पिएसजी र म्यानचेस्टर सिटी आमने सामने

२०७८ भदौ ११ शुक्रबार १०:३९:०० मा प्रकाशित

लियोनल मेसीको पेरिस सेन्ट जर्मेन पिएसजी र पेप ग्वार्डिवालाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमानै आमनेसामने हुने भएका छन् । टर्कीको इस्तानबुलमा गएराति सार्वजनिक भएको च्यामिपयन्स लिगको ड्रमा दुई हेभीवेट क्लब पिएसजी र सिटी एकै समुह ए मा परेका हुन् ।

गत सिजन सिटी सेमीफाइनलमा पिएसजीलाई समग्रमा ४–१ गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । फाइनलमा सिटीलाई पराजित गर्दै चेल्सिले उपाधि जित्यो । अर्जेन्टाइन  मेसी यसै सिजन बार्सीलोनाबाट पिएसजी गएका हुन् ।

सिटी र पिएसजी बीचको खेलमा मेसी र उनका चीर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको पुनर्मिलन हुन सक्ने सम्भावना पनि उच्च छ । युभेन्टसका पोर्चुगिच स्ट्राइकर रोनाल्डो, सिटी आउने लगभग पक्का भइसकेको समाचार बाहिर आएको छ । सिटीले च्याम्पियन्स लिगमा पिएसजीसँग अहिलेसम्म हार बेहोरेको छैन ।

तर मेसीले सवैभन्दा बढी च्याम्पियन्स लिगमा सिटी विरुद्धनै गोल गरेका छन्  । उनले ६ खेलमा ६ गोल गरेका छन् ।  पिएसजी र सिटी दुवै पहिलो च्याम्पियन्स लिग उपाधिको खोजीमा छन् । जर्मन क्लब लाइपजिग र क्लब बर्गस पनि समुह ए मा नै छ ।

स्पेनिस च्याम्पियन एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो र एसी मिलानसँगै समुह बी मा परेका छन् । यो समूहलाई कठिन समूहका रुपमा हेरिएको छ ।  सन् २००५ मा लिभरपुलले एसी मिलानलाइ पराजित गर्दै उपाधि जितेको थियो ।

२००७ को फाइनलमा एसी मिलानले लिभरपुलसँग बदला लियो ।   रियाल मड्रिड रहेको समूह डी मा शाख्तर डोनेस्क, इन्टर मिलान, माल्डोभान क्लब शेरिफ टिरास्पोल रहेका छन् ।

 जर्मन जाइन्ट बायर्न म्युनिख, बार्सीलोना, बेन्फिका  र डाइनामो किभ समुह इ मा छन्  । साविक विजेता चेल्सिले समूह एच मा इटालियन क्लब युभेन्टस, जेनिथ सेन्ट पिटर्सबर्ग र माल्मोसँग खेल्नेछ । समुह एफमा रहेको म्यानचेस्टर युनाइटेडले स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियाल पाएको छ ।

जुन  गत सिजनको युरोपा लिग फाइनलको रिम्याच पनि हो । जसमा युनाइटेड पराजित भएको थियो।  एटालान्टा र योङ ब्वाइज पनि यसै समूहमा छन्  । बोरुसिया डर्टमन्ड, स्पोर्टिङ लिस्वन, आयाक्स र बेसिक्टास समुह सीमा रहेका छन। समुह जी मा लिल, सेभिया, साल्जबर्ग र उल्भ्सर्ग परेका छन् । समुह चरणका खेल १४ सेप्टेम्बरबाट सुरु हुनेछ । फाइनल खेल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा २८ मे मा हुनेछ । 
 

ताजा खबर