लिभरपुल र चेल्सी एक-एक गोलको बराबरीमा

२०७८ भदौ १३ आइतबार ११:०८:०० मा प्रकाशित

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले एक एक गोलको बराबरी खेलेका छन् । पहिलो हाफको इन्जुरी समयमा चेल्सी दश खेलाडीमा प्रिमियर लिगका दुई पावर हाउस बीचको खेल रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । जारी सिजन चेल्सी र लिभरपुल  उपाधिका प्रमुख दावेदार हुन् ।

आक्रमक सुरुवात गरेको लिभरपुलविरुद्ध संगठित चेल्सीले अग्रता बनायो । २२ औं मिनेटमा काइ हाभर्टसले रिस जेम्सको कर्नरमा हेडर  गोल गरेका थिए । लिभरपुलले पेनाल्टीमा बराबरी गोल फर्काउनु अघि मेसोन माउन्टले चेल्सीको अग्रता दोब्बर बनाउन सुनौलो मौका गुमाए ।

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहम्मद सालाहले पेनाल्टीमार्फत गोल फर्काए । साडियो मानेको प्रहार गोल लाइनबाट बचाउने क्रममा जेम्सले हातले बल छोएका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोगपछि रेफ्री एन्थोनी टेलरले लिभरपुललाई पेनाल्टी र जेम्सलाई रातो कार्ड दिए ।

थोमस टुखेलको टोली चेल्सीले  चोटग्रस्त  बनेपछि एंगोलो कान्टेलाई गुमाएको थियो । उनको स्थानमा माटियो काभाभिच मैदान प्रवेश गरेका थिए । हाभर्टसाई  थिएगो सिल्भाले रिप्लेस गरे ।  गोलकिपर इडुवार्डो मेन्डिले लिभरपुलका भर्जिल भान डाइक, फाबिन्हो र डिएगो जोटाको प्रहार बचाएका थिए । दुवै टोलीले तीन अंक जोड्ने महत्वपूर्ण मौका गुमाए ।
 

ताजा खबर