टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक

२०७८ भदौ २ बुधबार १४:२८:०० मा प्रकाशित

पुरुष टि ट्वान्टी विश्वकपको  सातौ संस्करण १७ अक्टोबरदेखि सुरु हुँदैछ ।  यो पटकको विश्वकप ओमान र युएइले आयोजना गर्दैछन् । सन २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने तय भएको विश्वकप कोभिडका कारण हुन सकेन । त्यसपछि भारतमा सारिएको थियो । तर भारतमा पनि सम्भव नभएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले ओमान र युएइमा गर्ने निर्णय गरेको हो । आइसीसीले टि ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । अगस्ट १७ देखि १४ नाभेम्बरसम्म हुने टि ट्वान्टी विश्वकपको तालिका कस्तो छ त ?
पहिलो चरण
पहिलो चरण अन्तर्गत अक्टोबर १७ मा समुह बी मा रहेका ओमान र पपुवा न्युगिनीसँगको खेल सँगै टि ट्वान्टी विश्वकप सुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्ड आमने सामने हुनेछन् । समुह बी का सवै खेल ओमानमा हुनेछन् । आयरल्यान्ड, नेदरल्यान्डस, श्रीलङ्का र नामिबिया समुह ए मा छन् । समुह ए का खेल अक्टोबर १८ देखि सुरु हुनेछ । यो समुहका खेल युएइ स्थित अबुधाबीमा हुनेछन् । पहिलो चरणको खेल २२ अक्टोबरमा सकिनेछ । समुहका शीर्ष दुई टिमले सुपर १२ मा स्थान सुरक्षित गर्नेछन् ।
सुपर १२
प्रतियोगिताको दोस्रो चरणको खेल रहेको छ –सुपर १२ ।  सुपर १२ का खेल २३ अक्टोबरदेखि  युएइमा हुनेछन् ।  पहिलो खेलमा समुह ए मा रहेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अबुधाबीमा प्रतिस्पर्धा हुनेछ । सोही दिन हुने अर्को खेलमा यसै समुहमा रहेका इङ्ल्यान्ड र साविक विजेता वेस्ट इन्डिज भिड्नेछन् । पुराना प्रतिद्वन्द्व अस्ट्रेलिया र इङ्ल्यान्ड ३० अक्टोबरमा एक अर्काको आमने सामने हुनेछन् ।  अबुधाबीमा वेस्ट इन्डिज र अस्ट्रेलिया  तथा शारजाहमा इङ्ल्यान्ड र दक्षिण अफ्रिका बीचको खेलसँगै ६ नोभेम्बरमा समुह चरणका खेल सकिनेछन् ।

समुह बी मा विश्वकपको हेभिवेट र वहुप्रतिक्षित खेल भारत र पाकिस्तान २४ अक्टोबरमा दुवइमा आमने सामने हुनेछन् । २६ अक्टोबरमा पाकिस्तानले न्युजील्यान्डसँग खेल्नेछ । अफगानिस्तानले  पहिलो चरणको समुह बी को विजेता सँग २५ अक्टबेरमा खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । ८ नोभेम्बरमा समुह बी का खेल सकिनेछन् । दुई समुहका शीर्ष दुई टोलीले सेमीफाइनलमा स्थान पक्का गर्नेछन् ।
सेमीफाइनल 
पहिलो सेमीफाइनल  १० नोभेम्बरमा अबुधाबीमा खेलाइनेछ । दोस्रो सेमीफाइनल ११ नोभेम्बरमा दुवइले आयोजना गर्नेछ ।
फाइनल
१४ नोभेम्बरमा टि ट्वान्टी विश्वकपको नयाँ च्याम्पियनको टुंगो लाग्नेछ ।  अघिल्लो संस्करणमा वेस्ट इन्डिजले इङल्यान्डलाई  पराजित गर्दै उपाधि जितेको थियो । अहिलेसम्म वेस्ट इन्डिजले दुई, भारत, पाकिस्तान, इङल्यान्ड र श्रीलङ्काले एक एक पटक उपाधि जितेका छन् ।  अस्ट्रेलिया, न्युजील्यान्ड , दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा छन् । 
 

ताजा खबर