प्रिमियर लिगमा ब्रेन्टफर्डसँग आर्सनल पराजित

२०७८ श्रावण ३० शनिबार १३:१०:०० मा प्रकाशित

बेन्टफर्ड र आर्सनल बीचको  खेल सँगै इङसिल प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ । पहिलो खेलमानै आर्सनलले प्रिमियर लिगमा डेब्यु गरेको ब्रेन्टफर्ड सँग दुई शून्य गोलको हार बेहोर्यो  । ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा २२ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो ।

उसका लागि सर्जी क्यानोसले गोल गरे । प्रिमियर लिगमा ब्रेन्टफर्डको यो पहिलो गोल हो ।  लन्डन क्लब ब्रेन्टफर्ड यसै सिजन च्याम्पियन्सीप लिगको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै प्रियिमर लिगमा उक्लिएको थियो । पहिलो हाफमा ब्रेन्टफर्डले आर्सनल माथि दवाव बनाएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले गोल फर्काउन सकेन । ७३ औं मिनेटमा  क्रिस्टियन नोगार्डले टिमका लागि  दोस्रो गोल थपे ।  

इङ्ल्यान्डको लिगमा नागार्डको यो पहिलो गोल हो । उनले च्याम्पियनसिपमा  ५९ खेल खेल्दा पनि गोल गर्न सकेका थिएनन् । आर्सनलले गोलका केही मौका बनाएको थियो ।  एमिल स्मिथ रअको प्रहार ब्रेन्टफर्ड गोलकिपर डेविड रायाले बचाए ।

निकोलनस पेपेको प्रहारले पनि पोस्टको दिशा लिएन । विरामी भएका कारण आर्सनल स्ट्राइकर पियरे इम्रिेक अबोमयाङ र अलेक्जान्द्रे लाकाजेट विना मैदान उत्रिएको थियो । आर्सनल सन १९७६ –७७ पछि पहिलो पटक प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी टिमसँग पराजित भएको हो ।

ब्रेन्टफर्ड ७४ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो । पछिल्लो पटक  उसले सन १९४७ को अप्रिलमा शीर्ष डिभिजनमा जित निकालेको थियो । प्रिमियर लिगको पहिलो खेलमानै जीत हात पार्ने ब्रेन्टफर्ड  लन्डनको पहिलो क्लब पनि हो  । यसअघिका नौ टिमले जित हात पार्न सकेका थिएनन् । ब्रेन्टफर्ड प्रिमियर लिग खेल्ने ५० औं क्लब हो । कोरोना संक्रमण पछि प्रिमियर लिगमा पहिलो पटक स्टेडियममा पूर्ण क्षमतामा दर्शक प्रवेश अनुमति दिइएको थियो । 
 

ताजा खबर