एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

२०७८ भदौ ४ शुक्रबार २२:४६:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।

यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् ।

त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन् ।

एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताउनुभयो । उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिनुभयो । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई÷दुई क्लब रहेका छन् ।

ताजा खबर