ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन

२०७८ श्रावण ३० शनिबार ०८:५०:०० मा प्रकाशित

केशवप्रसाद भट्टराई । 
त्यसैले ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन !
कसो माधव नेपालजी ? 
१. तीस वर्षसम्म पञ्चायतमा बसेर राजनीति गरेका हौँ भन्ने पञ्चहरूको राष्ट्रव्यापी सम्पर्क थियो ।
विदेशमा पनि बलियो आड थियो । शिक्षा र अनुभवमा  उत्कृष्ट थिए, भन्न सकिन्छ  ।
शिक्षा, ज्ञान, अनुभव ,योग्यता र कार्यक्षमतामा काङ्ग्रेस र कम्युनिस्टका कुनै नेता भन्दा कम छैनन्, राप्रपाका नेताहरू ! सम्पत्तिको पनि कमी थिएन । तर जव निष्ठाको कुरा आउँछ ???
त्यसैले पार्टी ? 
भन्नै पर्दैन !

२. वामदेव गौत्तम, सीपी मैनाली, राधाकृष्ण मैनाली, देवी ओझादेखि घनश्याम भुसाल र योगेश भट्टराईहरू के कुरामा कम थिए ?
नयाँ पार्टी खोले , हालत दुनियाँ सामू छर्लङ्ग भयो !
कोही पुरानैमा फर्किए , फर्किएकाहरू कोही बोकेरै बसेका छन्  ।
नफर्किएका   कोही युट्युबरको  अन्तर्वार्तामा  राजनीति  धानिरहेका छन् ।

३. नयाँ पार्टी शेरबहादुरजीले पनि चलाउनु भयो, 
रामचन्द्रजीले उकास्नसम्म उकास्नु भयो देउवाजीलाई नयाँ पार्टी खोल्न !
उहाँ नयाँ पार्टीको अध्यक्ष हुन जमजमाएर बस्नुभएको थियो । 
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रामचन्द्र पौडेल घरबाट हिड्नु भयो, आउँदै हुनुहुन्छ, केही मिनेटमा सभास्थलमा प्रवेश गर्दै हुनुहुन्छ भनेर रनिङ कमेन्ट्री चलिरहेको थियो ।
सम्मेलन केन्द्रतिर जान उहाँको गाडी के लागेको थियो,  गिरिजाबाबुको फोन आयो । 
रामचन्द्रजी गिरिजाबाबुको निवाश महाराजगंज तर्फ मोडिनु भयो !
ऊता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रामचन्द्रजी केही मिनेट भित्र आउने रनिङ  कमेन्ट्री  आइरह्यो !
तर रामचन्द्रजी गिरिजाबाबुसँगको केही समयको  खुसुरपुसुरपछि बोहोराटार नै फर्किनु भयो । 
अन्त्यमा शेरबहादुरजीले नै सभापति सम्हाल्नु भयो नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको !
एकसे एक मानिस थिए नयाँ काङ्ग्रेसमा ।
पैसा पनि थियो ।
तर देउवाजीले पनि धान्न सक्नुभएन,
पार्टीको घरभाडा र कर्मचारी तलब धान्न पनि हम्मेहम्मे पर्यो !
अनि फर्किनु भयो पुरानैमा, ४० प्रतिशतको भाग उठाउन ! 

४. धेरै भएको छैन, तामझामका साथ डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्नुभएको  !
ठूलो घमण्ड थियो, उहाँलाई आफ्नो नाऊमा र पूर्व प्रधानमन्त्रीको पहिचानमा  र वाह्य शक्तिको आडमा क्ष् 
तर आफ्नै गृह जिल्लामा आफैँलाई एक सिट जित्न पनि काङ्ग्रेसको समर्थन चाहियो । 
अहिले  उपेन्द्र यादवको शरणमा हुनुहुन्छ !  
र त्यहीं भित्रको अन्तरविरोधमा खेलेर र अन्तरविरोध चर्काएर राजनीति धानिरहनु भएको छ ।  

५. नेमकिपा, विवेकशील साझा, नयाँ शक्ति, नेपालका लागि नेपाली,जरोकिलो, लगायत धेरै पार्टी  छन्, 
ती मध्ये विवेकशील साझाले  मुलुकमा आफ्नो उपस्थितिसम्म जनाउन  सकेको छ  । 
नेमकिपा भक्तपुरको एउटा सानो भूभागमा सीमित छ ।
चित्र बहादुरजीको जनमोर्चाले एमालेको समर्थनमा संसदमा एक सिट पाएको छ । 
युट्युब र मिडियाले धानिदिएको जीवनमा सीमित छ– धेरैको अस्तित्व ।

६. दुईटा प्रजातन्त्रवादी पार्टी–एउटा मध्यमार्गी र एउटा सम्वद्र्धनवादी अर्थात् कन्सर्भेटिभ चलनचल्तीको भाषामा कन्जरभेटिभ पार्टी भए पुग्छ हामीलाई ।
अनि दुइटा कम्युनिस्ट पार्टी ––एउटा क्रान्तिकारी धारको र एउटा एमाले जस्तो  मध्यमार्गी धारको !
अनि नभई नभए एउटा समाजवादी !
त्यो भन्दा बढी चाहिन्न !
कथित ठूलो आन्दोलन र बलिदान पछि अस्तित्वमा आएका मधेश केन्द्रित दलहरूले भन्दा  मधेशमा काङ्ग्रेस र कम्युनिस्ट  दलहरूले धेरै जनमत ल्याएका कुरा  गत निर्वाचन परिणामले   भन्दछ ।

७.  त्यसैले ख्याल ख्याल छैन, नयाँ पार्टी खोल्न र चलाउन !
कसो माधव नेपालजी ? 
वामदेव गौत्तम, सीपी मैनाली , राधाकृष्ण मैनाली, देवी ओझाहरू योग्यता–क्षमता,  सङ्घर्ष, त्याग, बलिदानमा के कम छन् र तपाइँ भन्दा ?
एउटा श्लोक छ संस्कृतमा,सम्भवत  महाभारतको विदुर नीतिको अंश हो -
“स्थान  भ्रष्टा नशोभन्ते
 दन्ताः केशाः नखाः नराः
इति विज्ञाय मतिमान्
स्वस्थानं न परित्यजेत्।।“
अर्थ र आशय  हो –– नङ्, कपाल र दाँत शरीरबाट अलग भए पछि जसरी त्यो अपवित्र र अर्थहीन हुन पुग्दछ,
अशोभनीय बन्न पुग्दछ ।
आफ्नो स्थानबाट च्युत भएको मानिस पनि त्यस्तै हुन्छ ।
यति कुरा विचार गरेर वुद्धिमान व्यक्तिले आफ्नो स्थान र मर्यादालाई परित्याग नगरोस, नभुलोस ! 
चाहे काङ्ग्रेसका  हुन् चाहे कम्युनिस्टका  वा राप्रपा र विवेकशील साझाका त्यहाँ भित्र विरोध गर्ने, लड्ने, जुध्ने सवै गर्न सकिन्छ, 
निष्कृय हुन सकिन्छ  तर पार्टी हित विरूद्ध उभिने अधिकार दिने पार्टी र अधिकार दावी गर्ने नेता  निष्ठामा बाँचेकाहरूका माझ राजनीतिक, नैतिक र सांस्कृतिक आधारमा असत्तीहरू हुन् !
त्यस्तो अधिकार दिने पार्टी र अधिकार दावी गर्ने नेता दुवै, अपराधी हुन् !
शिक्षा, सम्पत्ति, पद, अनुभव, आड, वंशले सघाउ पुर्याउला,
 तर निष्ठा–सिद्धान्त निष्ठा, पार्टी निष्ठा, राष्ट्र निष्ठा र धर्म र संस्कृति प्रतिको निष्ठा भन्दा माथि कसैको व्यक्तित्व किमार्थ हुन सक्दैन !
त्यस्तो निष्ठा भन्दा माथि कसैको व्यक्तित्वनिर्माण हुनै सक्दैन ।
निन्दा, घृणा, हिंसा, झूठ,भ्रम  र नकारात्मकताको बलमा पनि स्थायी राजनीतिक शक्ति निर्माण हुन सक्ला र  ?

भट्टराईको फेसबुकबाट

ताजा खबर