भानुनगरका भवानी दाईलाई भानुभावना !

२०७८ भदौ १२ शनिबार १६:२१:०० मा प्रकाशित

भवानी घिमिरे 
भानुनगर भद्रपुर
भानु भावना !

पहिलो पटक भेट भएका नयाँ मित्रसँग उहाँको परिचय यत्ति हो । अभिनन्दनमा भन्नुहुन्थ्यो- 'भानु भावना !'

हुनुहुन्थ्यो उहाँ भानु साहित्यिक मासिकका हर्ताकर्ता संस्थापक सम्पादक । साहित्यिक अभियन्ता पनि उहाँ । झापा र इलाम मात्र होइन भारतका नेपालीभाषी भूगोलमा पसेर बसेर सर्जकहरुलाई झक्झक्याउने आदत थियो उहाँको । भाषाशास्त्री महानन्द सापकोटाको नाउँमा साहित्यिक सम्मेलन र पुरस्कार सुरु गरेर भवानी दाईले युवाहरुलाई जागरुक बनाउनु भयो । 

किन हो अचानक भद्रपुरको याद आयो र भवानी दाई पनि सम्झिएँ । 

भाई भनेर भवानी दाईले बोलाउँदा अनौठो आवाज ध्वनित हुन्थ्यो कानमा । उहाँको आवाजको 'टेक्स्चर' फरक सुनिन्थ्यो । भवानी दाईलाई नजिकबाट जान्ने सबैले यो अनौठोपन महसुस गरेको हुनुपर्छ । हत्केलामा बडो मेहनतका साथ बूढी औंलाले खैनी मोल्ने आदत थियो भवानी दाईको । बूढी औंलाको दखलले पहेंलपुर भएको मलुवा खैनी तल्लो ओठमा चेपेपछि जब भवानी दाईसँग कुराकानी हुन्थ्यो त्यो अर्कै किसिमको रोचक हुने गथ्र्यो । 

कहिलेकाहीं शुक्रबार भवानी दाई कवि गोष्ठी आयोजना गर्नुहुन्थ्यो । अवसर मिले घरमै नमिले झापा चोकको चौधरी चमेना पसलमा । एकदिन उहाँमा घरमा कवि गोष्ठी आयोजना गर्ने धुन सवार भएछ । आदेश दिनुभयो -'भाई सदा झैं आउँदो शुक्रबार पनि संक्षिप्त कवि गोष्ठी आयोजना गरेको छु, साथी भाईहरुलाई खबर गरौं ।' जमाना रोटरी फोनको थियो सम्भव भएसम्म फोनबाट नभए खबर पठाएर कविहरुलाई निमन्त्रणा पठाउनु पथ्र्यो । मेरा भागमा पनि केही कविहरुलाई खबर गर्ने जिम्मेवारी परेको थियो । शुक्रबार आयो । कविहरु धमाधम भानुनगर भवानी निवासमा भेला हुन थाले । सन्ध्याकालिन समय गोष्ठी सुरु गर्न विलम्ब हुँदै थियो । उदास मुहार लिएर भवानी दाई आँगनमा निस्कनुभयो सेतो कुर्ता र सेतै पाईजामा पहिरिएर । अनि खिन्न हुने खबर कविहरुका कानमा ठोस्नुभयो- 'आजको गोष्ठी आकस्मिक प्रतिकूलताका कारण स्थगित भयो ।'

कविहरु निराश त भए नै हतप्रभ ओठमा फिस्स उच्छवास छर्दै भवानी दाईलाई भानुभावनाले अभिनन्दन गर्दै फर्किर आआफ्ना गुँडतिर । शुष्क गलामा साँझ सबेरै घर फर्किनु कवि र पत्रकारका लागि त्यति शोभनिय कर्म नभए पनि त्यस साँझ भयो त्यस्तै ।

भएछ के भने गोष्ठीका लागि आवश्यक बन्दोबस्तीको सामग्री तयार गरेर जसै उद्घाटनको समय आउनै लागेको थियो । कतै पाहुना लाग्न जानुभएकी माताजी मेची नदीमा अस्ताउँदो घामको अन्तिम किरण तैरिँदै गर्दा आँगनमा झुल्किनुभएछ टुप्लुक्क । 

अर्धमूदित नयनले माताजीको स्वागत दर्शन गरेर भवानी दाई बाटामा धपेडी गर्दै भानुनगर आउँदै गरेका कवि सम्झेर विव्ह्ल हुनुभएछ । 

यो एउटा सम्झना भवानी दाईको । महानन्द पुरस्कार समारोहको शनिश्चरे, इलाम र दमक लगायतका संस्करणहरुमा भवानी दाईको नेतृत्वदायी भूमिकाको चर्चा गर्दा एउटा छुट्टै पहेली बन्दछ । तेस्रो आयामको रजत वर्ष कार्यक्रममा धुलाबारी हाईस्कूलको मैदानमा नेपाल र भारतका दर्जनौ कवि साहित्यकारहरुको मेला आयोजना गराउनमा समाजसेवी छविलाल खतिवडासँगै भवानी दाईको योगदान बिर्संदैन हाम्रो पुस्ता । 

एकदिनको शुक्रबार भवानी दाईले फोन गर्नुभयो मेरो अफिसमा र भन्नुभयो- 'भाई भोलि शनिबार पनि हो बिहानको भोजन सँगै खानेगरी भानुनगर आउनुपर्यो ।' 

गएँ बिहानै दुइदशक पुरानो एटलस साईकल पेल्दै चन्द्रगढीबाट भानुनगर म ।
 
केही भलाकुसारी भएपछि भन्नुभयो- 'भाई एउटा जिम्मेवारी सुम्पिन चाहन्छु ।'

अन्यमनस्क मुद्रामा म मौन बसें । उहाँले नै मौनता तोड्नुभयो र फेरि भन्नुभयो- 'भाई भानु हेर्नुपर्यो।' भवानी दाई झापा छोड्ने मूडमा पुग्नभएको थिएछ । भानु साहित्यिक मासिकको सम्पादनको जिम्मेवारी मेरो काँधमा सार्न चाहनुहुन्थ्यो उहाँ । 

म आफैं झापाको बसाई टुंग्याएर घर फर्किन तयार भैसकेको थिएँ इलाम । यही कुरा उहाँलाई सुनाएँ । उहाँ केही खिन्न देखिनुभयो तर गुनासो भने गर्नुभएन । 'ठिक छ तर अब विकल्प खोज्नुपर्ला' मात्र भन्नुभयो । खानपिन सकेर म विदा भएँ । भवानी दाई आदिकवि भानुभक्तको अर्धकदको शालिकसम्म मसँग आएर खैनी किन्न पान पसलतिर लाग्नुभयो । म बढें चन्द्रगढी डेरातिर । 

पञ्चायती शासनको जगजगी भएका समयमा पनि प्रशासन र स्थानीय निकायलाई प्रभावमा पारेर साधन स्रोत जुटाएर साहित्यिक जागरणको कामलाई निरन्तरता दिने भवानी दाईको योगदान कसले पो भूल्न सक्ला र । 

काठमाडौं पस्नुभयो भवानी दाई । भेट भैरहन्थ्यो । भानुनगर नफर्किन भवसागरबाट विदा हुनुभयो उहाँ । आज झल्झली सम्झँदा पनि भवानी दाईलाई भानुभावनाले अभिनन्दन गरिरहन मन लागेको छ । भानुभावना भवानी दाई !

झापाले मलाई धेरै शुभेच्छु अग्रज र मित्रहरु दियो । पत्रकार, सर्जक, समाजसेवी, राजनीतिक समाज र अरु अनेक क्षेत्रका असल मित्रहरु दियो र दियो ठूलो क्षितिज । जसले मलाई पत्रकारिता पेशामा कावा खान सिकायो अघि बढ्न ठूलो धक्का पनि दिएर पठायो ।

साहित्यकार कृष्ण धराबासी र म एउटै कोठामा बस्यौं । मैत्री टोलबाट प्रधान लज पछाडी डेरा सर्दाको रोचक कथा पनि सम्झनामा सँगालेको छु । पत्रकार भरत भूर्तेल दाई र धराबासी दाई मेरा अभिभावक हुनुहुन्थ्यो झापामा । साथमा हुनुहुन्थ्यो पत्रकार तारा बराल जसको सम्पादनमा निस्कने साप्ताहिक बिचारको म सहसम्पादक थिएँ मैत्री टोल चन्द्रगढीमा । तारा दाईको सम्पर्कको फराकिलो समाजमा चिनिन पाएँ । उहाँ अमेरिकामा रमाईरहनु भएको छ । धराबासी फर्किएर अमेरिकाबाट काठमाडौंमा जम्नुभएको छ । पत्रकार मदन ढकाल, कविहरु हिरा आकाश, अमृतलाल श्रेष्ठ, केशब आचार्य, शिवशंकर थापा, पत्रकार गोबिन्द चन्द्र क्षेत्री, चिन्तामणि दाहाल लगायतका प्रियजन कसरी बिसौं म । मदन दाई, हिरा दाई र अमृत दाईले हामीलाई सदाका लागि छाडिसकेका छन् । खुबै सम्झन्छु हिरा दाईलाई ! उ त मेरो ह्रदयभित्रको मित्र नै थियो । भरत भूर्तेल दाई र मैले काठमाडौं बस्न एउटै रात्री बस चढेर बिर्तामोडलाई बाईबाई गरेका थियौं । उहाँले असमयमै संसार नै छाड्नुभयो ।

शुक्रबार धराबासी दाई र म शनिश्चरे घर जान्थ्यौं कहिलेकाहिँ । चन्द्रगढीबाट लोकल बस चढेर बिर्तामोड पुग्दा ईंटाभट्टाबाट निस्कँदै गरे झैं निथ्रुक्कै हुईन्थ्यो पसिनाले । अनि शनिश्चरे जाने पुराना रसियन जिपतिर बढ्थ्यौं । जिपको हुट भरिएर अगाडि बनेटको शिशा समेत छेलिनेगरी पेसेञ्जर भरिएपछि जिप चिप्लेकिराको गतिमा बढ्थ्यो शनिश्चरेतिर । चालकले बाटो देखेनन् भने पेसेञ्जरलाई थर्काउँथे- 'ओ भाई, अलिकति खुट्टा फारेर बसौं न हौ बाटो देखिए ल !' शनिश्चरे चोकमा उत्रिँदा चन्द्रगढीबाट आउँदा भन्दा केही कम भिजिन्थ्यो पसिनाले । बढो रोमाञ्ति हुन्छ मन ती दिनको सम्झनाले ।

शुक्रबारे कवि गोष्ठी हुन्थ्यो बिर्तामोड कृषिथोकको देबी प्राथमिक विद्यालयको सभाकक्षमा । राजनीतिज्ञ दाजुभाई रामबाबु प्रसाईं र सीके प्रसाईं, समालोचक गणेश बहादुर प्रसाईं, दानियल खालिंग, भवानी घिमिरे, गोपालकुमार बस्नेत जस्ता सुपरिचित व्यक्तिहरु पनि सुनाउनुहुन्थ्यो कविता । अरु हामी युवा पुस्ताका त हुन्थ्यौं नै । शिक्षासेवी लेखनाथ भट्टराईको नेतृत्वमा त्यो देबी प्राबिले कायाकल्प गरे छ र भएछ देबी उच्च माध्यमिक विद्यालय ।

सुपरिचित गीतकार शिवशंकर थापा दाईको बिर्तामोडको निवास प्राय संगीत र साहित्यको रस समेतले लछेप्रै भिज्ने गथ्र्यो । 'विधुवाले सिन्दूरको रहर' र 'भन्थिन मेरी उनी' जस्ता वास्तवमै कालजयी गीत शिव दाईका सिर्जना हुन् ।

झापा अब माप्पाको भएको छ । सर्जकहरु तितरवितर भएका छन् । सिर्जनालाई व्यापार व्यवसायले उछिन्दै गएको देखिन्छ । नयाँ पुस्ता निस्क्रिय नै त छैन तर गजेटले ज्यादा भुलाउन थालेको छ । लोकप्रिय गजल सर्जक केशव आचार्य फेसबूकमा लेख्न अभ्यस्त हुनुभएको छ । सिर्जनाको भावना बाँझो नै त भैहालेको छैन । तर थाक्दै गएको चैं हो जस्तो लागेको छ । सञ्चारकर्ममा तल्लिन चन्द्र भण्डारीले पनि भवानी दाईकै झल्को दिनेगरी नेपाली भाषी भारतीय भूमिको फन्को मारेर नेपाली संगीत र साहित्यको शीर ठड्याउन ठूलो योगदान गरिरहेको पाउँदा भने मन हर्षले गदगद बनाउँछ । 

सिर्जना गर्ने भावना नमुर्झाओस् भन्ने कामना हो । मनमा भवानी दाईको धेरै सम्झना गढेर बसेको रहेछ ।


अब कसले भन्ला भाई । भानुभावना भवानी दाई !!
 

ताजा खबर