मुर्झाएको कांग्रेस ब्यूँझाउने अवसर 

२०७८ भदौ १८ शुक्रबार १३:१७:०० मा प्रकाशित

इतिहासकारले चर्चा गरेका छन्– जब लालबहादुर शास्त्री भारतको प्रधानमन्त्री पदमा नियुक्त भएर शपथ लिन गए उनले फाटेको धोती लाएका थिए । प्रधानमन्त्री नियुक्त भैरहेको यति ठूलो नेताले फाटेको धोती लाएर शपथ लिएपछि खुल्दुली नै मच्चियो । के हो त कारण ? सोधखोज भयो र पछि थाहा भयो उनीसँग जम्मा दुइ थान धोतीकुर्ता मात्र थिए । तिनैमध्ये एकजोर धोतीकुर्ता लाएर उनी शपथ लिन गएका थिए। 

प्रधानमन्त्री नियुक्त भएपछि शास्त्रीकी पत्नीले सल्लाह दिईन्– ‘अब त नयाँ धोती कुर्ता लगाउनुपर्छ ।’

शास्त्रीले धर्मपत्नीलाई सम्झाए– ‘भारतका करोडौं किसान यस्तै धोती कुर्ता लगाउँछन् त्यसैले मलाई नयाँ धोती कुर्ता लगाउने अधिकार छैन ।’

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस आफ्नो संगठनको नयाँ नेतृत्व चयन अभियानमा सहभागी भैरहेको छ । आज भदौ १८ देखि कांग्रेसले गाउँको तल्लो निकाय वडा समितिको निर्वाचनबाट नयाँ नेतृत्व चयनको प्रजातान्त्रिक प्रक्रिया प्रारम्भ गरेको छ । यसैगरी पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशसभा हुँदै केन्द्रीय कार्यसमिति तहसम्मका अंगहरुमा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने छ । कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भएपछि देशभर नै लोकतन्त्रको प्रत्यक्ष अभ्यास भैरहेको जनस्तरबाट पर्यवेक्षण हुने छ । 

लोकतन्त्रको यो खुला अभ्यासले नागरिक अधिकारको महत्व बढाउनमा ठूलो योगदान हुने छ । कांग्रेस संशोधित नयाँ बिधानको प्रबन्ध बमोजिम पार्टीका सबैतहको संरचनामा देशको जनसंख्याको बनोट अनुसारको समाबेसी प्रतिनिधित्व सुनिश्चित गर्ने पहिलो पार्टी बन्ने छ । निकै ढिलो भएपनि कांग्रेसले तल्लो तहबाटै लोकतन्त्रको प्रत्यक्ष अभ्यास गरेर देशभर नै जागरण ल्याउन सकारात्मक भूमिका खेलेको छ ।

स्थापनाकाल देखि नै नेपाली कांग्रेसले कठिन र सहज अवस्थामा पनि यो अभ्यासलाई व्यवहारमा उतार्न कुनै कसर छोडेको पाईंदैन । तर सँगसँगै यो पार्टीको शीर्ष नेतृत्वमा भने व्यक्तिवादी सोच र संस्कारले गहिरोसँग जरा गाढेको छ । यसमा भने रत्तिभर परिवर्तन आउन सकेको देखिँदैन । संस्थापक नेता वीपी कोइराला र कृष्णप्रसाद भट्टराई पछिका सभापतिले कांग्रेसलाई आन्तरिक लोकतन्त्रबाट वञ्चित गरेको गुनासो सुनिने गरेको छ । खासगरी पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा कांग्रेसलाई लोकतान्त्रिक अभ्यासबाट वञ्चित गर्नमा अग्रणी रहे । कोइरालाले पार्टीलाई एकल निर्णयको बन्दी बनाएको भनेर चर्को विरोधमा उत्रिने गरेका देउवाले उनलाई समेत उछिनेर उस्तै अलोकतान्त्रिक अभ्यास गरे । विधान मिचेर कार्यकाल लम्ब्याउनमा देउवाले त ईतिहास नै रचेका छन् । नेतृत्वको यो अक्षम्य भूल र अलोकतान्त्रिक संस्कार सम्झेर क्रियाशील सदस्यले नयाँ नेता छान्न विवेक प्रयोग गर्नुपर्ने देखिन्छ । कुनै पनि व्यक्ति र संस्थाको शुध्दिकरण तल्लो तहबाट मात्र सम्भव छ । नेपालका राजनीतिक दल र तिनका नेताको सामन्तवादी र अनुदार आचरण नयाँ पुस्ताको भविष्य अन्योलमा राख्न मुख्य कारण रहेको बिर्सन मिल्दैन । हरेक नयाँ दशकमा संघर्षको नयाँ अध्याय सुरु गर्नुपर्ने नियतिको स्रोत खोज्न अन्यत्र कतै जानै पर्दैन, आफ्नै दलका नेताको बानी व्यवहार र आचरणमा परिवर्तन आउने बित्तिकै सबै वाधा व्यवधान हटेर जाने छन् । कांग्रेसको नयाँ नेतृत्व चयनको प्रारम्भिक प्रक्रिया सुरु भैरहेका बेला गाउँका कार्यकर्ताले यतिमात्र मूल्यांकन गरिदिँदा देशको राजनीतिमा नयाँ तरंग पैदा हुनसक्छ ।

संस्थापक नेता वीपी कोइरालाले देशमा लोकतन्त्र आएपछि पार्टीमा सुकिलामुकिला नयाँ अनुहारहरुको हालीमुहाली हुनेछ र नेताहरु त्यसमा अल्मलिने छन्, सच्चा कार्यकर्ताले त्यस प्रवृत्ति विरुध्द संघर्ष गर्नुपर्नेछ भनेर उतिबेलै चेतावनी दिएर गएका छन् । अर्का संस्थापक नेता कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनलाई नै अनुशरणयोग्य बनाएका थिए । उनको सादगीको अर्को उदाहरण राजनीतिमा पाउन मुस्किल पर्छ । तर धेरैजसो केन्द्रीय नेता र कतिपय गाउँ तहसम्मका कार्यकर्तामा पछिल्लो समय हुर्किँदै गएको सुविधाभोगी प्रवृत्ति र पन्पिँदै गएको चरम भौतिकवादी जीवनशैलीले नेपाली कांग्रेसको मौलिक पहिचान छोपिँदै गएको देखिन्छ । संघर्षशील कार्यकर्ता भन्दा आपरदर्शी धनका कुबेरहरु र अवसरवादी उद्योगी–व्यापारी कांग्रेसको निर्णायक भूमिकामा हावी हुँदै गएको प्रष्ट देखिन्छ । यो प्रवृत्ति पराजित गर्न पनि यो महाधिवेशनको लोकतान्त्रिक अभ्यास महत्वपूर्ण अवसर हो, यसको भरपूर उपयोग हुनुपर्छ ।

नेपाली कांग्रेस आफ्नो आदर्शमार्गबाट विचलित भएको सर्वत्र टिप्पणी हुने गरेको छ । यतिबेला कांग्रेस आफ्नो मौलिक राजनीतिक लाईनबाट भन्दा सत्ता साझेदार दलहरुको दवावमा सञ्चालन भैरहेको चर्चा छ । खासगरी विगत स्थानीय निर्वाचनमा सभापति शेरबहादुर देउवाले निहित स्वार्थका लागि माओवादी केन्द्रसँग अंकमाल गर्दा धेरै महत्वपूर्ण निर्वाचन क्षेत्र र महानगरहरु गुमाएको उदाहरण पनि छन् । जननिर्वाचित प्रतिनिधिसभा तत्कालिन राजदरबारमा लगेर बुझाएका घटनाले पनि देउवा कांग्रेसको शाख गिराउनमा मुख्य दोषी देखिन्छन् । आज उनै देउवा माओवादीको वैशाखी टेकेर अनौठो सरकारको नेतृत्व गरिरहेका छन् । उनी यो महाधिवेशनबाट पनि सभापति चुनिन चाहन्छन् । क्रियाशील सदस्यताको निर्णय प्रक्रियामा भएको व्यापक चलखेलले देउवाको रणनीति र दाउपेच उदांग भैसकेकै छ । पार्टीको स्थानीय तहको निर्वाचनमा मतदान गर्दा कार्यकर्ताले आफ्नो नेतृत्वको विगतको भूमिकालाई बिर्सन मिल्दैन ।

धर्म संस्कृति र पहिचान हरेक जातीको अमूल्य सम्पत्ति हो । देशलाई यी धरोहरबाट वञ्चित गर्न हरप्रयाश गरिरहेका तत्वबाट जोगाउनु प्रत्येक नागरिकको परम कर्तव्य हो भन्ने कुरामा दुइमत हुनसक्दैन । विगतको दशकमा नेपाली कांग्रेस यस्ता संवेदनशील कुरामा नराम्ररी चिप्लिएको छ । सत्तास्वार्थका लागि कुनै सोचबिचारै नगरी भएका कैयौं सम्झौतामा कांग्रेसको नेतृत्व किन फस्न पुग्यो भनेर यतिबेला मूल्यांकन गर्ने कि नगर्ने ? नयाँ नेता चुन्न दौडधुप गरिरहेका कार्यकर्ताले सोच्ने सही समय यही नै हो ।

  जन भन्दा धन र संस्कार भन्दा सत्ता प्यारो हुन थालेपछि कुनै पनि व्यक्ति वा संगठनको दिनगन्ती सुरु हुन्छ भनिन्छ । राष्ट्रिय राजनीतिमा फिका हुँदै गएको नेपाली कांग्रेसको  छवि यतिबेला हरेक कार्यकर्ताले निधार खुम्च्याएर नियाल्ने बेला पनि यही हो । समय घर्केपछि गरिने हिसाब किताबको कुनै अर्थ हुँदैन । तातेकै बेला फलाम पिट्नुपर्छ भनेका छन्   पूर्खाले । यतिबेला कांग्रेसको सिंगो संगठन तातेको छ । सुधार गर्ने नै होभने यो भन्दा उपयुक्त अवसर अर्को हुनै सक्दैन ।

अर्कोतिर क्षेत्रीय र अन्तर्राष्ट्रिय रंगमञ्चमा हाम्रो देशको उपस्थिति दिनदिनै कमजोर हुँदै गएको शुभचिन्तकहरुले नै बताउने गरेका छन् । दुइ ठूला शक्ति राष्ट्र भारत र चीनको प्रतिष्पर्धामा नेपाल सामरिक दृष्टिले निकै महत्वपूर्ण रहेकोमा शंका छैन । यसबाहेक अरु शक्ति राष्ट्रहरु पनि नेपालमा बलियोगरी आसन जमाउन जम्जमाईरहेका छन् । अफगानिस्तानको पछिल्लो अवस्थापछि त झन् यो क्षेत्र नै विश्वको आँखामा परेको छ । यस्तो संवेदनशील समयमा नेपालको नेतृत्व कमजोर हुने र सम्झौतावादी बन्ने छुट छँदैछैन । नेपाली कांग्रेस तुलनात्मक रुपमा विश्व जनमतले रुचाएको शक्ति मानिन्छ । यो पार्टीको नेतृत्वमा रहने व्यक्तिमा देशको शाख र विश्वास बढाउन सक्ने सामथ्र्य र साहस हुन आवश्यक हुन्छ । ढुलमुले र कमजोर नेताले न पार्टी संगठनको न त परिआउँदा देशकै नेतृत्व लिन सक्छ । आजको समयका सुशिक्षित कार्यकर्ता–मतदाताले नेपाली कांग्रेसको नेतृत्व चयन गर्दा यस्ता पक्षहरु पनि मनन गर्न आवश्य हुन्छ ।

भारतका तत्कालिन प्रधानमन्त्री लालबहादुर शास्त्रीले फाटेको धोतीकुर्ता लाएर शपथ लिएको घटनामा छिपेको शिक्षा र सन्देश अनुशरण योग्य छ । असल कुरा सिक्दा र अनुशरण गर्दा लाज मान्नु पर्दैन । फाटेको टोपी राणा शासकलाई उपहार पठाउने साहसी व्यक्ति कृष्णप्रसाद कोइरालाका पुत्र वीपी कोइराला र उनका सहयात्री मिलेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले नेपालको मौलिक चित्र र चरीत्र नबिर्सियोस् भन्ने कामना मात्र हो । 

कविवर माधवप्रसाद घिमिरेले किन यस्तो गीत रचे त–

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे 
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।

महाधिवेशन नेपाली कांग्रेसको हो । यो उसको आन्तरिक मामिला पनि हो । तर भविष्यमा देशको नेतृत्वमा आउन सक्ने नेता पनि यस्तै निर्वाचनबाट छानिँदै आउने हुन् । यही कारण पनि कांग्रेसको यो निर्वाचन प्रक्रियामा लोकतन्त्रको अभ्यास भैरहँदा नेतृत्व चयनमा कुनै त्रुटी नरहोस् भन्ने शुभकामना मात्र हो ।  
 
 

ताजा खबर