई पनि देवी नमानी धर ? 

जब नारी सामाजिक, राजनीतिक र आर्थिक रुपमै अगाडि आउँदैछन्, त्यो बेला बुहार्तन असान्दर्भीक भैसक्यो । दम्पतीले नै कमाउने परिवारमा सासु ससुराको हेरचाहका लागि केयर गिभर या सहयोगी राख्ने प्रचलन पनि सुरु भइसक्यो । गाउँघरका महिला पनि अब सासुको किचकिच सुन्न छाडेर साइप्रसदेखि इजरायल, कोरीयादेखि कतार, दुबइदेखि दिल्लीसम्म रोजगारीमा जान थालिसके ।

सामाजिक र पारिवारिक अन्तरसम्बन्ध बदलिँदै गर्दा चेलीका घरायसी गनगन अब तीजमा पोखिन छाडेका छन् । तीज अब विरह पोख्ने हैन, रमाइलो गर्ने अवसरमा परिणत भइरहेको छ । एक से एक तीजका गीत बजारमा छन् । पेनड्राइभ या ब्लुतुथ खोल्यो, स्पीकरमा घन्कायो, नाच्यो । विदेश गएको छोराले पठाएको पैसाबाट गाउँका घरघरमा टिभी र हातहातमा मोबाइल भित्रिसकेकै छ । गाउँघरमा पनि मौलिक तीज भाकाको साटो यूटयूब खोल्यो, गीत घन्कायो, नाच्यो ।

गीत पनि विरहको हैन, मस्तीको, सरस्वती भुजेलको गीत झैं-

‘जयजय भोले पशुपति शिव सम्भो
रातो साडी लगाउँदा ज्यानमा गरम भो
हे शम्भो नलगाउँदा झनै सरम भो
यसपाली तीजमा पनि बबाल हुने भो’

अचेलको तीजमा विरहको हैन, बबालको गीत घन्कन्छ । नारीले मात्र हैन, दुर्गेश थापा मार्काका पुरुषले गाएकै तीज गीत हिट हुन्छन् । अनि पुरुषले गाएको गीतमा नाच्छन् चेलीहरु, विच्च विच्चमा । 

दरको मौलिक स्वाद त हराइसक्यो । नहराए पार्टी प्यालेस कसरी चल्ने ? डढेको तेल हुन्छ, कराहीमा, अनि त्यसमा विषाक्त चिकन टिक्का फ्राइ भइहाल्छ । पाम ओयल मिसाइएको तेल र बनस्पती घिउमा पुलाउ पाकिहाल्छ । दश  प्रतिशत हुनेखाने महिला काँधमा दशौं तोलाको तिलहरी ढल्काएर आइहाल्छन् अनि नहुनेहरु टवाल्ल परेर मन अमीलो पार्छन् । 
हुनेखानेले रवाफ प्रदर्शन गर्ने अवसर । विभिन्न दलले महिला संगठनलाई विस्तार गर्न दर पार्टी आयोजना गरेर भाषण गर्ने अवसर । अनि भारतबाट आयातित साडी, गहना, श्रृंगार प्रशाधनको भरमार व्यापार । पोहोर किनेको साडी यसपाली लगाउँदा लाज हुने, नयाँ नकिनी नहुने । बस, हाम्रो संस्कृति आर्थिक रुपमा पर निर्भर ।

तीजको मौलिक संस्कृति भड्किलो प्रदर्शन, भड्किलो नृत्य र पार्टी प्यालेसको विषाक्त खानामा हैन, शास्त्र बमोजिमका कर्मकाण्ड, ब्रत, पूजा र संस्कार निहित छ । परम्परागत शैली नै उत्तम हो । पति पत्नीविच सद्भाव, सामाजिक अन्तरघुलन, मौलिक संगीत र नृत्यको बढावा अनि मौलिक परिकारको जगेर्नाका हिसाबले हजूरआमा र आमाहरुले मनाएको तीज नै उत्तम थियो । 

उत्तम त थियो, तर समयलाई कसले छेक्ने ? सभ्यता र शैली त बदलिइहाल्छ । यो वैश्ययुगमा युगले जे जे खोज्छ, समाज त्यतै जान्छ । भड्किलो भए पनि, मौलिक गीत, नृत्य, भोजन र पोशाकको ठाउँमा आधुनिकताले गाँजे पनि, परम्परा चाहिँ बदलिँदैन । अबको पचास वर्षपछि गीत, नृत्य, पोशाक र खाना बदलिएला, तर चेलीहरु तीज मनाउन चाहिँ छाड्ने  छैनन् । 

समय बदलिन्छ, शैली र सभ्यता बदलिन्छ, तर परम्परा बदलिँदैन । पर्व बदलिँदैन । कसै न कसैले मौलिकतालाई बचाइरहेकै हुन्छ, पर्वको मर्मको रक्षा गरिरहेकै हुन्छ । देवानन्दको पालाको बेली बटन पाइन्टको चलन दोहोरिए झैं, भुर्इंमा लतारीने लेहंगाको चलन दोहोरिए झैं, फेरी कुनै दिन अनदीको चामलमा घिउ हालेर बनाइने पुवा, फर्सीको मुन्टा र गावा खाँदै पार्टी प्यालेस हैन, डाँडा पाखा र खेत खलिहानका चउरमा झुरुप्प भेला भएर चेलीहरुले तीज मनाउने फेसन दोहोरिनेछ । 

हो त, दार्जीलिङमा पाइने देवानन्द स्टाइलको टोपी अचेल धेरैले लगाउन थालेका छन्, क्यापको साटो । अनि ‘झमझम इस्टकोट’ फेरी मोदी स्टाइलमा दोहोरिएको छ, हरेकको ज्यानमा । गोजी नै गोजी भएको पातलो हाफ ज्याकेट लगाउने चलन हराइसकेको छ । रंगीला टोपी लगाउन छाडेका छन्, अचेलका ठिटीले, तर फेरी कुनै दिन त्यो फेसन उर्लेर आउनसक्छ ।

अतः तीजको मौलिकता हरायो भनेर निराश नहोउँ । ‘‘ब्याक टु नेचर’ भने झैं, पश्चिमाहरुले बेद पढ्न थाले झैं, अग्र्यानिक तरकारी, अन्न र मासुको डिमान्ड बढे झैं मौलिक संस्कृति पुनः जगृत भएर आउनेछ । 

चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

 तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
 
तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।

हिमालयपुत्री पार्वतीबाट  सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मन–बचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ । त्यस्तै हरितालिका तीजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्व भने फरक छ । चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्ना लागि मनाउँछन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान–अञ्जानमा भए–गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गर्छन् । तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ ।
 

ताजा खबर