बढीमालिकाको रोमाञ्चक यात्राः नपुग्नेले गुमाउने, पुग्नेलाई बाचुञ्जेल आनन्द

२०७८ भदौ २२ मंगलबार १२:२९:०० मा प्रकाशित

बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बढिमालिका जाने पूर्व तयारी थियो । 

अहो, दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँडडूल पनि बन्द भयो । बढिमालिका जाने रहर यत्तिकै तुहिएलाजस्तो लाग्न थाल्यो ।

 

साउन दोस्रो साता काठमाडौं गएका बेला जचाउँदा डाक्टरले ढाडको नसा च्यापिएको बताए । केही औषधि र थेरापि सिकेर फर्किएँ ।

हरेक वर्ष बाजुराका प्रमुख जिल्ला अधिकारीहरु बढीमालिका जाने गरेको कार्यालयका साथीहरुबाट थाहा पाएको थिएँ । अब आफ्नो पालो थियो, जाउँ कि नजाउँ ? द्विविधामा परें । 
‘थला परिन्छ होला । जबर्जस्ती गरेर चैं नजानू नी’, श्रीमतीजीको अनुरागपूर्ण सल्लाह आयो । 

जिल्लामा जोसँग भेट हुँदा पनि ‘कहिले हिँड्ने सर ?’ भन्न थालेका थिए । म नजाने कुरा कसैले सोचेकै बुझिदैनथ्यो । बिचार गरें– म नजाँदैमा हुन त केही हुँदैन । आफुले नसकेको खण्डमा बिकल्प पक्कै  हुनुपर्छ । 

अर्को मनले भन्यो, म नजाउँला । जिल्लामा कुनै प्राकृतिक विपत्ति वा अन्य ठूलो दुर्घटना भयो भने ‘प्रजिअले परम्परा तोडेकाले माता रिसाइन्’ भन्ने आरोप लाग्ला मलाई । सम्झे; डाक्टरले हिँड्नै नहुने त भनेका छैनन् नी । निहुरिन पो हुन्न भनेको त । जाने संकल्प गरें र तयारीमा जुटें । 
०००
समुद्र सतहबाट करिब ४२१५ मिटर उचाईमा रहेको प्रसिद्ध बढिमालिका माताको मन्दिर बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्छ । गंगा दशहरा र जनैपूर्णिमा गरी बर्षको दुईपटक यहाँ बिशेष पूजा हुन्छ । 

बढीमालिकामा अधिकांश समय हिउँ पर्ने भएकाले माताको मुख्य मूर्ति त्रिवेणी नगरपालिका– ९ पैमास्थित मालिका मन्दिरमा राखेर नित्यपूजा गरिँदोरहेछ । जनैपूर्णिमामा भने मूर्ति बढिमालिकामै लैजाने प्रचलन छ । दुई पटकको पूजामध्ये गंगादशहरा अर्थात् जेष्ठ शुक्ल दशमीमा नेपाली सेनाले पूजा आराधना गर्ने चलन छ, जुन पूजामा सर्वसाधारण भेला हुने परम्परा छैन । 

जनै पूर्णिमाको अघिल्लो दिनको पूजामा चाहिँ देशका बिभिन्न भाग र भारतबाटसमेत तिर्थालु जान्छन् । यो समयमा डोटी, जुम्ला र बाजुराबाट सरकारी टोली जानुपर्ने प्रचलन छ । डोटी जिल्ला प्रशासन कार्यालयबाट जाने टोलीले गोरखनाथको मन्दिरबाट तथा जुम्ला जिल्ला प्रशासन कार्यालयको टोलीले चन्दननाथको मन्दिरबाट बिशेष पूजा सामग्री लिएर जानुपर्ने रहेछ । बाजुरा जिल्ला प्रशासन कार्यालयबाट बिशेष  केही लिएर जानु पर्दैन । तैपनि बढिमालिकामा हुने पूजाको अघिल्लो दिन कालिकोट र बाजुराको सीमानामा पर्ने त्रिवेणीधाममा हुने पूजा तथा बढिमालिकामा हुने पूजामा समेत बिशेष भूमिका निर्वाह गर्नुपर्ने रहेछ ।

यसपालि जनैपूर्णिमा ६ भदौमा थियो । हामी २ भदौमै हिँड्ने तय भयो । हुन त त्यहाँ विभिन्न मार्ग भएर जान सकिन्छ । हामी चाहीँ मार्तडीमा भएकाले उक्त दिन हिँड्नु परेको हो । सुरक्षा निकायको बैठकमा छलफल हुँदा म र  जिल्ला प्रहरी प्रमुख (डिएसपि) मदनजीत महरा जाने निश्चित भयो । सुरक्षा प्रवन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली साथमा ।

विविसी नेपाली सेवाका पत्रकार विनिता दाहालले सम्पर्क गरेर आफू पनि हामीसँगै जाने इच्छा जाहेर गरिन् । यसो बिचार गरें बिबिसीको पत्रकारले बढिमालिकाको बारेमा मात्र हैन, समग्र जिल्लाका समस्याबारे प्रचार प्रसार गर्न सक्छिन् ।
 
जिल्लामा पहिरोको कारण करिब २ महिनादेखि सडक यातायात अवरुद्ध भईरहेको थियो । टेलिफोनको नेटवर्क कमजोर थियो । विद्युतको राष्ट्रिय प्रसारण लाईन विस्तार भइरहेको थिएन । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको कमजोर ताकेताका कारण ठेकेदारबाट समयमै चामल ढुवानी भइरहेको थिएन र जिल्लामा मोटा चामलको समेत अभाव हुन लागेको थियो । 

बिबिसीका पत्रकारले यो सबै उल्लेख गरेर यात्रा संस्मरण प्रशारण गरिदिए जिल्लालाई लाभै हुन्थ्यो भन्ने लाग्यो । फेरि काठमाडौंकी महिला भन्दैमा हिँड्न नसक्ने भन्ने पनि त नहोला भन्ने समेत सम्झेर गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट आउन लागेको मित्र उद्वब रिजालको टिमसँग उनको सम्पर्क गराईदिएँ ।

२ भदौ बिहान सदरमुकामबाट हिँड्यौ हामी । म र डिएसपी साबको टोली (७ जना) लगभग सबैभन्दा पछाडि प्रस्थान ग¥यो । यात्रा आरम्भ गर्ने बित्तिकै घरैपिच्छे आँगनमा थालमा भगवानका फोटा राखेर नानीहरु उभिएका थिए । पैसा चढाउनुपर्दो रहेछ । 

पूर्व जानकारी र तयारी थिएन । डिएसपी साब र मैले पालैपालो एउटामा एक रुपैयाँको ढ्याक र अर्कोमा पाँच रुपैयाँ  (कतैकतै दश पनि) को नोट राख्दै गयौं । पाँच रुपैयाँ राखेको ठाउँमा नानीहरुको मुहारमा चमक देखिन्थ्यो । एक रुपैयाँ राख्दा अँध्यारो । अनि मैले त्यो बालापान सम्झें । केटाकेटी हुँदा ‘देउसी खेल्न आएको हामी’ भन्दै सारा गाउँ डुलेको    सम्झें । थोरै दक्षिणा दिनेलाई आशिषसम्म नदिई हिँडेको सम्झें । 

‘पहिलै थाहा भएको भए हजार-पन्ध्र सय जती पाँच-पाँचका नोट साटेर बोक्नुहुन्थ्यो’, मैले भनें, ‘हरेकलाई कम्तिमा छ रुपैयाँ सुनिश्चित गरिदिँदै ।’
डिएसपी साबले मुन्टो हल्लाएर हाँ मा हाँ मिलाए ।  

पहिलो दिनको यात्रामा निकै कठिन उकालो रहेछ। करिब २१ किलोमिटर हिँडेपछि बास बस्ने ठाउँ ‘सोता’ पुगियो । हामी अन्य सबै यात्रुभन्दा चाँडो त्यहाँ पुग्यौं । यहाँ दुइ÷तीन वटा गोठघर रहेछन् । हिउँदमा भैंसी बाख्रा गोठ लिएर आउने गाउँलेहरुले आफूलाई बस्न बनाएका घरहरु । पूर्वी पहाडमा लेकमा भैंसीपालेको थाहा थिएन मलाई । बाजुरामा लेकमा भैंसी नै पालिँदो रहेछ ।

बलबहादुर भाइ (हाम्रो कार्यालयको स्टाफ) अघिल्लो दिन नै सोता आईसकेका थिए, बासबस्ने र खीर खुवाउने व्यवस्था गर्न । बिचराले पोहोर परारजस्तै १५÷१६ जना होलान् भन्ने ठानेका रहेछन् । हामी सबै गरेर ४० भन्दा बढि थियौं । उपलब्ध जति दुध थियो सबैको खीर पाक्यो । अघाउँजी खाए १५-१६ लाई पनि पुग्नेवाला थिएन । मैले प्रतिब्यक्ति एक पन्यूको नियम बनाईदिएँ । धेरैलाई पुग्यो । नपुग्नेले र नअघाउनेले त्यहाँ पाकेको गहुँको रोटी पनि खाए । कतिपयले आफैंसँग भएको खानेकुरा ।

बल भाइले हामीलाई त्यो गोठघरमै बस्ने प्रवन्ध मिलाएका रहेछन् । पानी परिरहेको थियो । रात परिसकेको थियो । यात्रु आउने क्रम जारी थियो । गोठघरमा आउनेले एकछिन भए पनि आगो ताप्न पाउँथे । हामी त्यहाँ नसुते अरु धेरैले सुत्न पाउने देखेर हामी टेण्टमा नै बस्ने भयौं । राती त झन् ठूलो पानी दर्कियो । धेरै साथीका टेण्ट चुहियो । बिहान अँध्यारै नउठे शौच गर्न सम्भव हुँदैनथ्यो । बिहानको झिसमिसे नहुँदै सबैको शौचकर्म सिद्धियो । सबै गरेर करिब २०० जति त्यो रात त्यहाँ बस्यौं होला । 
०००
भोलिपल्ट फेरि उकालो यात्रा शुरु भयो । केही घण्टा हिँडेपछि भेटिन थाले विशाल पाटनहरु । भेडाका बथानहरु । दौडिरहेका घोडाहरु । रङ्गीबिरङ्गी फूलहरु । यतिञ्जेलको थकान हरायो, सबैका शरीरबाट । यात्रा गर्न पाएकोमा धन्य ठान्दै थाले, विभिन्न पोजमा फोटाहरु खिच्न । अघिल्लो साँझ सोता पुग्नै लाग्दा भेटिएको सानो पाटनलाई ‘यही रहेछ स्वर्ग’ भन्दै फोटा खिचेर रात पार्नेहरु चुकचुकाउँदै भन्न थाले, ‘हिजो व्यर्थमा खिचिएछ ।’
 
अघिल्लो दिन गन्तब्यमा पुग्न हतारिएर फोटो खिच्न नपाउँदा के के न गुगेको ठानेर निराश भएकाहरु मख्ख देखिन्थे । दोस्रो दिनको यात्रामा पनि हामी सबैभन्दा अगाडि नै थियौं । कारण हामी अरुभन्दा चाँडो हिँड्दा रहेछौं । हामी दुईजना जिल्लाकै प्रमुख व्यक्ति भएकाले बास बस्ने ठाउँमा समयमै पुगेर बस्तुस्थिति जानकारी लिनुपर्ने दायित्वले पनि होला   शायद ।

सोताबाट १७ किलोमिटर हिँडेपछि त्रिवेणीधाम पुगियो । १२ नबज्दै पुग्यो हाम्रो टोली । पुग्नासाथ दर्केको पानीले रसिलो स्वागत ग¥यो । टेण्ट गाड्ने स्थान पर्याप्त थियो । एकछिन घुम्यौ । खानलाई सोतामाजस्तो दुःख रहेनछ । केही संख्यामा अस्थायी होटल थिए । पकाउने मान्छेको सरसफाइ र भाँडाकुँडा धुने स्थान नहेरी खाने सल्लाह गरियो । अनि गहुँको रोटी र मटरचनाको झोल मजाले खाएर बेलैमा टेण्टमा छिरियो ।
  
तेस्रो दिन बिहान पनि खुला आकाशमुनि शौच गर्नुपर्ने थियो । त्यसै गरियो पनि । बिहान पानी परिरहेको थियो । त्रिवेणीमा गएर नुहाइधुवाई गरेपछि पूजाको तयारी शुरु भयो । यहाँ डोटी र जुम्लाका पुजारीलाई मानिसले काँधमा बोकेर त्रिवेणीमा ल्याएपछि पूजा हुँदोरहेछ । 

जुम्लाबाट ल्याएको चन्दननाथको छत्र कालिकोटेहरुले खोसेर लैजाने र त्यो पूजाका लागि फिर्ता ल्याउने क्रममा कुटाकुटसमेत हुने गरेको प्रचलन थाहा पाइयो । सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएकाले खासै ठूलो मारपीट हुन पाएन ।
 
त्रिवेणी बाजुरा र कालिकोटको सिमानामा भएपनि कालिकोटको मानवबस्तीबाट नजिक भएकाले यहाँ कालिकोटेहरुको संख्या उल्लेख्य हुँदोरहेछ । यहाँ प्राय होटल पनि कालिकोटेकै थिए । 

पूजा सकेपछि बढिमालिकातर्फ लागियो । यो यात्रामा पनि बाटामा रमणीय पाटन रहेछन् । ठाउँठाउँमा असाध्यै अप्ठेरो बाटो । अलिकति चिप्लियो भने चिनोबानो नभेटिने भिर । केहि ठाउँमा अप्ठ्यारो भए पनि यात्रा छोटो रहेछ । करिब ११ किलोमिटर मात्र हिँडेपछि पुगियो बढिमालिका माताको मन्दिर । 

मनको धोको पुरा भो ! 

यसपालि अनिवार्य गर्नुपर्ने नित्य तथा बिशेष पूजाबाहेक अरुपूजा तथा भिडभाड नहुने सूचना प्रशारण गरिएको थियो । तैपनि बिभिन्न मार्ग भएर आउने यात्रुको भीड लागिसकेको रहेछ । मुश्किलले टेण्ट गाड्यौं । दर्शनार्थी साँझ पनि माताको दर्शन गर्दा रहेछन् । लामा लाइन थिए । हामीले पनि दर्शन ग¥यौं । र भोलिको कार्यक्रमबारे पुजारीजीहरुसँगबाट जानकारी लियौं । 

५ भदौ । बिहान उठेर खुला आकाश मुनिको शौचकर्म सिध्यायौं र तल बासुधारा झरेर पञ्चस्नान ग¥यौं  । बिहानको राति १ बजेबाट नै मन्दिरमा दर्शनार्थीको लाईन लाग्न थालेको   थियो । अघिल्लो दिन दर्शन नगरेका प्रायः सबै र केहि दोहो¥याएर दर्शन इच्छा राख्नेहरु लाइनमा थिए । करिब ८ बजेतिर जुम्ला, डोटी र बाजुराका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले पूजा आराधना गर्नुपर्दो रहेछ । यसलाई सरकारी पूजा भनिँदोरहेछ । 

अघिल्लो साँझ दर्शन गरेका धेरैजसो भोलीपल्ट बिहानै फर्किसकेका थिए । ५ भदौमा दर्शन गर्नेहरु पनि अधिकांश फर्किरहेका थिए । केही भने तिलक लिन बसेका थिए । नौ जना ब्राम्हण र सरकारी टोलीसमेत संलग्न भई होम गरिएपछि तयार हुने तिलक लिन दर्शनार्थीको लुछाचुँडी हुँदोरहेछ । यसपटक त्यसलाई व्यवस्थित गर्ने सल्लाह गरिएको भए पनि पुरै गर्न सकिएन । अलिअलि खोसाखोस भईहाल्यो । होम तथा पूजा सकेपछि पुजारी वर्गसँग बिदाबारी भएर सदरमुकाम फर्कने क्रममा हामी नाट्येश्वरीतर्फ लाग्यौं । 
०००
बढिमालिका पूजाको भोलिपल्ट अर्थात् जनैपूणिमाको दिन त्रिवेणी नगरपालिकाकै नाट्येश्वरीस्थित कालीको मन्दिरमा बली दिनु पर्दोरहेछ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट पहिलो बली दिईएपछि धेरैले बली दिँदा रहेछन् । बढिमालिकाबाट करिब साढे बाइस किलोमिटर अधिकांश अप्ठ्यारो बाटो (प्रायः ओरालो कतैकतै बिकट उकालो) हिँडेपछि साँझ नाट्येश्वरी पुगियो । 

हाम्रो बसाइको व्यवस्था सामुदायिक बनले बनाएको भवनमा गरिएको रहेछ । प्रहरी भाइहरुले पकाएको खाना खाएर सुतियो । खुशीको खबर त्यो दिन हिँडेपछि पहिलोपटक भात खान पाइएको थियो । राति बाहिर जान परेमा टेण्टमा जस्तो निस्कन र भित्र आउन अप्ठ्यारो थिएन । त्यहाँ सार्वजनिक शौचालय र नुहाउने धारा पनि भएकाले शौच तथा स्नानलाई धेरै सजिलो भयो । 

बिहान नाट्येश्वरीमा पूजाका साथै होमको शुभारम्भ पनि गरियो । केही समयपछि बली प्रारम्भ भयो । मेलामा स्थानीयको भीडभाड भने निकै थियो । हामी भने खाना खाएर बाटो लाग्यौं । 

केही हिँडेपछि गाडी चढेर खोलासम्म जान पाइने रहेछ । खोलो तरेपछि साँफे मार्तडी सडक भेटिने र त्यहाँबाट आ–आफ्ना गन्तब्यतिर लाग्न पाइने भएकाले सबै उत्साहित भयौं । गाडी भेटिए पनि खोलासम्म गाडिमा जान र हिँडेर जान समय उति नै लाग्ने बुझियो । फेरि बाटो पनि धेरै अप्ठेयारो भएकाले साथीहरुले गाडि चढ्ने रहर गर्नु भएन । 
 
मेरो भने ढाड तथा खुट्टा अचाक्ली दुखिरहेको थियो । मैले चाहीँ गाडी भेटिने ठाउँपुगेपछि नहिँड्ने निधो गरें । गाडिमा भीड थियो । एकजना मित्रले खोलापारि चौकिमा छाडिदिने गरी मोटरसाइकल दिए । यात्राक्रममा नै भेटिएका कञ्चनपुर खेलकुद बिकास समितिका अध्यक्ष ओम बस्नेतले मोटरसाइकल चलाए । 

बाटो गतिलो नभएकाले ठाउँठाउँमा ओर्लेर हिँड्दै खोलापारिसम्म पुग्दा पैदल हिँडेका साथीहरु त अघि नै पुगिसकेका रहेछन् । त्यसपछि मार्तडी जानेजति अम्कोटको पहिरोमा हिँड्यांै । पहिरो पारि गाडी आइरहेको रहेछ । चढेर एकघण्टामा पुग्यौं मार्तडी । यसरी ५ दिनमा सम्पन्न भयो बढिमालिकाको रोमाञ्चक यात्रा ।

धार्मिक र पर्यटकीय दृष्टिले सुदूरपश्चिमकै एक प्रसिद्ध स्थल भएर पनि पूर्वाधारका दृष्टिले धेरै नै ओझेलमा परेको रहेछ यो क्षेत्र । पर्यटन बोर्डमार्फत होला शायद केही ठाउँमा ढुंगा छापिएको भए पनि पर्याप्त छैन । अप्ठ्यारा बाटामा रेलीङ, त्रिवेणी र बढिमालिकामा केही शौचालयहरु, बढिमालिकामा पानी तथा धारा र बिजुली प्रवन्ध गर्नैपर्ने देखियो । त्रिवेणी र बढिमालिकामा सुरक्षा प्रवन्ध बढाउन जरुरी देखें । बर्षमा दुई दिन मात्र नभएर जेठदेखि भदौसम्म यात्रा सम्भव हुने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने देखिन्छ ।

जे होस, बढिमालिका हिन्दू धर्मावलम्बीका लागि त एकपटक पुग्नैपर्ने तीर्थस्थल हो नै, अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि यो यात्रा अत्यन्तै रोमाञ्चक हुनसक्छ । एकपटक नपुग्नेले यो रोमाञ्चक अनुभव गुमाउँछ, पुग्नेले यात्रा सम्झेर बाचुञ्जेल आनन्द लिइरहन्छ । 

जय बढिमालिका ! 

(लेखक गोपाल अधिकारी हाल बाजुराका प्रमुख जिल्ला अधिकारी हुन् ।) 
 

ताजा खबर