यसरी गरियो पारा ओलम्पिकको औपचारिक उद्घाटन

२०७८ भदौ ९ बुधबार १३:२५:०० मा प्रकाशित

विविधता र समावेशताको संदेश दिदै  टोकियो पारा ओलम्पिक औपचारिक रुपमा  सुरु भएको छ । उद्घाटन समारोह भएको टोकियोस्थित ओलम्पिक स्टेडियमलाई  विश्वभरका एथ्लिटले आशा, विविधता र एकताले भरिदिएका थिए । सानो एउटा मात्र पंखा भएको विमानको कथा उद्घाटन समारोहको मुख्य आकर्षणका रुपमा रहेको थियो । जापानका सम्राटले पारा ओलम्पिक औपचारिक रुपमा सुरु भएको घोषणा गरेका थिए ।  जिवन्त उद्घाटन समाारोह सँगै टोकियो पाराओलम्पिक आधिकारिक रुपमा सुरु भएको छ  ।

वि ह्याभ विङ्स अर्थात् हामी सँग पंखा छ नाम दिइएको समारोहले एक सय ६० भन्दा बढी देशका करिब ४ हजार ४ सय पारा  एथ्लिटलाई स्वागत गरेको थियो । यो सँगै टोकियो, दुई पटक पाराओलम्पिक आयोजना गर्ने पहिलो शहर बनेको छ । यसअघि टोकियोले सन १९६४ को पारा ओलम्पिक पनि आयोजना गरेको थियो । आतिशबाजी, नृत्य, गायिकी र भावनात्मक रुपले भरिएको कलात्मक प्रस्तुतीले समारोहलाई आकर्षक बनाएको थियो ।

उड्ने सपना त्यागी सकेको एउटा मात्र पंखा भएको सानो विमानको कथाले विश्व माझ सकारात्मक संदेश दियो । हिम्मत हारिकसकेको विमान, आफ्नो पंखा फैलाउदै जीवन बाच्ने यात्रामा उडेको दृश्यले सवैलाइ भावुक बनाएको थियो । एउटा मात्र पंखाका कारण आफु उड्न सकिदन भनेर सो विमानले आफ्नो सपना परित्याग गरेकी थिइन्  । तर साहस र हिम्मतले जस्तो सुकै सपना पुरा हुन्छन भन्ने संदेश यो नाटकले दिएको थियो ।  फरक क्षमता भएका कलाकारले नाटक प्रस्तुत गरेका थिए । 

समारोहलाइ सम्बोधन गर्दै अन्तराष्ट्रिय पाराओलम्पिकका अध्यक्ष एन्ड्रिउ पारसन्सले प्रतियोगितासम्म आइपुग्न खेलाडीले रगत, पसीना र आंशु बगाएको उल्लेख गरे । अब विश्वलाई आफ्नो क्षमता, कौशल र दृढ संकल्प देखाउने  समय भएको उनको भनाइ थियो ।

उनले खेलकुदबाट समाज परिवर्तन गर्न सकिने धारणा राखे । टोकियो ओलम्पिककी प्रमुख हासिमितो सिकोले महामारीका बीच प्रतियोगितामा सहभागी खेलाडी प्रति आभार व्यक्त गरिन् । उनले भनिन–  विभिन्न समस्यका बाबजुत पारा एथ्लिटले देखाएको साहसप्रति उच्च सम्मान छ ।

 मार्चपास सवैभन्दा पहिलो शरणार्थीको टोली स्टेडियम प्रवेश गरेको थियो । परेडमा कीर्तिमानी ४ हजार ३ सय तीन जना एथ्लिटको सहभागिता जनाए  जसमा १ हजार ८ सय ५३ महिला र २ सय ५४ आयोजक जापानका खेलाडी समावेश थिए । भुटान, माल्दिभ्स, पाराग्वे, ग्रनाडा र सेन्ट भिन्सेन्टले पारा ओलम्पिकमा डेब्यु गरेका छन् । तालिवानको सत्ता कब्जापछि अफगानिस्तान  जापान जान सकेन । उसका दुई खेलाडीले पारा ओलिम्पकमा भाग लिने तालिका थियो ।

अफगानिस्तान सहभागी नभएपनि एकताको लागि उसको झन्डा मार्चपासमा सहभागी गराइएको थियो । नेपालबाट तेक्वान्दोकी पलेशा गोवर्धनले मार्च पासमा झन्डा बोकेकी थिइन् । टोकियो पारा ओलम्पिकमा भाग लिने पलेशा एक्ली नेपाली खेलाडी हुन् । मार्चपासको अन्त्यमा ओयोजक जापान प्रवेश गरेको थियो । यो पटक २१ देशले पारा ओलम्पिकमा भाग लिएनन् ।

५ सेप्टेम्बर सम्म चल्ने प्रतियोगितामा १ सय ६२  देशका ४४ सय बढी एथ्लिटले २२ खेलमा ५ सय ३९ पदकका लागि प्रतिस्पर्धा गर्नेछन । ग्रिष्मकालिन ओलम्पिक सकिएको १५ दिन पछि सुरु भएको पारा ओलम्पिक सफलतापुर्व सम्पन्न गर्न जापान सामाु चुनौती छ । कोभिड संक्रमणको दर कम नभएकाले सवै खेल विना दर्शक गरिनेछन । उद्घाटन समारोहमा पनि दर्शकलाइ प्रवेश अनुमति दिइएको थिएन । 

ताजा खबर