रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान

२०७८ भदौ १७ बिहीबार १०:०९:०० मा प्रकाशित

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका छन् । विश्वकप छनोट अन्तर्गत गएराति भएको आयरल्यान्डविरुद्धको खेलमा अन्तिम समयमा गोल गर्दै रोनाल्डोले विश्व कीर्तिमान तोडेका हुन् । पोर्चुगलले आयरल्यान्डलाई दुइ एक गोलले पराजित गरेको थियो । एक शून्यले पछि पर्दै हार नजिक पुगेको पोर्चुगललाई रोनाल्डोले  हेडमार्फत दुई गोल गर्दै रोमान्चक जित दिलाए ।

राष्ट्रिय टिमबाट रोनाल्डोको गोल संख्या १ सय ११ पुगेको छ । उनले १ सय ८० खेल खेलेका छन् ।  यसअघि इरानका अलि डेइले सन् १९९३ देखि २००६ सम्म एक सय ९ गोल गरेका थिए । रोनाल्डोले युरोकपमा फ्रान्सविरुद्ध दुई गोल गर्दै अलि डेइको कीर्तिमान बराबरी गरेका थिए । रोनाल्डोले खेलको १५ मिनेटमानै पेनाल्टीमा गोल गर्दै विश्व कीर्तिमान बनाउने अवसर पाएका थिए । तर उनको प्रहार आयरल्यान्डका गोलकिपर गाभिन बाजुनुले बचाए ।

४५ औं मिनेटमा आयरल्यान्डका जोन इगानले गोल गरेपछि पोर्चुगल एक शून्यले पछि परेको थियो । खेल सकिन एक मिनेट बाँकी हुँदा रोनाल्डोले हेडर गोलमार्फत खेल बराबरी गरे । उनले ८९ औं मिनेटमा गोल गरेसँगै अलि डेइको कीर्तिमान पनि  तोडे  । इन्जुरी समयको अन्त्यमा अर्को हेडर गोल गरेपछि पोर्चुगलले आयरल्यान्ड माथि दुई एकको रोमान्च्क जित हात पार्यो ।
खेलपछि रोनाल्डोले कीर्तिमान बनाएर मात्र होइन विशेष समयमा गोल गर्दै टिमलाई जित दिलाउन पाएकोमा खुशी लागेको प्रतिक्रिया दिए  ।  आफ्नो टिम माथि गर्व भएको उनको भनाइ थियो । 

रोनाल्डो क्लब फुटवल च्याम्पियन्स लिगका पनि उच्च गोलकर्ता हुन् । युरोपियन च्याम्पियनमा पनि रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् । उनले युरोकपमा १४ र विश्वकपमा ७ गरी कुल २१ गोल गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका रोनाल्डोले राष्ट्रिय  टिमबाट सर्वाधिक खेल खेल्ने युरोपियन खेलाडी स्पेनका सर्जियो रामोसको कीर्तिमान पनि बराबरी गरे । रोनाल्डोले आधा भन्दा बढी गोल अन्तिम ३० मिनेटमा गरेका छन् । खेल सकिन १५ मिनेट बाँकी हुँदा रोनाल्डोले ३३ गोल गरेका छन् । ६१ देखि ७५ मिनेटको समयमा २२ गोल गरेका छन् । १६ देखि ३० मिनेट भित्र १७ र  ३१ देखि ४५ मिनेट भित्र १६ गोल गरे ।

खेल सुरु भएको १५ मिनेट भित्र ११ गोल गरेका रोनाल्डोले दोस्रो हाफको सुरुवाती १५ मिनेटमा १२ गोल गरेका छन् । उनले  ९१ गोल बक्स भित्र  र २० गोल बाहिर बाट तथा १४ पेनाल्टी र ९ फ्रि किकमा  गरेको तथ्याङक छ । अहिले सम्म लुथियाना र स्विडेन विरुद्धको ७–७ गोल उनको उच्च संख्या हो ।

गएराति अघिसम्म उनले आयरल्यान्ड विरुद्ध गोल गरेका थिएनन् । उनका चीर प्रतिद्वन्द्व अर्जेन्टिनाका लियोनल मेसीले १ सय ५१ खेलमा ७६ गोल गरेका छन् । रोनाल्डोले सन् २००८ मा १८ वर्षको उमेरमा काजकस्थान विरुद्धको खेलमार्फत राष्ट्रिय टिममा  डेब्यु गरेका थिए । उनी दोस्रो हाफमा पोर्चुगलका स्टार खेलाडी लुइस फिगोको स्थानमा मैदान प्रवेश गरेका थिए । सुरुमा उनले १६ नम्बरको जर्सी लगाएका थिए । २००४ को युरोकपमा ग्रिस विरुद्ध रोनाल्डोले राष्ट्रिय टिमबाट पहिलो गरेका हुन् ।

 रोनाल्डोको गोल

विश्वकप छनोट खेल –३३

युरोकप छनोट खेल –३१

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल–१९

युरोकप–१४

विश्वकप –७

युएफा नेशन्स कप – ५

कन्फिडिरेसन्स कप –२
 

ताजा खबर