दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल हेर्न  सीमित दर्शकलाई अनुमति 

२०७८ भदौ १६ बुधबार १५:४२:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा  सीमित दर्शकले अनुमति पाउने भएका छन् । अखिल नेपाल फुटबल संघले बुधबार  रंगशाला क्षमताको एक तिहाइ दर्शकलाई प्रशासनले प्रवेश अनुमति दिएको जानकारी दिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार खेलका लागि ५१ सय टिकट विक्री  गरिनेछ । टिकटको मूल्य भने ताकिएको छैन । टिकट र पास गरेर करिब ६ हजार समर्थकले  प्रत्यक्ष खेल हेर्नेछन् । दर्शकले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेछ ।

दुवै डोज खोप लगाएको कार्ड पेश गर्नुपर्नेछ । खोप नलगाएकाले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्नेछ । टिकट अनलाइनबाट  बिक्री गरिनेछ ।  दरशथ रंगशालाको पूर्ण क्षमता १५ हजार हो । नेपाल र भारत बीचको पहिलो खेल भोलि  हुनेछ । दोस्रो खेल आइतबार हुने तालिका छ ।

खेल साँझ साढे पाँच बजे पछि सुरु हुनेछ । दुवै देश असोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा छन ।  दशरथ रंगशालामा नेपालले भारतसँग ६ वर्षपछि खेल्न लागेको हो । यसअघि सन २०१५ मा भएको विश्वकप छनोट खेलको दोस्रो लेग गोलरहित बराबरीमा सकिएको थियो । 
 

ताजा खबर