पोखरा अल्ट्रालाइटले उडान सुरु गर्दै

२०७८ भदौ २ बुधबार १९:२५:०० मा प्रकाशित

पोखरा । कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड–पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान आठ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उनको भनाइ छ ।

उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिने बताए । “हामीले ६ हजार पाँच सयमा अल्ट्रालाइट उडानको आनन्द दिलाउने छाँै,” श्रेष्ठले भने ।

माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ ।

पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्राएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेलिएयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइट प्रालिले मात्र उडान सुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित रहेको छ ।

ताजा खबर