नेदरल्यान्डसद्वारा टर्की ६–१ गोलले पराजित

२०७८ भदौ २३ बुधबार ११:५१:०० मा प्रकाशित

माम्फिस डिपायेको ह्याट्रिकको मद्दतमा नेदरल्यान्डसले विश्वकप छनोटमा दश खेलाडीमा समेटिएको टर्कीलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जितपछि समूह जी मा रहेको नेदरल्यान्डस ६ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो ।

नेदरल्यान्डसको घरेलु मैदान एम्सटर्डम एरिनामा भएको खेलको पहिलो मिनेटमानै डाभी क्लासेनले गोलको खाता खोलेका थिए । १६ औं मिनेटमा डिपायेले अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा उनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे ।

५४ औं मिनेटमा  बार्सीलोनाबाट व्यावसायिक फुटवल खेल्ने  डिपायेले ह्याट्रिक पुरा गरे । राष्ट्रिय टिमबाट उनको यो पहिलो ह्याट्रिक हो ।  डिपायेले नेदरल्यान्डसका लागि पछिल्लो दश खेलमा १२ गोल गरिसकेका छन् । यो वर्ष उनले क्लब र राष्ट्रिय टिममा गरी २८ गोल र १४ एसिस्ट गरेका छन् ।  

८० औं मिनेटमा हुस टिल र डोनियल मालानले ९० औं मिनेटमा गोल गरे । इन्जुरी समयमा टर्कीका चेन्गिज उन्डारले सान्त्वना गोल फर्काए । ४४ औं मिनेटमा टर्कीका चालार सुयुन्चु रातो कार्ड खादै मैदान बाहिरिएपछि नेदरल्यान्डसले टर्कीलाइ थप दवावमा राखेको थियो ।

 अर्को खेलमा नर्वेले ज्रिबाल्टरलाई ५–१ गोलले हराउँदा अर्लिङ ब्राउट हालान्डले ह्याट्रिक गरे । २३ औं मिनेटमा क्रिस्टियन त्रुस्टभेटले नर्वेलाई अग्रता दिलाए । २७ औं मिनेटमा हालान्डले अग्रता दोब्बर गरे ।  । ३९ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।

 ४३ औं मिनेटमा ज्रिबाल्टारका रिस स्टिचले गोल फर्काएका थिए । ५९ औं मिनेटमा अलेक्जेन्डर सोरलोथ नर्वेका लागि चौथो गोल गरेका थिए । इन्जुरी समयमा हालान्डले ह्याट्रिक पूरा गरे ।  जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर हालान्डले यो सिजन क्लब र देशका लागि आठ खेल खेल्दै  ११ गोल गरेका छन् ।  जसमा दुई ह्याट्रिक समावेश छ । 

ताजा खबर