झापामा एकै परिवारका तीन जनाले गरे झुण्डिएर आत्महत्या

२०७८ भदौ ७ सोमबार ११:१७:०० मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आफ्नै घरभित्र सोमबार बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएका तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा खबर