झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

२०७८ भदौ १ मंगलबार १०:४२:०० मा प्रकाशित

झापा । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।

झापामा आर्थिक वर्ष २०७६/z७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आर्थिक वर्ष २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए ।

आर्थिक वर्ष२०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ६९ लाख ५३ हजार ५०० राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार १०० सवारी साधनलाई कारवाही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

 

ताजा खबर