चेल्सीका मिडफिल्डर जर्जिन्होलाई युएफा वर्ष खेलाडीको अवार्ड

२०७८ भदौ ११ शुक्रबार १०:४२:०० मा प्रकाशित

प्रिमियर लिग क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्जिन्होले युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानबुलमा गएराति च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा विजेता घोषणा गरिएको हो । इटालीले  इङ्ल्यान्डलाई पराजित गर्दै युरोकपको उपाधि जित्दा जर्जिन्हो टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।

उनले म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना र क्लबका मेट एंगोलो कान्टेलाइ पछि पारेका हुन् । युरोकपमा सहभागी २४ देशका प्रशिक्षक, समूह चरण खेलेका च्याम्पियन्स लिग र युरोपा लिग क्लबका ८० प्रशिक्षक र युएफाका ५५ सदस्य राष्ट्रका एक एक पत्रकारको मतका आधारमा विजेता छानिएको हो ।

जर्जिन्होले १ सय ७५ अंक प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका डि ब्रुयनाले १ सय ६७ र कान्टेले १ सय ६० अंक पाए । जर्जिन्होले  यो वर्ष चेल्सीका लागि च्यामिपयन्स लिग पनि जिते । फाइनलमा चेल्सीले सिटीलाई पराजित गरेको थियो । क्लब र देशका लागि ५६ खेल खेल्दै जर्जिन्होले ९ गोल गरेका थिए ।

चेल्सीकै इडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर, सिटीका रुवेन डियास उत्कृष्ट डिफेन्डर, कान्टे उत्कृष्ट मिडफिल्डर र जर्मन क्लब बोरुसिया डर्टमन्डका अर्लिङ हालान्ड उत्कृष्ट फरवार्ड चुनिए । चेल्सीका थोमस टुखेल उत्कृष्ट प्रशिक्षक बने ।

टुखेलले इटालीका रोबर्टो मान्सिनी र सिटीका पेप ग्वार्डिवालालाई उछिनेका हुन् । डेनमार्कका कप्तान साइमोन केर र मेडिकल टिमलाई युरोकपका बेला क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निभाएको युएफा प्रसिडेन्ट अवार्ड प्रदान गरिएको थियो । 

ताजा खबर