तेक्वान्दोकी पलेशा चीनकी युजी लिसँग पराजित

२०७८ भदौ १८ शुक्रबार २०:१६:०० मा प्रकाशित

काठमाडौं ।  पलेशा गोवर्धन टोकियो पारा ओलम्पिकमा  ऐतिहासिक कास्य पदक जित्नबाट चुकेकी छिन् । शुक्रबार  रेपेचेज तर्फको फाइनलमा प्रतिस्पर्धामा तेक्वान्दोकी पलेशा चीनकी युजी लिसँग ९–१२  को झिनो अन्तरमा पराजित भइन् । पदक नजिते पनि पलेशा ओलम्पिक इतिहासमा कुनैपनि खेल जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।

चीनकी लि माथि जित हात पारेको भए पलेशाले ओलम्पिकमा नेपालका लागि पदक जित्ने पहिलो नेपाली खेलाडीको इतिहास रच्ने थिइन् । १८ वर्षिया पलेशाले पहिलो राउन्डमा ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लि खेलमा फर्किइन्  । यसमा  लि ले  पलेसालाई ५–० ले हराएपछि समग्रमा ७–४ को अग्रता बनाइन् । तेस्रो राउन्डमा ५–५ को बराबरी भएपनि पलेशालाई जितका लागि पर्याप्त बनेन । एक समय खेल ९–९ अंकको स्थितिमा पुगेको थियो ।

तर  पलेशाले लि लाई ९–१२ अंकले नतिजा सुम्पिइन् । के ४४ विधा अन्तर्गत पलेशाले ५८ केजी मुनिको तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग हारेकी थिइन्  । उनले बेथसँग २१– ८ ले हारेपछि स्वर्ण पदकको सम्भावना समाप्त भएको थियो ।  त्यसपछि रेपेचेजमा पलेशाले कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी हुन् ।   अमेरिकाकी ब्रायना सालिनारोलाई १०– शुन्यले पराजित गर्दै पलेशा सेमीफाइनल प्रवेश पुगेकी थिइन् ।

यो नेपाली खेलाडीले ओलम्पिकमा प्राप्त गरेको पहिलो जित हो ।  सिरियाकी मिसेभलाई २३–१५ ले  पराजित गर्द पलेशा फाइनल पुगेपछि पदकको आश बढेको थियो । तर उनी पदक नजिक पुगेर पनि सफल हुन सकिनन् । पलेशाको खेलसँगै टोकियो पारा ओलम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ ।

पलेशा टोकियो पारा ओलम्पिकमा सहभागी एक मात्र नेपाली खेलाडी हुन् । सन् २०१६ देखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशाले यसअघि ६ अन्तर्राष्ट्रिय प्रयिोगितामा भाग लिएकी थिइन् । उनले २०१८ मा भियतनामा भएको एशियन पारा तेक्वान्दोमा कास्य जितेकी थिइन् ।  नेपालले २००४ को एथेन्स ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको हो । तेक्वान्दो टोकियो पारा ओलम्पिकमा डेब्यु खेल हो । 
 

ताजा खबर