मड्रिडद्वारा बेटिसमाथि एक शून्यको जित

२०७८ भदौ १३ आइतबार ११:१५:०० मा प्रकाशित

रियाल मड्रिडले स्पेनिस लिग ला लिगामा रियाल बेटिस माथि एक शून्य गोलको संघर्षपूर्ण जित हात पारेको छ । बेटिसको मैदानमा भएको खेलमा रियाल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । सुरुवातमै रियालले गोलको सुनौलो अवसरको सदुपयोग गर्न सकेन ।

छैटौ मिनेटमा करिम बेन्जिमाले जुनियर भिनिसियसको पासलाई गोलमा परिणत गर्न सकेनन् । ६१ औं मिनेटमा डेनी कार्भाहालले बेन्जिमाको पासमा गोल गर्दै डेड लक तोडेका थिए । सन् २०१९  नोभेम्बर ३० यता रियालका लागि कार्भाहालको यो पहिलो गोल हो ।

सोही गोल रियाललाई साँघुरो जित हात पार्न निर्णायक बन्यो । रियाल फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएजीका स्ट्राइकर किलियन एमबाप्पे भित्राउने तयारीमा छ । कोभिड १९ का कारण ३ सय मिलियन युरो आय गुमाएको रियालले यो सिजन अहिलेसम्म फ्रि ट्रान्सफरबाट बायर्न म्युनिखका डेभिड आलाबालाई अनुबन्धन गरेको छ ।

यसका बाबजुत रियाल विश्वकप विजेता २२ वर्षीय एम्बाप्पे ल्याउने प्रयासमा छ । ट्रान्सफर डेडलाइन अर्को साता सकिँदैछ । पिएसजीले एमबाप्पेलाई नरोक्ने बताएको छ । तर पिएसजीले  रियालले गरेको १ सय ३७ मिलियन पाउन्डको प्रस्ताव पर्याप्त  नभएको उल्लेख गरेको छ । तीन खेलबाट ७ अंक जोडेको रियाल तालिकाको शीर्ष स्थानमा छ । सेभियाले एल्चेसँग एक एक गोलको बराबरी खेल्यो । 
 

ताजा खबर