बोरुसिया र बायर्न एकएक गोलको बराबरीमा

२०७८ श्रावण ३० शनिबार १३:१४:०० मा प्रकाशित

साविक विजेता बायर्न म्युनिख  बुन्डेसलिगाको आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ  । गएराति भएको लिगको उद्घाटन खेलमा बोरुसिया मोन्चेग्लाग्बा र बायर्नले एक एक गोलको बराबरी खेले । बायर्नलाइ रोवर्ट लेवान्डोस्कीले हारबाट जोगाएका थिए ।

घरेलु टोली मोन्चेग्लाग्बाले खेल सुरु भएको दशौं मिनेटमा अग्रता लिएको थियो । उसका लागि अलासेन प्लेअले गोल गरे ।  ४२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा खेल एक एकको बराबरीमा सकिएको थियो । पोलिस स्ट्राइकर लेवान्डोस्कीले लिगमा लगातार एघारौं  खेलमा गोल गरेका हुन् ।

लगातार १६ खेलमा गोल गर्ने कीर्तिमान गेर्ड मुल्लरको नाममा छ ।   यस्तै उनले बुन्डेसलिगाको पहिलो खेलमा गोल गरेको यो लगातार सातौ सिजन हो । लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा किर्तिमानी ४१ गेल गरेका थिए ।  दोस्रो हाफमा केही अवसर पाएपनि बायर्नले गोल  गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

सन् २०१२ यता पहिलो पटक बायर्न सिजनको पहिलो गोल गर्न असफल भएको हो । उलियान नागल्समनको बायर्नको प्रशिक्षकका  रुपमा यो पहिलो औपचारिक खेल हो ।  ६० हजार क्षमता भएको रंगशालामा २३ हजारलाइ प्रवेश दिइएको थियो ।

ताजा खबर