बायर्न म्युनिखका लागि लेवान्डोस्कीको तीन सय गोल पूरा

२०७८ भदौ १३ आइतबार ११:०६:०० मा प्रकाशित

रोबर्ट लेवान्डोस्कीले जर्मन क्लब बायर्न म्युनिखका लागि ३ सय गोल पूरा गरेका छन् । बुन्डेसलिगामा गएराति बायर्नले हर्था बर्लिनलाइ ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दा लेवान्डोस्कीले  ह्याट्रिक गरे । घरेलु मैदानमा भएको खेलमा बायर्नले छैटौ मिनेटमा थोमस मुल्लरको गोलमार्फत अग्रता लिएको थियो ।

३५ औं मिनेटमा लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । यो सँगै पोलिस स्ट्राइकर लेवान्डोस्कीले बयार्नका लागि लगातार १६ औं खेलमा गोल गर्दै गेर्ड मुल्लरको नाममा रहेको किर्तिमान पनि तोडे । मुल्लरले सन १९७० मा लगातार १५ खेलमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।

४९ औं मिनेटमा जामल मुसियाले टिमका लागि तेस्रो गोल थपे । ७० औं मिनेटमा दोस्रो गोल गरेका लेवान्डोस्कीले ८४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ३३ वर्षीय लेवान्डोस्कीले  लिगमा  लगातार १३ औं खेलमा गोल गरेका हुन् । उनी सन् २०१४ मा बोरुसिया डर्टमन्डबाट बायर्न आएका हुन् ।

गत १५ अगस्टमा ७५ वर्षको उमेरमा निधन भएका गेर्ड मुल्लरले आफ्नो १५ वर्षीय बायर्न करियरमा ५ सय ९४ खेल खेल्दै ५ सय ४७ गोल गरेका थिए । बायर्न तीन खेलबाट सात अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार बेहोरेको हर्था बर्लिन पुच्छारमा छ । 
 

ताजा खबर