मेरो सपनामा मदन कमरेड

२०७८ भदौ १५ मंगलबार १२:५३:०० मा प्रकाशित

लामो समय पछि मेरो सपनामा मदन कमरेड सदाझैं वहाँको टिलिक्क टल्केको साइकल चढेर सररर आउनु भयो र मेरो अगाडिको बाटोको छेउमा साइकल अड्याउनु भयो । म वहाँलाई अर्को कुर्सि सहित कुरेर बसेको थिएँ । वहाँ आउने वित्तिकै उठेर आदरपूर्वक ‘अभिवादन कमरेड’ भनेँ, वहाँले पनि मुस्कुराउँदै अभिवादन फर्काउनु भयो । चिया पसलको अगाडि म बसेको मेरो मेच छेवैमा आएर मलाई ‘के छ सुनिल देशको हालखबर अनि तिम्रो पनि ?’ वहाँले जहिले पनि देशको अनि मात्र मेरो व्यक्तिगत खबर सोध्ने गर्नुहुन्थ्यो । म भने जहिले पनि उत्तर दिँदा वुझेको कुरा भन्थेँ अनि आफूलाई सोध्न मन लागेको विषयमा जिज्ञासा राख्थेँ र वहाँले पनि कुनै हिच्किचाहट बिना नै सवै विस्तार लाउनु हुन्थ्यो । पहिला मैले चिया मगाई हालेँ अनि मात्र मैले देशको वारेमा भन्दा पहिला आज म यहाँहरुको पार्टी नेकपा (एमाले) को वारेमा केही भन्छु भनेँ । अनि वहाँले मुण्टो हल्लाएर सहमति जनाउनु भयो । 

मैले यहाँहरुको नेकपा एमाले पार्टी त सरकारबाट पनि हट्यो अनि पार्टी पनि चोइट्यो नि कमरेड भनेर के मात्र भनेको थिएँ वीचैमा वहाँले रोकेर नियाउरो अनुहार लगाएर एकपटक माथि आकाश तर्फ हेरेर भन्न सुरु गर्नु भयो । ‘हामी बामपन्थीहरु धर्मलाई अफिम भन्थ्यौ अनि परम्परालाई सामन्ती सोच भन्थ्यौं । वास्तवमा त्यो सव समयले गलत प्रमाणित   गरीसक्यो । जव मान्छेले यस्ता कुरामा विश्वास गर्दैनन् तिनको मति भ्रष्ट हुने रहेछ । संस्कारी समाजले त्यसलाई असहज तवरले हेर्ने गर्दछ बुझ्यौ सुनिल’ भनेर मलाई भन्नुभयो । मेरो पातलो टुप्पिको चार ईञ्च माथिबाट त्यो कुरा उडेर गयो । मैले केही बुझिन । वहाँले मेरो मनोभावना बुझेर प्रष्ट्याउदै भन्नु भयो ‘माधब कमरेडले वहाँको आमा दुर्गादेवी उपाध्यायको देहान्त हुँदा परम्परा वमोजिमको कर्म गर्नुभयो ?’ भनेर मलाई सोध्नु भयो । मैले सुनेको त 'गर्नु भएन कमरेड' भनेँ । अनि वहाँले माधब कमरेडलाई कसले सिकायो कि आफ्नै आमा दिवंगत हुँदा किरीया कर्म गर्नु हुँदैन भनेर ? यस्ता संस्कारी कुरा व्यक्तिको आफ्नो भन्ने हुँदैन त्यसमाथि माधब कमरेड त पार्टीको शिर्षस्थ व्यक्तित्व । वहाँले गर्ने हरेक गतिविधि समाज र राष्ट्रले हेरिरहेको हुन्छ नि हैन र ? माधब कमरेडका पिता मंगलकुमार उपाध्याय जिवितै हुनु हुन्थ्यो त्यसवखत् । वहाँ त रौतहटको स्कुलमा प्राध्यापन पेशामा कहलिएका बुझेका र उहाँ जस्तो व्यक्तिका छोराको यो कर्म देखेर पिताको मन कति रोयो होला ? सम्झ त सुनिल !?' 

मैले भने हो नि कमरेड । शास्वत् भगवान् छन्, हामीले छैन भन्नै पर्दैन । हो त्यही कर्मले माधब कमरेडको विवेकले काम गरेन र वहाँ अहिलेको अवस्थामा पुग्नु भयो । यो अवस्थामा पुर्याउन प्रमुख भूमिका खेल्ने व्यक्ति निहत्था र निरीह १७ हजार नेपालीको ज्यान आहुति दिएर कुम उचाल्ने प्रचण्ड हुन पुगे । उनि पनि कर्ता मात्र हुन् । उनको दुःखको दिन त आउन बाँकी नै छ र त्यो निकट छ । यसप्रकार वहाँको आक्रोशजन्य भनाइबाट हाम्रो वार्तालाप सुरु भयो ।

'जनयुद्ध किन भयो थाहा छ सुनिल' भनेर प्रश्न गर्दै वहाँले २०५२ फागुन १ गते अगाडि तर्फ लैजानु भयो । वहाँले नेपालमा जनयुद्ध किन आवश्यक थियो थाहा छ ? भनेर प्रश्न गर्नु भयो, मैले नेताका श्रीमती, छोरा, बुहारी, छोरी तथा आफन्तजनलाई राष्ट्रपति बनाउन, मन्त्री बनाउन र सांसद बनाउन भनें । वहाँले गम्भीर हुंदै भन्नु भयो, 'नेपाल र नेपालीत्वको जो तीन वटा आधार हुन् तिनलाई जोगाउने भनेको नेपालको (१) राजसंस्था, (२) नेपाली भाषा र (३) हिन्दू धर्म संस्कृति हो । हो तिनै कुरा भत्काउन पहिला जनयुद्धको ब्यानरमा ध्वंशकारी काम भयो । जनयुद्ध त नेपालमा बसेर गरिएन । यहाँ त निमुखा नेपालीहरुलाई मुक्तिको नाममा विदेशमा बसेर नेपाल भित्र लडाइयो अनि मारीयो । कुनै दिन पनि बनाउन नसकिने संरचनाहरु ध्वस्त पारीयो । यी तिनवटा सारभूत कुराले नेपालीलाई अनुशासनमा र ऐकवद्ध बनाएर  ल्याएको थियो । नेपालको राजसंस्थाले विदेशीलाई मुस्ताङ लगायत धेरै ठाउँमा जान प्रतिवन्ध लगाएको थियो उत्तरी छिमेकीको रक्षाको लागि । नेपालको राजसंस्थाले भाषा, धर्म, संस्कृति र परम्परा जोगाएर राखेको थियो दक्षिणको छिमेकीका लागि । यि तिनै सेतुलाई नतोडी नेपालमा पस्न सकिँदैन भन्ने कुरामा ती शक्तिहरु विश्वस्त थिए । त्यसैको परिणाम हो नेपालको जलस्रोत लगायत प्राकृतिक श्रोत साधन विदेशीको हातमा र एम.सि.सि. को नाउँमा नेपाल प्रवेशको तयारी ।' 

नेपालको राजतन्त्रका आफ्नै किसिमका अनुशासन, आचरण र संस्कारहरु थिए जुन नेपाल र दुवै छिमेकीको लागि राष्ट्रपतिले भन्दा फरक, सुसंस्कारी र सुरक्षित कडीका रुपमा रहेका थिए । गणतन्त्र भन्दा राजतन्त्र यो भन्दा कहाँ हो कहाँ राम्रो थियो भन्ने कुरा त गणतन्त्रका पिता प्रचण्ड आफैंले भनिनै सके । गणतन्त्रका पिता प्रचण्डलाई समय समयमा आफ्नो कर्मबाट विक्षिप्त बनाउँछ अनि यस्ता भनाई समय–समयमा आउँछ । बुझ्यौ सुनिल, मलाई एउटा घट्नाको याद आइरहेको छ त्यो के भने, २०४६ चैत्र २६ गते राजाले पञ्चायतलाई हटाएर प्रजातन्त्र दिए अनि नेका सभापति किशुनजीलाई प्रधानमन्त्रीमा नियुक्त गरि सपथ खुवाइसकेपछि अन्य मन्त्रीहरुको सपथग्रहणको कार्यक्रम सिंहदरबारको बेलायती बैठकमा गर्ने निधो भयो, सर्वमान्य नेता गणेशमानजीको उपस्थितिमा । सो कार्यक्रममा गणेशमानजीको छोटो मन्तव्य थियो । वहाँले के भन्नु भयो भने ‘मलाई राजाले प्रधानमन्त्री बन्नुहोस् भन्दा म हैन वहाँ (किशुनजी) लाई नियुक्त गर्नुस् भनें । पञ्चायत विरुद्ध आन्दोलन बढ्दै थियो अनि राजा हटाउनु पर्छ भनेर शक्तिशाली देशका नेताहरुले मलाई फोन गरेर भने । गणतन्त्र ल्याउन सम्पूर्ण सहयोग गर्छौं तपाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आयो मैले हुँदैन भनें । कहाँ गणतन्त्र ल्याउनु ! राजाको अधिकार लिने र शासन हामीले जनप्रतिनिधि भएर चलाउने हो तर राजा त हटाउने हैन नि ! राजा हटायो भने त मछिन्द्रनाथको रथ तान्दाको भिडमा छिरेको कुकुर चेपिएर मरे जस्तो शक्तिराष्ट्रहरुको चेपुवामा परेर नेपालै रहँदैन’ भनेर सुनाउनु भयो । त्यसैले हामीले गणतन्त्र नल्याएको भनेर भन्दा हामी उपस्थित सवै छक्क परेका थियौं भनेर मदन कमरेडले भन्दा स्व. गणेशमान प्रति अझ श्रद्धा बढेर आयो । त्यतिखेरका नेताहरु कति सुझवुझपूर्ण ढंगले काम गर्दा रहेछन् । एउटा सिजनमा स्याउ अमिलो फल्यो भनेर बोटै काट्ने हैन नि सुनिल भनेर मदन कमरेडले भन्दा म वहाँ प्रति नतमस्तक भएर सुनिरहें ।

म जन्मेको साविक तेह्रथुम जिल्लाको ढुङ्गेसाँघु गाउपँचायत वडा नम्बर ९ हालको ताप्लेजुङग जिल्लाको ढुङ्गेसाँघु गाविस वडा नं ८ को ठोट्ने भन्ने गाउँमा हो । आमाले मलाई भने अनुसार, आमालाई सुत्केरी वेथाले च्याप्यो २००९ साल असार १४ गते शुक्रबारको राती वेथाले भाउन्न भएर छेउको जङ्गलमा पुग्नु भयो त्यहाँ खोल्मा थियो त्यही खोल्माको तल ढिकीको अडेसमा मलाई आमाले जन्म दिनु भयो मध्य राती १२ बजे तिर हो । पछि हामी २०२८ सालमा हालको मोरङ जिल्लामा बसोवास गर्दैगर्दा मैले १६ बर्षको उमेरमा जि.प्र.का. मोरङबाट नागरिकता लिएँ । हाम्रो पहाडको घर पछि २०३४ सालतिर होला खड्गसिंह वनेमलाई विक्री गर्यौं । हामी पाँच दाजु भाई अनि पाँच दिदी वहिनी हौं । म माईलो छोरो हुँ । मैले किन सवै फेहरिस्त लगाएको भने हामी दश सन्तान । कसरी हामी हुक्र्यांै होला यसो अनुमान लगाउ त ? म जन्मँदा कुनै स्वास्थ्यकर्मी थिएन । त्यो अनकण्टार ठाउँबाट आएको म देशको मुहार फेर्न अनि पूर्खाले सुरक्षित राखेको हाम्रो देश नेपाललाई हाम्रा सन्ततीलाई समन्ुनत र सुरक्षितरुपमा जिम्मा लगाउन । हामीले जनप्रतिनिधिमुलक विकासमा हातेमालो गर्दै विश्व सामु सम्वृद्ध बनाउने लक्षका साथ दीर्घकालिन सहकार्यको महसुस गरी संगठित हुँदै नेपाली माझ बलियो पार्टीको रुपमा संस्थागत गर्दै लैजाने उद्देश्यले बनाएको नेकपा एमालेलाई यो अवस्थामा ल्याइपुर्याएको हो ।

आज आएर कपटपूर्ण तवरले जसरी २०४७ सालको संविधानलाई तराई देखि हिमालसम्म समेटेको थियो त्यसलाई भत्काउन संविधान नै खारेज गरियो । त्यसरी नै एक ढिक्का रहेको यो पार्टीलाई संगठन भित्रैबाट विभिषणको जन्म गराई क्षति पुर्याउने कार्य भयो त्यो आफैंमा ऐतिहासिक गल्ती र त्रुटीपूर्ण काम भएको छ । मैले रावणको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई र वरिष्ठ नेता माधब कुमार नेपाललाई विभिषणको रुपमा लिएको छु यो झण्डै दुई तिहाईको सरकार गिराउनु र पार्टी चोइटिनुलाई । एमाले पार्टीलाई मायाँ गर्ने समूहको तर्फबाट पार्टी अध्यक्षको मिर्गौलाको शल्य क्रिया सकिए लगत्तै ‘तिम्रो पार्टीभित्र प्रचण्डले यसरी खेल्दैछन्’ सजग हुनु भनि दिएको सुझावलाई जसरी सत्ता उन्मादले सजग हुने आवश्यकता देखेनन् त्यही नै केपी ओली र उनका सहयोगीहरुको सजगतामा त्रुटी भएको थियो । जुन सुझाव मध्येका लाईनहरु (केपी कमरेड मिर्गौला फेर्न टिचिङ अस्पताल महाराजगंजमा भर्ना भएको दिन पार्टी अध्यक्ष पाँच बर्ष नै प्रधानमन्त्री बन्नु हुन्छ भन्नु) केपी कमरेड भन्दै हुनुहुन्छ टिभि अन्तरवार्तामा । केपी कमरेडको राजनैतिक अकर्मण्यताले नेकपा एमालेले सत्ता वहिर्गमन र क्षति व्यहोर्नु परेको हो । केपी कमरेडले पहिलो गल्ती प्रचण्ड कमरेडको पार्टीलाई नेकपा एमालेमा मिसाउनु हँुदैन थियो । अनि दोस्रो गल्तीमा सामूहिक निर्णय भन्दा गुटगत निर्णयमा भर पर्नु हुदैन थियो । पार्टी अध्यक्षले बरिष्ठ नेता कमरेड माधब नेपालसँग कहिले पनि पार्टी अध्यक्षको प्रतिद्वन्दी भन्दा फरक रुपमा हेर्नै नसक्नु वहाँको कमजोरी थियो । केपि कमरेडको प्रमुख प्रयासबाट नेकपा एमालेले जनता सामु पृय भएका कारणले प्रतिनिधि सभामा धेरै संख्यामा विजयी भएपछि त्यसलाई सम्हाल्न वहाँले सामूहिक निर्णयमा गएको भए यो अवस्था आउँदैन थियो । 

त्यसैगरी कमरेड प्रचण्डको पार्टीसँग संविधानको धारा ७६ को २ बमोजिम नै सहकार्य गर्दै गएको भए केही फरक पर्दैन थियो । या अन्य कुनै सानो दलसँगको सहकार्यमा एमालेले सरकार बनाएको भए पनि केही फर्क पर्दैन थियो । केपी कमरेडले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता गरेपछि सरकारमा पनि कार्यगत एकता गर्नैपर्छ भन्नेमा जानु भयो त्यो आवश्यक थिएन । जनताको मनबाट वाहिरिएको थाहा पाएर नै एमालेसँग कार्यगत एकता गरेको भन्ने कुरा बुझ्नु भएन । जनमत आफ्नुमा नभएको कारणले नै प्रचण्ड हाम्रो पार्टीसँग कार्यगत एकता गरेका हुन् भन्ने कुरा केपी कमरेडले बुझ्नु पथ्र्यो । अर्को कुरा पार्टीमा मर्ज गर्दा पार्टीभित्र घनिभूत छलफल हुनु पथ्र्यौ त्यो हुनै सकेन । त्यसैगरी माधब कमरेडले केपी कमरेडसँग पार्टी अध्यक्षको वकाइदा निर्वाचनमा हारेपछि अर्को निर्वाचनसम्म कुर्न जरुरी थियो ।

पार्टी भित्र दुइ लाइन संघर्ष त हुन्छ नै त्यति भएन भने त कार्यकर्ताहरु धार नलगाएको भुत्तै खुकुरी जस्ता भैहाल्छन् नि । त्यो संघर्ष ठीक थियो । पार्टी अध्यक्षले गरेका अनपपुलर कामको बिरोध गरेर पार्टीभित्रै अन्य साथिहरुलाई यो यो कुराहरु गलत भएको छ यसलाई सुधार गर्नु पर्छ भनेर आफ्नो अनुकूल बनाउनुको सट्टा बोकाले ब्वाँसोसँग मित लगाउनु जस्तो गणतन्त्रका पितासँग विहानको चिया र दिउँसोको खाजा सँगसँगै हुन थाल्यो अनि प्रचण्डका मुखाराविन्दुबाट निस्केका हरेक बाणी वहाँका पथ भए । माधब कमरेडको ढाडमा टेकेर केपी कमरेडको टाउकोमा हान्ने प्रयत्न कति सफल हुन्छ भन्ने कुरा सत्य निरुपण तथा मेल मिलाप आयोग र वेपत्ता आयोगको अनुरोधमा विदेशी विज्ञहरुले जनयुद्धताका मारिएर खाल्डोमा पुरिएकाहरुको मानव अवशेष झिकेपछि थाहा हुन्छ को कतिखेर ‘ब्ल्याकहोल’ मा पुग्छ भनेर । मैले सुरुमै धर्मको प्रसंग झिकेको थिएँ नि हो यसैको लागि हो । जसले पाप गर्छ त्यसले यही जुनिमा भुक्तान गरेर जाने हो त्यसैले कलियुगका प्राणीलाई भाग्यमानी पनि भनिन्छ नि । आफूले गरेको धर्म या पाप यही जन्ममा भुक्तान गर्न पाइन्छ भन्नेकुरा धर्मका ग्रन्थहरुमा पढ्न पाइन्छ र त्यो सत्य पनि हो ।

'नेपालमा २००७ साल देखि नै राजनैतिक स्थिरता हुन सकेन । आजसम्म निर्वाचित सरकारले पाँच बर्षको कार्यकाल पुरा गर्न पाएका छैनन् । यहाँ छिमेकी भारतलाई जोड्नु सान्दर्भिक हुन्छ बुझ्यौ सुनिल' भनेर वहाँले भन्दा एक शिक्षकले विद्धार्थीलाई बुझाए जस्तो गरी भन्दै गर्दा मैले कसरी भारत जोडीन पुग्यो भनेर नसोधी बस्न सकिन । यसमा वहाँले भन्नु भयो कि 'वेलायतको लामो उपनिवेशबाट स्वतन्त्रता पाएपछि पनि भारतले आफ्ना छिमेकीहरुलाई कुनै न कुनै रुपमा हस्तक्षेप गर्दै आयो । उसले नेपाललाई पनि सजिलै बस्न दिएको छैन आज पर्यन्त पनि । 

अफगानिस्तानबाट विदेशी सैनिकको हस्तक्षेप विरुद्ध लडेका तालिवानी लडाकुको हातमा सत्ता आइसकेको छ । यो २० बर्षमा अमेरिकाले २० खर्ब डलर खर्च गरेको छ अफगानिस्तानमा । लगभग २४ सय अमेरिकी सैनिक मारिए भने २० हजार घाइते भएका छन् । यही युद्धका क्रममा २ लाख ५० हजार अफगान नागरिकले ज्यान गुमाएका छन् । झन्डै १० लाख घाइते भएका छन्, ५० लाख आन्तरिक रूपमा विस्थापित भएका छन् । यत्रो क्षतिको वावजुद महाशक्ति राष्ट्र अमेरिका अफगानी तालिवानीबाट लखेटिनुपर्यो । अव तालिवानीको सम्पूर्ण शक्ति कश्मिर स्वतन्त्रताको लागि हुने अनुमान गर्न सकिन्छ । के अमेरिकी सैनिक अफगानिस्तानबाट लखेटिएका हुन् ? सोझो हेर्दा त हो । तर आफ्ना अत्याधुनिक हतियार तालिवानीलाई छोडेर अमेरकी सैनिक गएका हुन् कि त्यो हतियारले कश्मिरलाई भारतबाट छुट्याउन छोडिएका हुन् ? महाशक्तिको होडमा रहेको भारतले बुझ्नु पर्ने कुरा यो हो । कश्मिरमा स्वतन्त्रता चाहनेहरुको हजारौं संख्यामा तालिवानहरुसँग सहकार्य थियो भन्ने सुनिएको पनि छ यदि त्यस्तो हो भने ती लडाकुहरु अफगानिस्तानको फत्तेह पछि लड्न आउने कश्मिरमै हो, त्यसपछिको परिणाम भगवान् पशुपतिनाथलाई थाहा होला । सहज छैन भारतलाई अवका दिन । भारतको उत्तरी छिमेकी नेपाल तर्फबाट स्थायी र भरपर्दो छिमेकी खै ? मलाई एउटा भनाई याद आउँछ; सर्पले मुखमा चेपिसक्यो भ्यागुता चाहिँ सर्पको मुखबाटै भए पनि उडेका किराहरु च्याप्प च्याप मुखमा हाल्दैछ हो यही अवस्था हो नेपालमा आएर भारतका दूतहरु नेपाली नेताहरुलाई यसो गर र उसो गर भन्ने । बुझाई सवैका फरक हुन सक्छ मेरो बुझाई यही हो । त्यसैले पहिला आफ्नो देश आतङ्ककारीको चपेटामा पर्न नदिन के गर्नु पर्छ त्यता लाग्दा भारतको हित होला कि ?

अव प्रसंग निकालांै नेका सभापति तथा परमादेशबाट प्रधानमन्त्री बनाइएका शेरबहादुर देउवाको । वहाँ दिवङ्गत गिरिजा प्रसाद कोइरालाको असली चेला हो । हुनुपर्ने सन्त नेता कृष्ण प्रसाद भट्टराईको तर चेला हुनु भयो गिरिजा प्रसादको । २०४७ साल पछिको संसदिय अभ्यासमा गिरिजा वावुको प्रसंग त आइहाल्छ नै, तात्कालिन नेका सभापति तथा अन्तरिम प्रधानमन्त्री किशुनजीलाई दुई पटक नै अन्तरघात गरेर वानेश्वरबाट चुनावमा हराएर प्रधानमन्त्री हुनबाट रोकेको विगत छ नेपाली कांग्रेस पार्टीको । प्रतिनिधि सभामा काँग्रेस जित्ने छाँटकाट नदेखिएपछि काँग्रेस पार्टीका विद्वान तथा कुशल नेताका रुपमा चिनिएका तात्कालिन नेता चक्रप्रसाद वाँस्तोलाको सुझाव अनुसार ‘भावी प्रधानमन्त्री किशुनजी’ भनेर पर्साबाट निर्वाचित गराई किशुनजीको नामबाट नेकालाई प्रतिनिधि सभामा वहुमत पुर्याएर केही महिना किशुनजीलाई प्रधानमन्त्री दिएर प्रधानमन्त्रीका रुपमा फ्रान्स भ्रमणमा जाने अघिल्लो दिन प्रधानमन्त्रीबाट राजिनामा दिन वाध्य पारी आफंै प्रधानमन्त्री बनेको । त्यसैगरी मनमोहन अधिकारीलाई प्रधानमन्त्रीबाट हटाउन फुपु चेला मामा चेलाको नाताका कारणले सामाजिक झंझटबाट जोगिनका लागि आफ्ना अनुज शेरबहादुर देउवालाई प्रयोग गरि प्रधानमन्त्री बनाइयो पहिलोपटक । सत्ता लुछाचुँडीको विद्या लिएका शिष्य हुन पुगेका हालका प्रधानमन्त्री देउवाले सत्ता प्राप्तिका लागि मिलेसम्म जे पनि गर्न लाज नमान्ने प्रवृत्तिले वहाँले कस्तो संसदिय अभ्यास गर्न खोजेको हो भन्ने कुरा माटोमुनि टाउको गाडेर कांग्रेस पार्टीको संसदिय अभ्यास हेर्ने दिन नआउला भन्न सकिँदैन । कानूनको भावना विपरीत संसदिय दल या केन्दीय कमिटी दुई मध्ये एकमा भए पनि हुने गरी २० प्रतिशत संख्याको अध्यादेश ल्याई एमाले फुटाउन बाटो खोलि दिने कर्म भोलिको काँग्रेसले कसरी वहाँलाई संझला ? प्रचण्ड कमरेडले धकल्ने प्रधानमन्त्रीले बाटो देखाउने कार्यको परीणाम हैन र माधब कमरेडको ‘एमाले समाजवादी ?’ यस्ता कर्मले नेपालको संसदिय अभ्यास कसरी सफल होला ? विश्वको संवैधानिक अभ्यासमा विचलनको उदाहरण दिँदा माधब कमरेडको नामले स्थान पाउँदैन र ? माधब कमरेडले यस्ता कुरा बुझ्नु हुन्न भन्ने त मलाई लाग्दैन सुनिल ? 

मेरो विहे विद्या कमरेडसँग २०३९ साल श्रावण २४ गते विराटनगरमा भएको थियो । हाम्रो जनवादी विहे भूमिगतरुपमा भएको थियो । जसको सभापतित्व माधब कमरेडले नै गर्नु भएको थियो । प्रमूख अतिथिमा ईश्वर पोखरेल कमरेड हुनुहुन्थ्यो भने सि.पी. मैनाली देखि राजेश वान्तवा समेत गरेर १७ जनाको सहभागिता रहेको थियो । विहेका ती सहभागी सहकर्मी साथीहरु कोही कता कोही कता भएर पार्टीलाई कमजोर पार्ने काम भइरहेको छ । जतिसक्दो प्रयोग गर्ने रणनीति हुन्छ वाम राजनीतिमा त्यो कुरा माधब कमरेड र झलनाथ कमरेड आफूहरु प्रचण्डको प्रयोगमा परेको नबुझेको हो ? बामदेब कमरेड त रणनीतिकार हैनन् यिनलाई जसले पनि प्रयोग गर्छन् त्यसैले यिनलाई भरिया भनेर उपमा दिने गरिन्थ्यो पहिले देखि । नेपालको राजनीति गर्नेहरुले कमसेकम राष्ट्रपिता पृथ्वीनारायण शाह, प्रधानमन्त्री जङ्गबहादुर राणा, राजा त्रिभुवन, राजा महेन्द्र, प्रधानमन्त्री विपि कोइराला र राजा ज्ञानेन्द्रका बारेमा अध्ययन गर्न आवश्यक छ । जसबाट नेपालको सामरिक अवस्था र विदेशी शक्तिहरुले कस्तो कस्तो अवस्थामा नेपाल बाहिरबाट र भित्रबाट कमजोर बनाउँछन् अनुभव सदुपयोग गर्न सकिन्छ । त्यसैले निषेधको राजनीति चटक्कै छोडेर पहिला नेपालका शक्तिहरु एक ठाउँमा आउनु पर्छ र नेपाल नीतिमा सवै शक्तिको सहकार्य बनाउन जरुरी छ । आधुनिक विश्वसँगको सहकार्य र सुरक्षित नेपाल बनाउन सफल हुन सकिन्छ । यति भनेर मदन कमरेडले घडी हेर्दै भन्नु भयो अव अर्को बसाइमा है सुनिल भन्दै हतारिँदै साइकलमा हुँइकिनु भयो ।
 

ताजा खबर