पूर्वसुरक्षाकर्मी परिषदद्वारा प्रधानमन्त्री समक्ष १९ बुँदे ज्ञापनपत्र पेश

२०७८ भदौ ८ मंगलबार १५:२७:०० मा प्रकाशित

काठमाडौं । । नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार पत्रकार सम्मेलन गरी पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पूर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्री समक्ष बुझाएको पनि जानकारी दिएको हो ।

सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएकोे बताए ।

उनले प्रधानमन्त्रीले आफूहरुको मागको सम्बोधन नगरे जनतासामु जाने स्पष्ट पारे । श्रेष्ठले भने,‘देशमा सनातन हिन्दुराष्ट्र कायम गरिदेउ गोली र बारुद होइन् भनेका छौ ।’ कार्यक्रममा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको उपाध्यक्ष पुष्पाखर गौतमले स्वागत गर्दै सुरक्षाकर्मीहरुको पूर्व सुरक्षाकर्मीहरुका हकहितमा काम गरिरहेको बताए ।

उनले सरकारलाई माग पुरा गर्न झक्झकाउन सबैलाई आग्रह समेत गरे । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष केवी राउतले पूर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी दिए । उनले प्रधानमन्त्रीसमक्ष पेश गरेका १९ बुँदे मागहरु पढेर सुनाएका थिए । राउतले आफुहरु कुनैपनि पार्टीको समर्थनबिना अगाडि बढिरहेको बताए ।

उनले आफूहरु चितामा नपुगेसम्म सुरक्षाकर्मी भएको भन्दै माग सुनुवाई हुनेमा आशावादी रहेको बताए । कार्यक्रममा द्वन्द्वपीडित तथा एकल महिलाको तर्फबाट प्रतिनिधित्व गर्दै हिरामणी अधिकारीले आफुहरु पूर्व सुरक्षा परिषद्मा पनि फरक क्षमता भएको मध्येमा पर्ने बताए । उनले भने,‘राज्य सत्ताले खटाएको स्थानमा जाँदा घाइते भएका हौं । हामी पीडक होईनौं, पीडित हो । हामीले लडेर शेरबहादुर देउवा प्रधानमन्त्री हुन पाएका छन् ।’ उनले द्धन्द्ध पीडितलाई आवासको व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरे ।

नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य तथा पूर्वसुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार ईन्द्रबहादुर दाहालले द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीहरुको अवस्था अहिले पनि त्यस्तै भएको बताए ।

पीडित पूर्व सुरक्षाकर्मीहरुको हकहितको लागि आज ज्ञापनपत्र बुझाएको बताए । प्रधानमन्त्रीसमक्ष एमसीसीलाई तत्काल कार्यान्वयन नगर्न पनि आफूहरुले आग्रह गरेको उनले बताए । अहिलेका सुरक्षाकर्मीहरुलाई आफूहरुजस्तो बेवारिशे अवस्थामा नपुग्नलाई अहिलेदेखिनै सोच्न आग्रह गरे ।

पूर्व डिआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सुर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिएपनि वास्तवमा संगठित भएको नपाइएको गुनासो पोखे ।

उनले पूर्व प्रहरीको ३ वटा संगठन भएपनि सबै राजनीतिमा लिप्त भएकोले आफू पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा लागेको बताए । नेपाली सेनाका पूर्वसहायक रथी तथा परिषद्का सल्लाहकार डा. प्रेमसिंह बस्न्यातले देशमा व्याप्त भ्रष्टाचारको सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिए । एमसीसी कुनै हालतमा पारित गर्न नहुने उनको भनाई छ ।

बस्न्यातले भने,‘नेपालमा एमसीसी ल्याइयो भने नेताहरुलाई मोसो लगाएर सडकमा ल्याउनुपर्छ ।’ सबै धर्मलाई सम्मान गर्ने बताउँदै उनले धर्मजस्तो पवित्र संस्थाले राजनीति गर्न नहुने धारणा राखे ।

ताजा खबर