मयूरको प्वाँख र श्रीकृष्णको मुकुट 

२०७८ भदौ १४ सोमबार १३:०७:०० मा प्रकाशित

भगवान श्रीकृष्ण, अहोभाव र प्रणाम प्रभु । 

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षित जंगलवीचको हाइवे छिचोल्दै पहिलो पटक म गइरहेको थिएँ, मेरो देशको सुदूर पश्चिम ।

साथमा हुनुहुन्थ्यो, अनन्य मित्र कवि अनि पत्रकार  विष्णु निष्ठुरी । आदरणीय कविर राजा (देशान्तर साप्ताहिकका सम्पादक कविर राणा) । 

बन मन्त्रालयको गाडीमा थियौं, पूर्व पश्चिम राजमार्गको वीचमा सडकमा जीवनमै पहिलो पटक मैले मयूर पंक्षी देखें । 

‘गाडी रोकौं, हेरौं’, मैले भनें । 

अलिवरै गाडी रोकेर मयूर पंक्षी नियाल्दा संयोग कस्तो भने, उहाँले पृष्ठभागको त्यो अद्भूत पखेटा फिजार्नु भो । जैतुन वृक्ष मुनी कृष्णसारका झु्ण्ड बुरुक्क उफ्रीरहेका थिए । पहिलो पटक आफु जन्मीएको देशको सौन्दर्य देखेर म गद्गद् भएँ । 

मयूरको प्वाँखमा जीवनका सबै रंग छन् । आजसम्म मयूर प्वाँखको ठेट कलर कम्बीनेशन कसैले गर्न सकेको छैन, मैले पिता समान कलाकार मनुजबाबु मिश्रसँग यसबारेमा कुरा गरेको थिएँ । उहाँले भन्नुभएको थियो, ‘यो अस्तित्व र प्रकृतिलाई हुबहु उतार्नसक्ने (साहित्य, कला, सँगीतमा) कोही छैन, हामी त विम्ब मात्र उतार्ने हो, जुन आफैंमा झूठ हो । सत्य अभिव्यक्तिमा उत्रन सक्दैन, जब उत्रन्छ, त्यो आफैंमा असत्य भइहाल्छ )

गीता प्रेस गोरखपुरबाट अरुण कुमार सुवेदीज्यूको सल्लाहमा ‘साधक संजीवनी’ किनेपछि संयोगले मयूरको प्वाँख बेच्न राखिएको देखें र किने, मिहिन ढंगले हेर्न । 

मलाई थाहा भो, भगवान श्रीकृष्णको माथ (सिर)मा पनि मयूरको प्वाँख रहेछ । उत्कण्ठा जाग्यो, श्रीकृष्णको अध्ययन गर्ने । 

भैरहवामा हुँदा नै चोपडा साहबको ‘महाभारत’ हेरेको थिएँ, दुरदर्शन टिभीमा । सानो थिएँ, तर अद्भूत लागेको थियो, कृष्णको भूमिका । परिपक्व हुँदै गएपछि बुझ्दै गएँ ।
अहो, मयूरको प्वाँख झैं जीवनका सारा रंगलाई पोख्नुभएको रहेछ, वसुदेवले । 

बालकृष्ण । माटोको भाँडो फुटालेर बृन्दावनमा गोरस चोर्ने, तलाउमा नुहाइरहेका बालसखा नानीहरुको कपडा चोरेर आमवृक्षबाट उनीहरुको नग्न काया नियाल्ने बडा चुलबुले    कृष्ण । 

हो, तिनै कृष्णले अत्याचारी आफ्नै मामा कंशलाई ठेगान लगाए र बृन्दावनमा हावी भएको उसबेलाको सामन्तबाद सिध्याए । एउटा गोठालो, बाँसुरीको धुनमा लठ्ठ हुन्थ्यो, गौमाताहरु उनको सामु झुरुप्प हुन्थे । पुरुष भएकाले स्त्री आकर्षण हुने नै भो, इश्वरको त्यो पूर्ण अवतार धर्तीमा अवतरण भइसकेपछि को मोहित नहोला र ?

राधा सान्निध्यमा आउनु भो । सांसारिक मूलबाट निस्किएको ‘धारा’ पुनः मूलमै फर्कियो, ‘राधा’ का रुपमा । उही आत्माबाट परमात्मासम्म । राधाको सहयोग पाएपछि कृष्ण मानवका रुपमा अझ उन्नत र शक्तिशाली हुनु भो । 

महाभारत, श्रीमद् भगवत गीता, द्वारिका नगर, यदुवंशी विनाससम्मका सारा कथामा कृष्णले जीवनका सबै रंग भोग्नु भो । 

यतिबेला म, देब्रे गोडाको बूढी औंलामाथि दाहिने गोडाको कुर्कुच्चा हल्लाइरहेको छु । मदिरा विश्रामको क्षणमा कठिनाइ हु्न्छ । म कल्पना गर्न चाहिँ सक्छु कि जंगलमा वसुदेव कृष्ण पनि देब्रे गोडामाथि दाहिने गोडा हल्लाइरहनुभएको थियो । व्याधाले ठानें, त्यो कुनै चराको टाउको हुनसक्छ । हाने तीर, लाग्यो, कृष्णको गोडामा । अनि उहाँ ब्रम्हलीन हुनु भो । द्वारिका पनि समुद्रमा विलिन भो र एउटा युगको अन्त्य भो । 

भगवान बुद्धले नृत्य र रासलिला रचाएको कु्नै सन्दर्भ उहाँको जातक कथामा भेटिंदैन । प्रभु जिसस क्राइस्ट बेदनामय जीवन बोकेरै क्रसमा झुन्डीनु भो । गुरु महावीरले सास फेर्दा पनि किरा नमरुन् भन्ने उदात्त चेतना प्रवाह गर्न मुखमा मास्क (उतिबेलै) लगाउनु भो । सन्त मीरा बाइ एकतारेमा भजन गाएरै कृष्णमा लीन हुनु भो । सन्त कविर शब्दमार्फत आध्यात्मिक सन्देश दिएर जानु भो । गुरुनानक ‘एक ओमकार सतनाम’ को ब्रम्हनादको सन्देश दिएर जानु भो । ओशोले ‘नव सन्यास’ को शूत्र दिएर जानु भो । 

मलाई लाग्छ, भगवान श्रीकृष्णको जुन नदि छ, हामी सबै त्यसका प्रवाह हौं । हामी सबै उहाँकै सुदामा हौं । म धार्मिक सम्प्रदायमा विश्वास गर्दिन, आध्यात्मिक चेतमा विश्वास गर्छु । यसैले सबै दिव्य चेतनाको सम्मान गर्छु । 

श्रीकृष्ण पूर्ण अवतार हुनुहुन्छ, मयूरको प्वाँख झैं पूर्ण । 

कंशको जेलमा आज राती बाह्र बजे उहाँको जन्म हुँदैछ । हे, यमुना नदि उहाँलाइ सही सलामत यशोदा माताको काखमा लैजाउ, हे शेषनाग विराट छाताको कलेवर ओढाउ ।

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना ।
 

ताजा खबर