आफैंलाई कथा जस्तै लाग्ने गुलशनको क्रिकेट यात्रा 

२०७८ भदौ १९ शनिबार १३:४४:०० मा प्रकाशित

पछिल्लो समय नेपाली क्रिकेटमा एउटा नाम हट केक बनिरहेको छ । समर्थकहरु उनका विषयमा कुरा गर्न मन पराउँछन् । उनको नाम हो गुलशन झा ।  ६ महिना अघिसम्म नेपाली क्रिकेटमा उनी अपरिचित थिए । तर गुलशन  एकदमै छोटो समयमा राष्ट्रिय टिम सम्मको यात्रा तय गर्न सफल भए । नेपाली टिम अहिले ओमानमा छ । आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भदौ अन्तिममा घरेलु टोली नेपाल  र अमेरिका सम्मिलत त्रिकोणात्मक सिरिज खेल्नेछ ।  त्यसअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने तालिका छ । ओमान टुरमा रहेका १७ खेलाडी मध्ये एक हुन् गुलशन । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका तीव्र गतिका वलर गुलशन स्वयमलाई पनि  ६ महिनाको अवधिमा प्राप्त सफलता विश्वास गर्न मुश्किल परिरहेको छ ।  

भदौ १५ गते शनिबार । यही दिन हो  सर्लाहीमा जन्मिएका गुलशनको राष्ट्रिय टिमबाट खेल्ने सपनाले उडान भरेको  । ओमान टुरको बन्द प्रशिक्षणमा रहेका गुलशन कीर्तिपुरस्थित टियु मैदानमा अभ्यास गरिरहेका थिए । उनलाइ  अन्तिम टोलीमा पर्छु भन्नेनै लागेको थिएन । उनले  बन्द प्रशिक्षणलाई आफ्नो क्षमता तिखार्ने अवसरको रुपमा लिएका थिए । उनलाई यसअघिसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षण कस्तो हुन्छ थाहा नै थिएन ।

उनको ध्यान माथिल्लो स्तरमा पुग्न के के गर्नुपर्छ भन्नेमा मात्र थियो । पहिलो पटक सिनियर टिमको बन्द प्रशिक्षणमा  बोलाएकोमानै दंग थिए गुलशन । अभ्यास सकिएपछि गुलशनले फोन चेक गरे ।  ओमान टुरका लागि नेपाली टिमको अन्तिम टोली घोषणाको समाचारले उनको ध्यान तान्यो । खेलाडीको सूचीमा गुलशनको नाम पनि समावेश थियो ।

राष्ट्रिय टोलीमा परे भन्ने थाहा पाएपछिको पहिलो अनुभव कस्तो थियो त भन्ने हाम्रो प्रश्नमा उनले भने,‘सुरुमा त होइन की जस्तो लाग्यो , दोहोर्याएर पढे हो रहेछ । यसो भनिरहँदा गुलशनको आवाजमा खुसी, रोमान्चकता र उत्सुकताको समिश्रण भरिएको थियो । उनले सवै सिनियर दाइहरुलाई म पनि टिममा छु भनेर सुनाएका थिए । बन्द प्रशिक्षणमा रहँदा गुलशनका रुप पार्टनर अर्का तीव्र गतिका वलर अभिनाष बोहरा थिए । उनले अभिनाषलाइ म पनि परेछु दाइ भनेर सुनाए । अभिनाषले गुलशनलाई भने बधाइ छ भाइ म खुसी छु तिम्रो लागि ।’  टिमका अरु खेलाडीलाई पनि गुलशनले आफू टिममा परेँ भनेर सुनाए । 


गुलशनले अविश्वसनिय रुपमा राष्ट्रिय टिममा स्थान बनाएका हुन् । सामान्यतया खेलाडी उमेर समूह हुँदै  सिनियर टिममा आउँछन् । गुलशन सिधै टिममा आए । राष्ट्रिय प्रतियोगिता पनि उनले जम्मा एउटा खेले । गत फागुनमा भएको मेयर्स कपमा गुलशनले नेपाल पुलिस क्लबबाट खेलेका थिए ।

उनले मेयर्स कपमा पनि जम्मा दुई खेल खेल्ने मौका पाएका थिए । रासिद खानलाई चोट लागेपछि पुलिस टिमले गुलशनलाई काठमाडौं मेयर्स ११ विरुद्ध गुलशनलाई मौका दियो । पहिलो खेलमानै गुलशन सवैको ध्यान तान्न सफल भए । ६ फिट १ इन्च उचाइ भएका गुलशनको वलिङले सनसनी मच्चायो   । गुलशन सरप्राइज बलरका रुपमा उदाए । फाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि जित्दा गुलशनले शानदार वलिङ गर्दै चार विकेट लिएका थिए । उनी खेलको म्यान अफ द म्याच समेत बने । 

प्रदेश टिममा नअटाएका गुलशन 
गुलशन मेयर्स कप अघि  काठमाडौंमानै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता भएको थियो । त्यसका लागि प्रदेश दुई टिमले टिम तयार गर्यो । तर गुलशन टोलीमा अटाएनन् । उनी प्रदेश दुईको  प्रधानमन्त्री कम खेल्ने टिममा रिभर्ज खेलाडीका रुपमा रहे । यही बीचमा उनी काठमाडौं आए नेपाल पुलिस क्लबमा ट्रायल दिन । सर्लाही क्रिकेट संघका सचिव मात्रव कर्माचार्यले गुलशनलाई ट्रायलका लागि काठमाडौं ल्याएका थिए । उनले नै पहिलो पटक गुलशनलाई प्रदेशको टिमममा आउन प्रेरित गरेका थिए  ।  गुलशनको खेल हेरेपछि कर्माचार्यले पुलिसमा ट्रायल दिन काठमाडौं ल्याएका थिए । पुलिस टिमका प्रशिक्षक मनोज कटुवालले गुलशनको वलिङ हेरे ।  आवश्यक परे बोलाउँछु भने । प्रधानमन्त्री कपमा खराब प्रदर्शन गरेको पुलिस मेयर्स कपमा वलियो भएर मैदान उत्रन चाहन्थ्यो । त्यही क्रममा गुलशनको प्रवेश भयो पुलिस टिममा । पहिलो पटक नम्बर भएको जर्सी लगाएको पुलिस बाटै हो । त्यसपछिको कथा त सवै सामु छर्लङ्ग नै छ । 

गुलशनको क्रिकेट यात्रा  
गुलशनले १२–१३ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरु गरेका हुन् । उनी प्रष्ट थिए क्रिकेट प्रतिको आफ्नो प्रेम मात्र आकर्षण होइन ।  कक्षा ८ पास गरेपछि गुलशनले बुबालाई क्रिकेट खेलप्रतिको रुची सुनाए । भारतमा खेल्न जाने इच्छा व्यक्त गरे । उनी भाग्यमानी भए की परिवार उनको सपनाको बाधक कहिल्यैनै बनेनन् । अभ्यासका  लागि भारतको झारंखण्ड राची पुगे । त्यहाँ रन्जी खेल्ने प्रशिक्षकबाट प्रशिक्षण गर्ने मौका पाए । उनी नेपाल आएको एक वर्ष जति मात्र भयो । नेपालको खेल अहिले अलि हेरेका थिए   । पारस खड्का र सोमपाल कामीलाई हेर्दे उनीहरु जस्तै बन्ने अठोट गरेका गुलशन आफ्नो हिसावले तयारी गरिरहेका थिए । उनी पाएको मौकामा चुकेनन् । सवै कुरा कथा जस्तै लाग्छ उनलाई । गुलशन भन्छ– सायदै यति छिटो कसैले राष्ट्रिय टिममा स्थान बनाउँछ । म आफूलाई एकदमै भाग्यमानी ठान्छु । एकदम धेरै खुसी छु । 

जिम्मेवारी बोध भएको छ  
गुलशन नेपाली क्रिकेटको  भविष्य हुन् । नेपाली क्रिकेटमा तीव्र गतिको वलरको अभाव छ । त्यसमा गुलशनको आगमनले सवै खुसी छन् । उनी आफ्नो भूमिका र जिम्मेवारी प्रति सचेत छन् । मात्तिएका छैनन् गुलशन । 

गुल्शन भन्छन्, ‘सवै जनाको आफु प्रति देखिएको अपेक्षालाइ उनलाई जिम्मेवार महशुस गराउँछ । ओमानमा डेब्यु गर्ने मौका पाए आफूले सक्ने शत प्रतिशत इफोर्ट लगाउछु।’
। मेरो वलिङमा सुधार गर्नुपर्ने धेरै ठाउँ छ । बन्द प्रशिक्षणमा पनि ब्याट्सम्यानहरुले मेरो वलमा धेरै छक्का हिर्काए । यो स्तरमा प्रतिस्पर्धा तीव्र छ । भोलि मेरो स्थान अरु कसैले लिन सक्छ । त्यसैले टिममा ठाउँ बनाइ राख्नु पर्ने चुनौती छ । म सधैं नेपालको जर्सी लगाएर खेल्न चाहन्छु । रातो र निलो जर्सीबाट सुरु भएको मेरो यात्रा सेतो जर्सी ( टेस्ट क्रिकेट ) मा टुंग्याउने सपना छ  । 
जर्सी नम्बर १५ आमाको नाममा 
गुलशनको जर्सी नम्बर १५ हो । सामान्यतया खेलाडीले जर्सी नम्बर छनोट गर्न पाउँछन् । गुलशनले १५ नम्बर रोजे । पुलिस टिममा पनि उनले १५ नम्बरनै लगाएका थिए । राष्ट्रिय टिमबाट पनि उनले १५ नम्बरनै पाए । १५ नम्बरको लिनुको पछाडि एउटा सुन्दर कारण पनि छ । १५ नम्बर गुलशनकी आमाको जन्म मिति हो । उनकी आमा  भदौ १५ गते जन्मिएकी हुन्  । गुलशनका लागि बाबा आमा सवैभन्दा प्रिय छन् । 

अधुरो सपना 
हजारौ युवा जस्तै गुलशन पनि राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी पारस खड्काका फ्यान हुन् ।  पारस, गुलशनका आइडियल खेलाडी हुन् । उनैलाई हेरेर गुलशनलाई क्रिकेट खेल्ने प्रेरणा मिलेको हो । तर पारसको टिम मेट भएर खेल्ने गुलशनको सपना भने अधुरै रह्यो । संयोग पनि कस्तो नेपाल क्रिकेट संघ क्यानले ओमान भ्रमणका लागि बन्द प्रशिक्षण सुरु गरेकै दिन  (अगस्ट ३) पारसले अन्तर्राष्ट्रिय क्रिकेट टिमबाट सन्यासको घोषणा गरे । गुलशनलाई पारसको सन्यासको खबरले एकदमै दुःखी बनायो ।  गुलशनलाई पारससँग खेल्न नपाउँदाको पीडा जीवनभर खड्किरहनेछन् । 
गुलशन भन्छन्, ‘पारसले गर्व गर्न लायक खेलाडी बन्नेछु  ।’ 
 

ताजा खबर