बाबुराम भट्टराईलाई किन कार्बाही नगर्ने ?

२०७८ श्रावण २८ बिहीबार १६:०९:०० मा प्रकाशित

केही दिन अगाडि डाक्टर बाबुराम भट्टराइले उनले चलाउने गरेको सामाजिक संजाल ट्विटरमा ८१ प्रतिशत भन्दा बढि हिन्दु बाहुल्य भएको देशमा भारतको उत्तर प्रदेशको मुख्य मन्त्रीको फोटो साझा गर्दै दुध पोख्ने मुत पिउने खालको विश्वास खतरनाक हुन्छ भन्ने आशयको विषयवस्तु राखेका थिए ।

बाबुराम जनयुद्धको उपलब्धिलाई लत्याएर पहिलो संविधान भंग गरी दोस्रो संविधान जारी गर्दा राजिनामा दिने व्यक्ति हुन् । बाबुराम हिन्दुका काल हुन् भने इस्लाम धर्म संस्कृति निजको भाइचारा र सद्भाव कायम रहेको उनको अरु क्रियाकलापबाट सोझै देखिन्छ । संविधानले धार्मिक भावना खलल पुर्याउने कार्य गरिनु हुँदैन भन्छ । संविधानको आधारमा बनेका कानूनको धारणा पनि त्यही हो । तर बाबुरामलाई हिन्दुसँग एलर्जी नै छ तर आफ्नो नातिको पास्नी भने हिन्दु संस्कार अनुसार नै गर्छन् । यिनलाई नेपाली हिन्दुले नै भोट दिएर सभासदसम्म पनि बनाइदिएका हुन् । तर पनि बारम्बार यिनी हिन्दु आस्था माथि खनिन्छन् । यिनि कामी हुनुले केही फरक पर्दैन तर आफ्नो जात राख्ने स्वतन्त्रता सबैको छ । होली वाइन सेवन गराइ क्रिस्चियानिटिलाई बढावा दिने नाइके पनि यिनै हुन् भन्ने कुरा पनि निजकै क्रियाकलापबाट थाहा हुन्छ । हिन्दुबाट सबै पाएर पनि यिनी हिन्दु विरुद्ध लाग्नु यिनी पेड मान्छे हुन् भन्ने पनि शंकारहित तवरबाट पुष्टि भइसकेको छ ।

केही समय अगाडि चार्ली हेब्डो नामक पत्रिकाले मुस्लिम भावनालाई ठेस पुर्याउने गरि कार्टुन छाप्दा त्यसकै मुख्यालयमा आक्रमण गरी ध्वस्त बनाईएको थियो । बाबुराम त्यस्तो मुलुकमा भएका भए नामनिसान समेत नामेट भइसक्ने गरी जहिले हिन्दु विरोधि भएर लाग्छन् । तर पनि धार्मिक स्वतन्त्रता र हिन्दुसँग क्षमादान गर्न सक्ने क्षमता भएकै कारण यिनी जहिले पूर्व प्रधानमन्त्रीको हैसियत र सभासद् समेत भएको नाताले सम्मानित भइ नै रहन्छन् । नेपालका हिन्दुलाई खासै फरक पर्दैन । फरक त मलाइ पनि पर्दैन । तर देशको कानूनमा भएको व्यवस्थालाई लत्याइ आफुखुशी प्रचारबाजी गर्ने कुकृत्यलाई बढावा दिँदै जाने हो भने दण्डहिनता पैदा भइ सबै नागरिकले कानून पालना नगर्ने परिस्थिति उत्पन्न हुन सक्छ । 

नेपालको संविधानमा भएको व्यवस्था यस्तो छ- 

नेपालको संविधानको प्रस्तावनामा ....बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै .... भन्ने उल्लेख भएको हुँदा बाबुरामले नबनाएको तर ९२ प्रतिशत भन्दा बढि सभासदले बनाएको संविधानले यसो भन्छ । संविधानको धारा ४ मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनि उल्लेख भएको हुँदा जसको स्पष्टीकरण खण्डमा यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भन्ने उल्लेख भएको हुँदा बाबुरामले यसको पनि सम्मान गर्न नसकेकै हो । 

त्यस्तै संविधानको धारा १७ मा स्वतन्त्रताको हक सम्बन्धि व्यवस्था रहेको छ । जसको प्रतिबन्धातम्क वाक्यांशमा .... कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन भन्ने व्यवस्था समेत भएको हुँदा यस उपर गम्भिर भएर लाग्नु पर्ने देखिन्छ । संविधानको धारा १८ मा समानताको हक सम्बन्धि व्यवस्था रहेको छ । जसमा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ ।

यस अनुसार बाबुराम र ममा पनि केही फरक छैन । कानूनअनुसार निज पनि संविधान र कानूनको दायरामा पर्दछन् । त्यस्तै संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धि व्यवस्था रहेको छ । जसमा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था रहेको छ भने कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्था पाइन्छ । यो त संविधानमा भएको व्यवस्था हो ।

यसका साथै विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने सम्बन्धि व्यवस्था रहेको छ । कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था समेत भएको हुँदा पनि बाबुरामलाई यो कानूनको आधारमा कारवाही गर्न मिल्ने हुन्छ ।

मुलुकी अपराध संहिता २०७४को दफा ६५ मा कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुकाबीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन भन्ने व्यवस्था रहेको देखिन्छ  भने दफा १५५ मा कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन भनि उल्लेख भएको देखिन्छ । यसो गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था छ ।

त्यस्तै धारा १५६ मा कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन । यसो गरेको पाइएमा दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था रहेको छ । त्यस्तै दफा १५७ मा कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन भन्ने व्यवस्था रहेको छ । त्यसैमा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन भन्ने व्यवस्था रहेको देखिन्छ ।

अतः धार्मिक सद्भाव खलल बनाउने कार्य गर्नेलाई नेपाली कानूनले दण्डनीय अपराधको रुपमा लिएको हुँदा बाबुराम पनि कानूनको दायरामा आउन जरुरी देखिन्छ । सबै नेपाली नागरिक कानूनको दायरमा आउने हुँदा लोकान्त्रीक व्यवस्थामा समेत यस्तो दण्डहिनता हुँदै जाने हो भने कानूनको पालना कसैले नगरे भयो । किन नागरिकलाई मात्र कानून लगाउने ? छाडा तन्त्रमा कहिलेसम्म बस्ने ? कानूनको शासन कहिले लागु हुने ? सानालाइ ऐन ठूलालाई चैनको थिति अहिले पनि राख्ने हो भने जंगे शासन भन्दा लोकतन्त्र के फरक भयो ? 

ताजा खबर