नेपाल र भारत बीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज

२०७८ भदौ १७ बिहीबार ०९:४२:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारत बीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सीमित दर्शकको उपस्थितिमा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । यो खेलका लागि दुवै मात्रा खोप लगाएका  र पीसीआर रिपोर्ट नेगेटिभ आएका ५१ सय समर्थकलाई प्रवेश अनुमति दिइएको छ ।  

दशरथ रंगशालामा नेपालले ६ वर्षपछि भारतसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि सन् २०१५ मा विश्वकप  छनोट अन्तर्गत भएको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो  । असोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारत बीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मैत्रीपूर्ण खेलको नतिजाले फिफा वरियतामा पनि असर गर्ने हुँदा जितकै लागि खेल्ने बताएका छन् । यो खेलले साफ अघि नेपाली टिम कुन स्तरमा छ भन्ने थाहा पाउन सजिलो हुने उनको भनाइ छ । नेपालको प्रदर्शन गर्व गर्न लायक हुने उनको भनाइ छ ।

अब्दुल्लाहले भने,‘फिफा वरियतामा भारत नेपाल भन्दा माथि र  वलियो टोली हो तर पनि जीतनै हाम्रो लक्ष्य हो ।’ बराबरीका लागि नखेल्ने उनले बताए । उनले नयाँ खेलाडीलाई मौका दिने पनि उल्लेख गरेका छन् । प्रशिक्षक अब्दुल्लाहको दरशथ रंगशालामा यो पहिलो खेल हो ।

भारतीय टोलीका प्रशिक्षक इगो स्टिमेकले नेपाल संगको खेल कठिन हुने  बताए । पछिल्लो समय नेपाली टिमका धेरै सुधार आएको उनको भनाइ थियो । कप्तान सुनिल क्षेत्रीले  नेपालसँग खेल्न कहिल्यै पनि सहज नहुने प्रतिक्रिया दिए । सुनिलको मामाघर नेपाल हो । उनका धेरै आफन्त अहिले पनि नेपालमानै बस्छन् ।  उनका मामा गणेश पान्डे नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्वखेलाडी पनि हुन्  ।  सुनिलकी आमा पनि फुटबल खेल्थिन् । सुनिलले  नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

आजको खेलबाट नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गर्नेछन् । उनले राष्ट्रिय टिमबाट ७२ खेल खेलेका छन्  । पूर्वकप्तान विराज महर्जनले सर्वाधिक ७३ खेल खेलेका छन् । विराजले  अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् । आइतबार भारतविरुद्ध हुने दोस्रो अन्तराष्ट्रिय खेलबाट किरणले विराजको कीर्तिमान तोड्नेछन् । किरणले मैत्रीपूर्ण खेल आफूहरुका लागि अवसर भएको बताए ।

नेपाल र भारत बीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्र दुई खेलमा विजयी हुँदा १३ खेल भारतले जितेको छ । चार खेल बराबरीमा सकिएको थियो । 

ताजा खबर