चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला

२०७८ श्रावण ३१ आइतबार १३:२८:०० मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृत भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गाडिएको मृत गैँडा फेला परेको जानकारी दिए । दलदलमा फसेको अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ ।

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उनले भने,“खाग काटिएको अवस्थामा मृत गैँडा भेटियो ।” नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको हो ।

यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ । उनले भने, “हामीले अनुसन्धान जारी राखेका छौं ।” कुहिएकाले भाले पोथी पहिचान हुनसकेको छैन ।

घटना लगत्तै कारागारबाट छुटेका र अन्य शङ्कास्पदमाथि अनुसन्धान थालिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए ।

चालू आर्थिक वर्षको साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । यो सहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन ।

ताजा खबर