बार्सिलोनाको आर्थिक स्थिति चिन्ताजनकः  अध्यक्ष जोसेप

२०७८ भदौ १ मंगलबार ११:२१:०० मा प्रकाशित

स्पेनिस फुटबलको जाइन्ट क्लब बार्सिलोना ऋणमा डुबेको छ । क्लबका अध्यक्ष जोसेप लापोर्ताले बार्सिलोनाको आर्थिक स्थिति एकदमै चिन्ताजनक स्थितिमा रहेको खुलासा गरेका हुन्  । उनले पत्रकार सम्मेलन गर्दै बार्साको आर्थिक अवस्थाको बारे जानकारी गराएका थिए ।

उनले अहिले बार्साको १.३५ बिलियन युरो ऋण रहेको बताए । कोरोना भाइरस महामारीको असर बार्सिलोनाको आम्दानीमा परेको हो । अहिले क्लबको आम्दानीको  १ सय ३ प्रतिशत तलवमा खर्च हुने अध्यक्ष लापोर्ताले बताए । लापोर्ताले  क्लब ऋणमा डुब्नुको कारण यसअघिका अध्यक्ष जोसेप मारिया बार्तोमेउ भएको आरोप लगाए । अघिल्लो कार्यसमितिले आफूहरुलाई झुट बोलेको उनको भनाइ थियो । लापोर्ताले भने,‘भयानक स्थितिमा बार्तोमेउले आफूलाई विरासत  सुम्पिए ।’

यदि क्लबले मेसीलाई राखेको भए तलवमा खर्च हुने रकम १ सय ३ बाट बढेर १ सय १० मा पुग्ने उनले जानकारी दिए । सोही कारण ला लिगाले सम्झौता गर्नबाट रोकेको बार्सिलोनाको भनाइ छ । बार्साले खेलाडीलाई दिने तलव अन्य क्लबको भन्दा २५ देखि ३० प्रतिशत बढी भएको बतायो । जेरार्ड पिकेले तलव कटौती गर्न मानेपछि मात्र बार्सा नयाँ खेलाडी डिपाये माम्फिस, एरिक गार्सिया र रे मनायलाइ ला लिगामा दर्ता गर्न सक्षम भएको छ   । अध्यक्ष लापोर्ताले साढे एक वर्षसम्म क्लबको आर्थिक स्थितिमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।
 

ताजा खबर