अब जनै लगाउने कस्को लागि ?

२०७८ श्रावण ३२ सोमबार १३:०६:०० मा प्रकाशित

“आचारवान भए बाहुन, नभए अछुत” कुनै समय नेपालमा वैदिक सनातन धर्म शास्त्रानुसार राज्य संचालन हुन्थ्यो । त्यतिखेर देशको वास्तविक नागरिक हुन जनै लगाएको हुनु पथ्र्यो । जनै लगाउने (तागाधारी ) हुन निकै ठूलो आचरण र अनुष्ठान पालना गर्नु पथ्र्याे । जनै लगाउनेहरू पनि गुण र कर्म अनुसार बाहुन, क्षेत्री र बैश्य तीन तहमा रहन्थे । परम्परानुसार ब्रतबन्ध गरेपछि बाहुनको छोरा बाहुन, क्षत्रीको छोरा क्षेत्री र वैश्यको छोरा वैश्य नै  हुन्थे तर शास्त्रमा भने गुण र कर्मको आचरणले मात्र बाहुन, क्षेत्री, वैश्य र शुद्र हुने व्यवस्था छ । त्यतिखेर तागाधारी नै वास्तविक रुपमा नागरिक ठहरिन्थे र राज्यले पनि पहिलो प्राथमिकतामा यिनिहरूलाई सुरक्षा दिनु कर्तव्य मान्दथ्यो । जनै नलगाउनेहरूले जनै लगाउनेहरूको सेवा गर्नु कर्तव्य मानिन्थ्यो । त्यस्ता तागाधारीहरूले पनि आचरण र अनुष्ठान पालना गर्न नसकेर नीच भएका अर्थात् -

ब्रह्म हत्या शूरा पान स्तेयं गुर्वगनांगम । 
माहान्ति पातकान्याहु संसर्गश्चापि तैसह ।।
हिंसा हत्या शूरा पान, चोरी र चोर मैथुन ।
गर्ने ठूला पापीसँग, जाने नि नीच हो बुझ ।।

यसरी अनाचारले नीच भए भने बाहुन नै भए पनि सार्वजनिक रुपमा जनै फुकाली चारपाटे मुढेर, सुँगुरको पाठो बोकाई, ढोल बजाई गाउँ घुमाई जात पतित गरि सामाजिक बहिस्कार गरिन्थ्यो । त्यसपछि ती शुद्र हुन्थे र तिनीहरू पनि हुनेखानेका घरमा बेचिएर जान सक्थे । यसको मतलव आचारहीनलाई उच्च नागरिक अधिकारबाट हटाइन्थ्यो ।

 वैदिक सनातन शासन परम्परामा

 “आचारहीन नपुनन्तुवेदः । वेद (ज्ञान) ले पनि आचारहीन व्यक्तिलाई पवित्र बनाउन सक्तैन” यही नै शासन व्यवस्थाको मूल आधार थियो । शास्त्र अनुसार शुद्र कै छोरा भए पनि आचारवान भएकाका लागि विशेष विधि र प्रक्रियाले शासकद्वारा तागाधारी बाहुनसम्म पनि हुन सक्ने थियो । पौराणिक कथन अनुसार यस्तै शासन व्यवस्था भएको सत्ययुगमा गुरु बृहस्पतिले दानवद्वारा लखेटिएका देवगणलाई रक्षा विधि विधान मन्त्रोचार गरि तयार गरीएको अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु । यसले तिमीहरू सुरक्षित बन । विचलित नहोऊ ।


येन बद्धो बलिराजा दानवेन्द्रो महाबल ।

तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल ।।’

भनी डोरो बाँधेर जोगाएका थिए भन्ने मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । यस कुराबाट सर्वप्रथम असल बोलीचाली नै  ठूलो रक्षक हो भन्ने प्रष्ट हुन्छ । यसैकारण आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि योग सिद्धिका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको उल्लेखित मन्त्रोच्चारण गर्दै गुरु पुरोहित ब्राह्मणहरूले सबै यजमानको नाडीमा रक्षासूत्र, रक्षाबन्धन बाँधिदिने गरिन्छ ।

धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेरेर  अध्यायोपासन कर्म, वेदोपासन कर्म र  वेदारम्भ कर्म गरी तीन प्रकारले मनाइने भएकोले  जनैपूर्णिमा  र महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेकोले वेद जयन्ती पनि भनिन्छ ।

वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारीहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो  कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ । 

जनै फेर्दा भन्ने मन्त्रः

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।
(पारस्कर गृह्यसूत्र, ऋग्वेद, २-२-११)
ॐ यज्ञो पवीतमसि यज्ञस्य त्वोपवीतेनोपनह्यामि।।

पुरानो जनै उतारने मंत्रः

ॐ एतावद्दिन पर्यन्तं ब्रह्म त्वं धारितं मया।
जीर्णत्वात्वत्परित्यागो गच्छ सूत्र यथा सुखम्।।

यसरी अविच्छिन्न वंशपरम्परा आचार जोगाएका उपाध्याय (अध्यायन गर्दै रहेका) वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयमा अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।

 उपाकर्मणिचोत्सर्गे गतेमासचतुष्टये।
नवयज्ञोपवीतानि धृत्वाजीर्णानि संत्यजेत्।।

अर्थात् उपाकर्म, उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने चलन छ । यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गरिन्छ । यसरी ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ ।

शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । 

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै यस दिन बिहानै यजमानहरू आफ्ना गुरु पुरोहित कहाँ गई  यज्ञोपवित (जनै ) उल्लेखित मन्त्र सहीत धारण गर्दछन् । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा यसै दिन मन्त्रिएको यज्ञोपवित (जनै ) फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

यसै दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । यस दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने यस  दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण यस दिन स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ । 
 

ताजा खबर