युनियनका पूर्वअध्यक्ष अर्याललाई पितृशोक

२०७८ भदौ १३ आइतबार १०:००:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक परेको छ ।  उनका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भएको थियो । उनी लामोसयमदेखि मिर्गाैला रोगबाट पीडित थिए ।

विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाउँ विकास समितिमा जन्मिएका स्व अर्याल पछिल्लो समय भरतपुर महानगरपालिका–१२ चितवनमा परिवारसँग बस्दै आएका थिए ।

विसं २०१५ को आमनिर्वाचनमा पिता शोभाकान्त अर्यालको प्रेरणाबाट कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका खेलेका स्व अर्याल विसं २०४६ को आन्दोलन र २०६२÷६३ को आन्दोलमा सक्रिय भएर लागेका थिए । उनी चितवनको प्रजातान्त्रिक सेनानी थिए । स्व अर्यालका श्रीमती, छ छोरा र तीन छोरी छन् ।

यसैवीच स्व अर्यालको निधनप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले दुःख व्यक्त गरेको छ । शाखाका अध्यक्ष जगन्नाथ दुलालले आइतबार शोक विज्ञप्ति जारी गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

ताजा खबर