विक्रम सोब डेब्यु ओभरको पहिलो वलमानै विकेट लिन सफल

२०७८ भदौ २२ मंगलबार १२:४१:०० मा प्रकाशित

काठमाडौं । तीव्र गतिका वलर विक्रम सोब एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु ओभरको पहिलो वलमानै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । विक्रमले ओमानमा भइरहेको पपुवा न्युगिनीविरुद्धको खेलमा यो सफलता हात पारेका हुन् । यसै खेलमार्फत ओडिआइमा डेब्यु गरेका विक्रम खेलको दोस्रो ओभरमा वलिङमा आएका थिए ।

उनले आफ्नो पहिलो वलमानै पपुवा न्युगिनीका टोली उरालाई एक रनमा क्लिन बोल्ड गरे । यसअघिसम्म ओडिआई डेब्युको पहिलो वलमानै कुनै पनि नेपाली खेलाडीले विकेट लिएका थिएनन् । उनले आफ्नो पहिलो ओभर विकेट सहित मेडन  राख्दै ओडिआई करियरको उत्कृष्ट सुरुवात गरेका छन् ।  

विक्रम चार वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् ।  नेपाललाई दोस्रो सफलता पनि उनैले दिलाएका थिए । आफ्नो दोस्रो ओभरमा विक्रमले पपुवा न्युगिनीका कप्तान अस्साद भालालाई चार रनमा आरिफ शेखको हातबाट क्याच आउट गरे ।

अल अमारत क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ गरेपछि नेपालले वलिङ गरेको हो । आजको खेलमा विक्रमसँगै आरिफ शेख र कुशल भुर्तेलले पनि ओडिआइमा डेब्यु गरेका छन् । नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल्नेछ । दोस्रो ओडिआई शुक्रबार हुनेछ । त्यसपछि नेपालले  ओमान र अमेरिका सम्मिलत विश्वपकप  लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नेछ । 
 

ताजा खबर