भारतका सिध्द पुरुष किन टिक्दैनन् भक्तपुरमा ?

२०७८ भदौ २ बुधबार १२:०८:०० मा प्रकाशित

२०३५ सालमा म पहिलोपटक भक्तपुर घुम्ने सिलसिला  र एस.एल.सि.को सर्टिफिकेट निकाल्ने क्रममा दाई भवानी शङ्कर सुवेदीको सहयोगमा आइपुगेको थिएँ । तीनताका यो रमणीय ऐतिहासिक एवं साँस्कृतिक शहरमा हाम्रा इलामतिरका मानिसहरू कति हुनुहुन्थ्यो त्यो त सबै मलाई थाहा हुन सकेन तर प्राध्यापक उपेन्द्र रिजाल (इलाम आम्चोक कोलबोटे) यहाँ २०३१ सालदेखि भक्तपुर बहुमुखी क्याम्पसमा पढाउनुहुँदो रहेछ । वहाँ एकजना (हाल पनि प्राध्यापकबाट रिटायर्ड भएर यतै आवास बनाएर बस्नुभएको छ, अहिले ८५ बर्षमा वहाँ हिँडिरहनु भएको छ) भक्तपुर नगर ।

दोस्रो, दाई जयनारायण नेपाल इलाम नामसालिङबाट आएर आार्मी कलेजमा पढाउने जागिरे यतै भक्तपुरको सुकुलढोका भनिने ठाउँमा बस्नुहुँदो रहेछ डेरा गरेर भने ऊ बेला उपेन्द्र सर बंशगोपालमा डेरा लिएर बस्नु भएको रहेछ ।

तेस्रा, भूमिसुधारतिर जागिरे भएर नामसालिङकै साथी मनमोहन पोखरेल भक्तपुर दरबार स्क्वायर पूर्वतिर अरनिको सभा भवन छेउ बस्नुहुँदो रहेछ । यी तीनै जनाको डेरामा म भवानीदाईसँग पुगेको थिएँ । हामी रात बसेनौ तर पनि हनुमन्ते खोला तरेर माथि टौमडी जाने बाटो ट्रलीबस सूर्यबिनायकबाट झरेर हिँड्दै आएको सम्झना छ । पाँचतले मन्दिर टौमडी, राजा भूपतिन्द्र मल्लको दरबार र अगाडिको उनको जाज्वल्यमान स्तम्भ उभ्याएर राखिएको मुर्ति, त्यहाँको म्युजियम भने दाइ भवानी सुबेदीले मलाई घुमाएर देखाएर गुन लगाउनु भएको म सायदै अन्तिम श्वास सम्म बिर्सने छैन ।

हामी घुमेर साँझपख काठमाडौं फर्केका थियौं । दाजु काव्य निरौलाको डेरामा कालिकास्थान काठमाडौं । त्यो बेला दाइ ओभरसियर पढ्दै हुनुहुन्थ्यो पुल्चोक इन्जिनियरिङ कलेजमा । भवानी दाईले एम एड सकेको थियो क्यारे ।

पछि जागिरे भएर म पनि २०३९ सालमा काठमाडौं पाटन च्यासलमा डेरा गरि बसे पछि त्यो च्यासल र भक्तपुरको सँस्कृती मिल्दोजुल्दो लागेको थियोे ।

समयक्रममा प्रारब्ध होला म उपेन्द्र रिजाल सरकै कारण र वहाँकै माध्यमबाट २०४५ श्रावणबाट बखुण्डोल ललितपुरको शान्ता सिँह दिदीको घरबाट सरेर रिजाल सरकै छिमेकी बनेर भक्तपुर सरें । अघाउँजी भक्तपुर घुमे पनि कर्म काठमाडौंकै भएकाले यताका सबै साँस्कृतिक महत्ताका बारेमा बुझ्न भने समय लाग्यो ।

यो शहर तान्त्रिक प्रविधिको आर्किटेक्चर कलाबाट मल्ल राजाहरूले निर्माण गरेका रहेछन् । यो शहरको बाह्य किल्लातिर कालीका मन्दिरहरू, एकादस रुद्रका गणहरू अनि गणेशका मन्दिरहरू र आकाश लगायत अन्य भैरवका मन्दिर स्थापना गरेर सुरक्षाका कवचहरू निर्मित गरेर शहर स्थापना भएको रहेछ । शहरको जमिनको बास्तु नक्शा डिजाइन गर्दा जमिनमा नवदुर्गा यन्त्र बनाई त्यसलाई विधिवत प्राणप्रतिष्ठा गरेर साधना सिद्ध गरि सिद्धहरूले शहर निर्माण गरेको जानकारी तन्त्र शास्त्रका विज्ञ डा. त्रिलोचन श्रेष्ठको पुस्तकमा जानकारी गराइएको छ । यसर्थमा हाम्रो नेपाली संस्कृति नेवारी कला र सँस्कारमा कुँदिएको, समेटिएको र रचिएको देखिन्छ । हुन त नेवारी भने पनि नेपाली भने पनि वैदिक संस्कृति नै हो । हरेक मन्दिरका टुँडालहरूमा त्यतिबेलाको कलालाई प्रत्यक्ष देख्न पाईन्छ । चाँगुनारायणको मन्दिर लिच्छविकालीन भएकोले त्यो सनातन कला पद्धति धेरै अघि देखि नै उपत्यकाका तीनवटै शहरमा देख्न सकिन्छ । साँस्कृिकत हिसाबले पनि हामी वैदिक सनातनी धर्म पालन गर्नेहरू हौँ नकि हिन्दु । 

हिन्दु त सिन्धु घाँटीको सभ्यता हो र अपभ्रंस भएर सिन्धु –हिन्दु भयो तसर्थ पनि हामी भारतीय भन्दा छुट्टै धर्म सनातन भएका नेपाली हौँ भन्नेमा यहाँका तीन शहरका तथ्यहरूले प्रमाणित गरेकोे देखिन्छ । भारतको बनारसमा सँस्कृत पढेर आएका कर्मकाण्डी ब्राह्मणको भन्दा नेवारी आचार्यहरूको कर्मकाण्ड भाषा संस्कृत भए पनि केही फरक छ । राजोपाध्याय, कर्माचार्य, शर्मा नेवारी ब्राह्मणहरूको बिधान अलिकति भिन्न देखिन्छ । प्राविधिक रुपमा उनीहरूको पूजामा सिद्धि देखिन्छ प्रत्यक्ष भने भारतीय ब्राह्मणहरू र हामी नेपालका बाहुन ब्राह्मणहरूको पूजामा प्रत्यक्ष महसुस हुने कुनै त्यस्तो सिद्धि अनुभूती हुँदैन तर यहाँ हुन्छ तसर्थ नेवारी पद्धतिको पूजा कर्मकाण्डका विद्वानहरूले सिक्न अपरिहार्य देखिन्छ । यो उपत्यकामा बाह्य ब्राह्मणहरूले गर्ने यज्ञ पद्धतिबाट कुनै शान्ति, निधि वा सिद्धि प्राप्त हुँदैन केवल गरिस् भन्दा गरेँ एक साइकिक शिवाय केही हुनेवाला छैन । जत्रो कोटीहोम गरे पनि, पुराण बाचन गरे पनि वा अरू नवग्रह पूजा गरे पनि, साधना गरे पनि साँचो नखोली भित्र पस्न नसकिने भएकोले साँचो नेवारी कर्मकाण्ड र साधनामा मात्र भएकाले ठूला ठूला सिद्धहरू पनि यहाँ सफल बन्दैनन् र टिक्दैनन् । तसर्थ यी बोधगम्य कुराहरू बोध नगरी हुँदैन जस्तो मलाई अनुभूत भएको कुरा हो । भारतका कुनै पनि सिद्ध पुरुष तीनदिन भन्दा बढी टिकेनन् यहाँ । उनीहरूको सिद्धि पनि उपत्यकामा काम छैन भन्ने मेरो बुझाइ छ ।

अब यो कल्चरल शहरमा काठमाडौंबाट प्रवेश गर्ने बाटोको दाहिने हाल सैनिक क्याम्पस क्षेत्रमा रानी पोखरी, करिब ३०० मिटर पूर्व शहर नपस्दै काठमाडौंबाट आउँदा सिद्ध पोखरी छ । मल्लकालमा सिद्धहरूले सिद्धि पाएको र सिद्धहरूले निर्माण गरेको जसलाई यहाँको नगरपालिकाले सफा, स्निग्ध र सुरक्षित राखेको छ । देशको अरु भूभागमा भएको भए बेची खाइसक्थे होला तर यहाँ नेता नारायणमान बिजुक्छेले संरक्षण गरेका छन्, यो ३३ बर्षको अनुभवमा यी नेता जस्तो स्वच्छ छविका त पञ्चायतकालका पञ्चहरू पनि मैले देखेको थिएन । यी नेता यो देशमा प्रधानमन्त्री हुनुपर्ने मान्छे । मलाई बिचारसँग कुनै लेनादेना छैन बाटोमा भेटेर नमस्ते भने बाहेक उनीसँग कुनै चिनाजाना छैन उनको स्वच्छ छवि कै कारण उनका कार्यकर्ता, कर्मचारी र अरु पार्टीकै मान्छे पनि उनीसँग डराउँछन् र यहाँ यी पुराना र नयाँ निधिहरूको संरक्षण हुन सकेको हो भन्ने मलाई लाग्छ । सत्यलाई सत्य भन्नु पर्छ ।

अब यो भन्दाबाहेक भक्तपुर साहित्यमा पनि धनी छ, प्रगाढ छ र पुराना र नयाँ दुबै पुस्ता नेपाल भाषा साहित्यमा होस् वा नेपाली भाषा साहित्यमा । कथाकार रत्नकोजु, ध्रुव मधिकर्मी, हाँस्यब्यँग्य निवन्धकार तेजेश्वरबाबु ग्वंङ्ग, कासिराम बिरस लगायत थुप्रै साहित्यकारहरू छन् । ती मध्येका पनि “क” श्रेणीमा पर्ने अब्बल साहित्यकार त नारायणमान बिजुक्छे हुन्, म त भन्छु बिचारले वा बायस भएर वा अध्ययनको कमि भएर नेपाली साहित्यका समालोचक हूँ भन्ने महापण्डितहरू किन उनका साहित्य माथि समालोचना गर्दैनन् कि आग्रहले ? तर मेरो खास निजी बिचारमा समालोचकहरू खोज्दैनन्, पाठ्यक्रम बाहेकका साहित्यका बिषयमा समालोचना लेख्दैनन् । बिजुक्छेको राजनीति विपि कोईरालाको झैँ अलग छ र साहित्य अलग । साहित्य उनले हृदयले लेखेकाछन् र अब्बल छन् । बिचार–बुद्धिले लेखेका छन् र अलग छन् । अध्ययनशील, उनले राजनीति मात्र पढेका र बोकेका छैनन् उनको लेखनले देखाउँछ उनी इतिहास, कला, सँस्कृति, भूगोल, बिज्ञान, दर्शन, बेद, खगोल, राजैतिक सभ्यता सबैमा निपुण छन् । साहित्यको अध्ययन पनि विशाल छ भन्ने उनका लेखनले झल्काएका छन् । 

“जेलका चिट्ठीहरू, जेल डायरी हरिबहादुर श्रेष्ठले लेखेको हजुरबाका चिट्ठी यी सबै उनका साहित्य हुन् । अरू कति छन् होला मैले पाएको र पढेको छैन । उनको लेखनमा शव्द चयन, कला, लालित्य, आख्यानात्मक संयोजन, संप्रेष्यता, मृदुल सरसता, गंभिर्यता, निर्भिकता एबं नेपाली समाजका सौन्दर्य, आम साधारण मान्छेको संबेद्यता, राष्ट्रिय चिन्तन एवं माटो प्रेम स्पष्ट देखिन्छन् । म समालोचक होइन तसर्थ समालोचकलाई रोहित हुन् वा (उनको साहित्यको नाम रोहित) अरू कोही साहित्यकार हो भने त खोजेर लेख्नु पर्छ । चाकरीको कहिले अन्त गर्ने नेपाली साहित्यका समालोचकहरूलाई मेरो यो प्रश्न तीतो र कटु ।

यसरी भक्तपुरलाई खामेको, छामेको र भोगेको पनि करिब ४० बर्ष भएछ । धेरै बुझ्न बाँकी छ तर यहाँका मन्दिरहरू जसरी स्वच्छ छन् मानिसहरू पनि अरूलाई अन्याय नगर्ने र आफु पनि अन्यायमा नपर्ने बान्कीका इमानदार, परिश्रमी अनि कडा मिहिनेती छन् । बस् ।
(निरौलाको संस्मरणको बाँकी अंश क्रमशः)
 

ताजा खबर