लुकाकु चेल्सीमा पुनः अनुबन्ध

२०७८ श्रावण २९ शुक्रबार १२:२९:०० मा प्रकाशित

चेल्सीले स्ट्राइकर रोमेलु लुकाकुलाई क्लबको कीर्तिमानी रकममा पुनः अनुबन्ध गरेको छ । बेल्जियन लुकाकु सात वर्ष पछि  चेल्सी फर्किएका हुन् । इटालियन लिग सिरी या च्याम्पियन इन्टर मिलानका २८ वर्षीय लुकाकुले  चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

लुकाकुको सम्झौतापछि चेल्सीले जारी गरेको विज्ञप्तिमा रकमबारे केही खुलाइएको छैन । तर बेलायती संचारमाध्यमका अनुसार लुकाकुलाई चेल्सीले ९७ दशमलब ५ मिलियन पाउन्डमा भित्राएको हो । कुनै एक खेलाडीका लागि चेल्सीले खर्च गरेको यो अहिलेसम्मकै धेरै रकम हो ।  

यो कीर्तिमानी बेलायती ट्रान्सफर रकम भन्दा थोरै कम हो । केही दिन अघि म्यानचेस्टर सिटीले प्रिमियर लिगको कीर्तिमानी रकम १०० मिलियन पाउन्डमा एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो । लुकाकु सिरी या क्लबले बेचेको सवैभन्दा महंगो खेलाडी पनि बनेका छन् । उनी २०१९ मा इटालियन इतिहासमा सर्वाधिक तेस्रो महंगो खेलाडीका रुपमा म्यान्चेस्टर युनाइटेडबाट इन्टरमिलान गएका थिए ।

गत सिजन लुकाकुले इन्टरलाई एघार वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले गत सिजन २४ गोल गरेका थिए । दुई सिजन विताएका उनले सवै प्रतिस्पर्धामा गरी ९५ खेल खेल्दै ६४ गोल गरेका थिए । यसअघि लुकाकुले २०११  देखि २०१४ सम्म चेल्सीमा विताएका थिए ।

२०१४ मा सिनियर टिममा डेब्यु गरेका उनी केवल १५ खेल खेल्दै एभर्टन गएका थिए । लुकाकुले चेल्सीसँगको सम्झौता पछि घर फर्किएको प्रतिक्रिया दिए ।  २०१७ मा एभर्टनबाट युनाइटेड गएका लुकाकुले ओल्ड ट्राफोर्डमा भने आफ्नो प्रभाव जमाउन सकेका थिएनन् । इन्टर गएपछि उनले आफ्नो खानपिनमा परिवर्तन गर्नुका साथै तौल पनि घटाएका थिए । 

ताजा खबर