इङ्लिस प्रिमियर लिगमा आर्सनलको खराब प्रदर्शन

२०७८ भदौ १२ शनिबार २१:४४:०० मा प्रकाशित

इङ्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शनिबार साँझ भएको खेलमा साविक विजेता म्यानेचस्टर सिटीले दश खेलाडीमा समेटिएको आर्सनल माथि ५–० गोलको प्रभावशाली जित हात पारेको छ ।

सिटीको मैदान इत्तिहादमा भएको खेलमा आर्सनलले सातौ मिनेटमानै गोल खाएको थियो । गाब्रिएल जेजुसको पासमा  इल्काइ गुन्डवानले सिटीको खाता खोलेका  थिए । १२ औं मिनेटमा फरान टोरेसले अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा आर्सनल दश खेलाडीमा  समेटियो ।

जोवावो कान्सेलोलाइ फाउल गरेपछि ग्रानिथ जाका सिधै रातो कार्ड खाँदै मैदान बाहिरएका थिए । त्यसपछि थप दवावमा आएको आर्सनल खेलमा फर्कन सकेन्  र सिटी पुर्ण रुपमा हाबी भयो । ४३ औं मिनेटमा जेजुसले गोल गरेपछि आर्सनल पहिलो हाफमानै तीन शून्यले पछि परेको थियो ।

जेजुसका लागि ज्याक ग्रिलिसले पास  उपलब्ध गराएका हुन् । ५३ औं मिनेटमा रोद्रिले टिमका लागि चौथो गोल थपे । ८४ औं मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ५–० को सहज जित हात पार्न सफल भयो ।

जारी सिजन आर्सनलको यो लगातार तेस्रो हार हो । उसले तीनमा तीनै खेल हारेको हो । सन् १९५४ यता पहिलो पटक आर्सनलले प्रिमियर लिगका तीन खेलमा हार बेहोरेको हो ।  आर्सनल तीन खेलबाट अंक बिहप्न हुँदै तालिकाको पुच्छारमा छ । सिटीको तीन खेलमा यो दोस्रो जित हो । 

ताजा खबर