खोला किनार अतिक्रमणकै कारण काठमाडौंमा बाढी र डुबान

२०७८ भदौ २२ मंगलबार १०:३६:०० मा प्रकाशित

डा. युवराज संग्रौला ।

बिगत ३० बर्षमा भौतिक विकास भ्रष्टाचारको पर्याय बन्न गयो। काठमाडौंका विभिन्न नदी किनाराका जमिन जग्गा व्यापारीले मालपोतबाट धनीपुर्जा निकाल्दै बिक्री गरे । म ३३ सालमा हाँडीगाउँ बस्थें । बर्खामा पुरै फाँट ढाकेर बाढी आउँथ्यो। हिउँदमा हामी यही खोलामा घाम ताप्दै नुहाउने गथ्र्यौ । लुगा धुने यही खोलामा हो । तर यो ४५ बर्षमा खोलाका किनार सबै अतिक्रमण भए ।

१. राजनीतिक दलहरुले भ्रष्टाचारीको संरक्षण नगरेको भए आज काठमाडौंको अवस्था यो हुने थिएन । कथित योजनाविद् जो पार्टीका झोलेहरु भए, उनिहरुले देश बनाउने होइन लुट्ने मात्र क्षमता राख्दथे। परिणाम यो भयो आज । एक जना विकास अर्थविद जसलाई राज्यले चिन्दैन, उनी चिनाउन पनि चाहँदैन, उनले केही संकेताङ्क प्रयोग गर्दै मलाई बताए, २०५० साल पछाडि मात्र ३० खर्ब भन्दाबढी रकमको भ्रष्टाचार भयो, र करीब २० खर्बको भ्रस्टाचारको रकम त दोस्रो पुस्ताका नेताहरुकोमा गयो । उनी भन्छन्, तुलनात्मक रुपमा पहिलो पुस्ताका नेताहरू कम भ्रस्टाचारी थिए। उनका थुप्रै तर्कहरुबाट म सहमत भएँ ।

२. राजस्वको लगभग २० खर्ब रकम भौतिक निर्माणका योजनामा भ्रष्टाचार भयो। त्यसमध्ये अधाभन्दा बढी त काठमाडौंका सडक, ढल र सरकारी भवनमा भयो। ती खर्च भएका धेरै जसो निर्माणहरु आज छैनन् । उनी भन्छन्, स्थानीय नेता, कर्मचारी र लोकल गुन्डाहरुले त्यो रकम खाए ।

३. बिगत तीन वर्षमा मात्र स्थानीय तहमा डोजर चलाएर डाँडा काट्ने काममा मात्र १ खर्बको भ्रस्टाचार भयो । यस तीन वर्षमा जामिन काटेर प्लटिङ्ग गर्ने नाममा अर्ब भन्दा बढीको त तेल आयात थपियो । एकातिर वातावरण ध्वस्त भयो, अर्कोतिर नेपाली धन विदेशियो। यो प्लटिङ्गमा सभासद, सांसद र स्थानीय नेता, प्रहरी र प्रशासनका मानिसको संलग्नता रहेछ ।

४. हामी होटलको एउटा कोठामा थियौं । अर्को कोठामा चारपाँच जना थिए । काठको बार थियो। एमाले, कांग्रेस, माओवादी र राप्रपाका स्थानीय नेता रहेछन् । रातभरि सुतेनन् । बिहान होटल चलाउने भाइले भन्यो । सात हजारको रक्सी र मासु खाएछन् । उनीहरु राति त्यहाँ गाविसको सचिवसहित बिल मिलाउन बसेका रहेछन् । मिलेर खाँदा रहेछन् ।

५. सरकारको अवस्था यस्तो छ, मालपोतको अवस्था यस्तै छ, जंगलको अवस्था यस्तै छ, न्यायपालिकाको अवस्था यस्तै छ, विश्वविद्यालयको अवस्था यस्तै छ, निर्माणको अवस्था यस्तै छ। राजनीतिक दल र कर्मचारीतन्त्रका करीब १० लाख मानिस आज खर्बपति भएका छन् । म मास्टर हुँ म पढाएर तलब लिन्छु १५ प्रतिशत कर काटिन्छ, एउटा कपी काटेको पन्ध्र रुपियाँ दिन्छ त्यसको पनि १५ प्रतिशत कर लिन्छ, होटलमा भात खानुपर्छ बाँच्नका लागि, कहिलेकाहीँ, त्यसमा पनि १३ प्रतिशत कर लिन्छ, यस्तै यस्तै । नागरिक सधैं कर तिर्छन्, शासक भ्रष्टाचार गर्छ। ठूलठूला नेता भाषण गर्छन् । झुठो कुरा गर्छन् । लि क्वान युसँग तुलना गर्छन् । तर शरीर नाङ्गो भएको देख्दैनन् । यो समाजमा मानिस दृष्टिविहीन भएका छन् । यि मानिस काठमाडौंमा बाढी पसेको देख्छ्न तर पैसा खाएर, भ्रममा परेर भ्रष्टाचारीलाई भोट हालेर पाप गरेको बिर्सन्छन् । कोपेनहेगनमा चार्ल्स एन्डरसनको शालिक छ ।

त्यहाँ एउटा सर्बाङ्ग नाङ्गो मान्छेको ठूलो शालिक पनि छ । डेनिसहरु भन्छन्, “यो त्यही नाङ्गो राजाको शालिक हो । डेनिसहरु शासकले मानिसलाई शोषण गर्छन् भन्ने सम्झिरहन चाहन्छन् । “इतिहास क्रुर हुन्छ । चीनमा साङ्ग वंशका प्रधानमन्त्रीको एउटा शालिक छ जसलाई सबै बटुवाले थुक्नु पर्छ । यसले यु फेइ भन्ने एकजना देशभक्त जर्नेललाई षड्यन्त्र गेरेर मार्यो । अर्को देशको राजाको पैसा खाएर । उसले आफनो शालिक बनायो जसलाई अहिले मानिसले थुक्छन् । यु फेइको शालिकमा एकछिन उभिएर शीर झुकाउँछन् । नेताजीहरु तपाईं कस्तो इतिहास बनाउन चाहनुहुन्छ ? सुध्रिनु होस् । ठूलो काम गर्न नसके पनि आफ्नो बिचारमा गद्दारी नगर्नुहोस्, विदेशीको सेवा नगर्नुहोस्, सत्ता होइन जनताको विश्वास गर्नुहोस् । यो नठान्नुहोस् तपाईलाई हटाउने मानिस छैनन् । हटाउने मानिस छन् ।

ताजा खबर