भक्तपुरको बिगत फर्केर हेर्दा

२०७८ भदौ ७ सोमबार १२:१२:०० मा प्रकाशित

२०४५साल श्रावण १६ गतेदेखि म भक्तपुरको बासिन्दा बनें  । तीनताका पञ्चायती शासन थियो । राजनैतिकरुपमा यहाँका अन्य बिचारधाराका मानिसहरूलाई हेर्ने प्रशासनिक शैली र नजर नकारात्मक थियोे । खासगरी ऐलेको मजदुर किसान पार्टीका अर्थात् कामरेड रोहितको पथ समाउनेहरूलाई । तर मैले जान्दा ऊ बेला ७५ प्रतिशत यहाँका रैथानेहरू उनकै बाटोमा थिए । किसान र अधिकांश मध्यमबर्गीय अनि निम्न मध्यमबर्गीय नागरिकहरू । जग्गा धनी को हो ? चिनिदैन थियोे, चिनिन्थ्यो किसान वा मोही मात्र । तसर्थ कुनै जग्गा जमिनसँग सीमा, सम्झौता गर्न परे, किन्न परे मोहीलाई नै समात्नु पर्दथ्यो, त्यो यद्यपि कायमै भए पनि जग्गा दलालहरूका कारण वर्तमान अवस्थामा भने जग्गा धनीहरू नै अघि सर्ने अवस्था बढेको देख्छु म । तात्पर्य जोतलाई मान्यता दिने साँच्चिकैको भूमिसुधार थियोे त यहाँ थियोे । जसकाकारण किसानहरूको साँच्चिकै वर्तमानसम्म आइपुग्दा जीवनस्तर उठेको छ अबका दिनहरूमा नढल्ने गरी ।

आफ्नोे काम काठमाडौं भएको कारणले पनि मेरो बसाउठा साथीभाइ यता नगरको बजारतिर मैले बढाउन सकिन । मेरो एकदुई मित्रहरूमा कथाकार ध्रुव मधुकर्मी, गैरसाहित्यकार ब्यापारी राजेन्द्र कर्माचार्य, अनि कथाकार रत्न कोजुलाई धेरै अघि कथा मार्फत चिनेको । गैरसाहित्यकार पुष्पलाल बल, हरि कृष्ण भुजु, स्व.विष्णु कायस्थ, वलराम कायस्थ भाइ नन्दराम कायस्थहरू सिमित मित्रहरूसँग मात्र अलि बढी बसाउठा भयो । आफू बसेका वरिपरिका किसान साथीहरू, डकर्मी, सिकर्मी लगायत दुधपाटीका र केही भारवाचोका अनि केही बंश गोपाल, सुकुल ढोकाका ब्यापारीहरूसँग मात्र चिनाजाना भयो । कर्मथलो यतै भएको भए धेरैसित चिनाजाना हुनेथियो तर त्यसो हुन सकेन किनकि तीनताकाको ट्रलीमा बिहान काठमाडौं लाग्यो अनि राति आठ नौ बजे उही ट्रली समात्यो अनि बिस्तारै बिस्तारै बंसगोपालको उकालो चड्दै चड्दै दुधपाटी अनि बासस्थान पस्यो सुत्यो अनि बिहान हिजोकै रुटिन । अचम्मले बनेको मल्लकालमा यो नगर । ठाउँठाउँमा शहर पस्ने ढोकाहरू छन्, चारैतिर अलिअलि उकालो हुँदै बाटो ढोकासम्म आउने अनि शहर पस्ने । ऊ बेलाको सुरक्षाको हिसाबलाई ध्यान दिएर बनाएको शहर । त्यो बेला विश्वसँग कुनै कनेक्सन नहुँदा पनि रोम साम्राज्य र अन्य कतिपय संभ्रान्त राज्यहरूको सुरक्षासँग मिल्दोजुल्दो । चीनको ग्रेटवाल पनि सायद सुरक्षाकै हिसाबले उठाइएको होला । अनि यो शहरका वरिपरिका किल्लाहरू, उकालाहरू र ढोकाहरू पनि सुरक्षाकै रुपमा उपमेय नमूना बनेर बिश्वमा अग्लिएका छैनन् भन्न सक्ने ठाउँ छैन ।

२०४८सालको आषाढ महिनामा हुने त्यतिबेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा म प्रथम भएपछि धेरै साहित्य गोष्ठीमा भाग लिइयो । त्यही क्रममा यता भक्तपुरका साहित्यकारहरू कासिराम विरस, सुरेन्द्रलाल भुजु, चङ्कि श्रेष्ठहरूको ठूलो युवा जमातका केही साहित्य गोष्ठीमा म पनि भागलिन निम्तो आउने भएकाले अलिअलि यता भक्तपुरका साथीहरूले चिनेको बाहेक त्यस्तो अन्तरङ्गी साथी मैले कोही बनाउन सकिन केवल ध्रुव मधिकर्मी र कासीराम बाहेक । अलि नगरबाहिर भक्तपुर निवासी पत्रकार साथी अक्रुर न्यौपाने पनि मेरा पुराना साथी अन्तरङ्गी । 

ध्रुव मधिकर्मीलाई पाठकको गणितले मैले २०३७/३८ देखि नै जानेको । पछि भक्तपुर बस्नासाथ वहाँको घर खोज्दै म पुगें । वहाँ पनि म कहाँ बराबर आउने, साहित्यिक पत्रिका आरोहण प्रकाशित गर्ने, मेरो कविता पनि छापिने भएकोले वहाँसँग भने नजिक नै थिएँ र छु पनि । पछि २०५०/५१मा त्यो साहित्यको पत्रिका आरोहण रेडियो संञ्चारकर्मी भएकाले प्रकाशन गर्न, अनि साहित्यिक पत्रिका सेवामुखी भएकोले त्यो संस्थाले अझैसम्म कासीरामको सक्रियतामा कार्य गरिरहेकैछ। त्यतिकै बस्न नसक्ने स्वभाव भएको कारण वहाँ लगायत/काशीराम, बिरस, सुरेन्द्र लाल भुजु, चङ्कि श्रेष्ठको  भएर भक्तपुर साहित्यिक समाज खोलेर साहित्य गोष्ठी भक्तपुरका गाउँगाउँमा गर्ने फुर्तिलो समाज निर्माण गरि धेरै श्रृङ्खला चलाएर त्यो संस्थाले अझैसम्म कासीरामको सक्रियतामा कार्य गरिरहेकैछ। तत्पश्चात् मधिकर्मी हाल सिर्जनशिल साहित्यिक अभियान चलाइरहेको परिप्रेक्ष्यमा कोरोनाका कारण त्यो पनि हाल चलाउन सक्ने कुरै भएन । तसर्थ पनि मेरो भक्तपुरका रैथाने साहित्यकारहरू बीच खासै बाक्लो संबन्ध बन्न सकेन यसमा खास गरि ब्यस्तताका कारण पनि सभा समारोह, गोष्ठीमा म कमै पुग्ने मान्छे अनि नयाँहरूलाई र नयाँहरूसँग केवल पाठककै हिसाबले सम्बन्ध बन्ने कमजोरी २०६५बाट मेरो आफ्नो सक्रियतामा कमि आएर पनि हो । यद्यपि मैले लेख्न र छाप्न भने कहिल्यै पनि छाडेको छैन । प्रत्येक बर्ष गरिमा, मधुपर्क फाट्टफुट्ट निजी क्षेत्रका साहित्यिक पत्रिका, कान्तिपुर , नागरिक लगायतमा छापिएकै छन् । ऐले पनि डिजिटल पत्रिकाहरूमा छापिइ नै रहन्छन् ।

अब साहित्य गोष्ठीहरूमा सक्रिय बनेर कर्म गर्ने, भक्तपुरका मन्दिरका टुँडालमन्तिर बसेर, कविता बाचन गर्ने योजना बुन्दाबुन्दै कोभिडरुपी राक्षसले पिरोलिहाल्यो । एकदिन त यो जान्छ भन्दाभन्दै पनि सबैले कोरोना कोरोना रामनाम जपेर यसलाई भगवान बनाइयो । जति जप्यो उ त्यति नै मान्छेले मान्छेका अवचेतन मस्तिष्कमा नयँ नयाँ सफ्टवेयर सिर्जना गरेर बस्यो अब पुरै सिद्ध भएको भगवानरुपी राक्षस नयाँ कम्युटर बिगार्ने भाइरस बनेर हाबी भयो अब मानसको मस्तिष्कमा राज गरेको यो खतरनाक रोगले कहिले छाड्छ होला भनेर सबै क्षेत्र, ब्यवसायका मान्छेले सोच्नै पर्ने बाध्यता समयले ल्यायो । भोलि के होला होइन एकैछिनमा के भैजाला कतै जीवनै पो गइजाला कि ? भनेर बाटोमा हिँडिरहेको मान्छे पनि डराँउछ । कारमा सवार गरिरहेको मान्छे पनि डराँछ । गाई बस्तु बाँधिए झैँ बाँधिएको छ मान्छे अनि गाईबस्तुमा लाग्ने खोर्याँत नामक रोग चर्किएको छ समय । ऐले मान्छेका लागि बडो डरलाग्दो समय । संसार ठप्प हुने कस्तो कस्तो ? अनि टुँडालका सपनाहरू टुँडालमै झुन्डिएर बस्ने नै भयो ।

अचम्मका छन् भक्तपुरका हरेक भवनका मन्दिरका टुँडालहरू । एउटै चित्रमा अनुसन्धान गरेर बिद्यार्थी बिद्यावारिधि लिन सक्छ । एक साहित्यकार भावुकताकासाथ कथा, कविता , निवन्ध, उपन्यास दौडाउन सक्छ, बुन्न सक्छ र कुँद्न सक्छ । यस्तै चित्रकारले मुर्तता अमुर्तता खोज्न सक्छ, सिक्न सक्छ, रिमिक्स गर्न सक्छ अनि अनि राजनीति गर्ने ऐले वर्तमानमा सत्तासिन खुराफातहरूले पनि ती निर्मल र मनोहर साजसज्जा भित्रै उसको भित्रको पाप धुनसक्छ , पखाल्नसक्छ, सायद शकुनिहरू त्यस्तो कलालाई मेट्न सक्छन् बेच्न सक्छन् कति कति बेचिएका कथाहरू पनि नसुनिएका होइनन् । यद्यपि भक्तपुरले यस्ता बेचिनेहरूको बिरोध पनि खरै रुपमा गरेको बिगत छ नयाँ पुस्ताले ज्ञात गर्नुपर्ने । २०६३साल पछि र अरू पछि नेपालका परिवर्तनहरू अभिशाप ठहरिरहेको बर्तमानमा भक्तपुर नगरलाई कुनै फरक परेको नदेखिनुले कानुनी दस्तावेजहरू केवल साधनहुन् साध्य त नेत्रित्वको सोच र कर्म भनेर भन्न सकिन्छ ।

भक्तपुरका अनुपमेय सँस्कृतिहरूको बिषयमा त धेरै गंभीर अध्ययन गर्नै पर्छ लेख्न, छुन अनि पर्गेल्न यो त केवल सतहमाथि देखिने बिस्केट जात्रा, गाईजात्रा लगायतका भक्तपुरले चलाएका, चलाईरहेका विविध परम्परा, संगीत अनि धुनहरूको नादहरूको केवल कान नाप्न आउने झञ्कार मात्रै हुन् । प्रत्येक बर्ष नेपाल संवत् को उत्सव “भिन्तुना” भक्तपुर बडो रमाइलोसँग मनाउँछ । नेपाल भाषाको साहित्य गोष्ठी हुन्छ र नेपाल भाषाका कविहरू कवित बाचन गर्छन् ।

यो नगरमा अब्बल गीतकारहरू पनि छन्, जस्तो रामगोपाल आशुतोष अरु धेरै छन् । गायकहरू पनि पुरानामा दिपक जङ्गमदेखि लिएर अति नयाँमा गायक रोसन धौबडेल सम्म । भनिन्छ नाट्य कलाका प्रवर्तक स्वयं शिव र उनको नाम नटेश्वर अनि नाचको नाम ताण्डवनृत्य यसबाट उत्पन्न हुने रेज्लाई भारतीय पाण्डा भनिने लेखकले “मेटा फिजिक्स” सँग तुलनात्मक वैज्ञानिक अध्ययन गरेर प्रत्येक कस्मिक रेज्लाई वैज्ञानिक संज्ञा दिँदै पुस्तकको नामनै मेटालाई माया भनेर “माया फिजिक्स” राखेका छन् ।

भक्तपुर नगरपालिकाबाट प्रकाशित हुने मासिक पत्रिका भक्तपुर बर्ष–३७–२०७७ को कार्तिक अंकमा डा.बलराम कायस्थले लेखेकाछन् । बत्सलादेबीको मन्दिर लोहँदेग नेपालभाषा तथा स्थानीय बासीहरूको भाषामा भनिन्छ एवं यहाँ नित्य पुजा र बार्षिकपुजा गर्दा नृत्यनाथको नामले गरिन्छ । यसबाट हाम्रो देशमा नाच गानको उद्गम स्थल नै भक्तपुर रहेछ भन्ने थाहा हुन आउँछ तसर्थ भक्तपुर नाचगान, भजन, किर्तन संगीतका क्षेत्रमा अघि हुने नै भयो । नगरका भित्रका बजारहरूमा प्रत्येक चोक वा गल्ली जहाँतहाँ किर्तन भजन गर्ने पाटि जस्ता सतलजहरू देखिन्छ र मानिसहरू बसेर संध्या किर्तन नित्य गरिरहेको पाइनुले पनि साहित्य यहाँका हरेक मानिसमा,ढुङ्गा ढुङ्गामा र माटो माटोमा कुँदिएक्को छ भन्ने आभाष हुन्छ ।

“(नको अर्थ फलाम पनि हो । – त्यहाँ फलामको खानी छ भन्ने सुनेको छु । नःपुखुको उत्तरपट्टि ओरालोको पुछारमा हाकुफो हिति (कालो धारा) छ । त्यहाँको पानी तताउँदा पूरा कालो हुन्छ । )–“ रामगोपाल आशुतोष ।

यस्ता रहस्यमय गाथाहरू यहाँ कति होलान् । पानी धाराबाट तताउँदा कालो हुने कुन क्यामिकलले काम गर्छ यो विज्ञानको बिषय भयो । यद्यपि कवि आशुतोषले भन्नु भएको अनुसार सायद आइरनको मात्रा बढी भएको खण्डमा नै पानी कालो हुँदो हो ।  
 

ताजा खबर