चेल्सीलाई युएफा सुपर कपको उपाधि

२०७८ श्रावण २८ बिहीबार ०९:२५:०० मा प्रकाशित

युएफा  सुपर कपको उपाधि चेल्सीले जितेको छ ।  इङ्लिस क्लब चेल्सी स्पेनिस भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै च्याम्पियन बनेको हो । चेल्सीको जितमा सब्सिच्युट गोलकिपर केपा आरिबालागा नायक साविक भए ।

च्याम्पियन्स लिग विजेता चेल्स िर युरोपा लिग जितेको भिल्लारियाल बीचको खेलको  निर्धारित र थप गरिएको समय एक एक गोलको बराबरीमा सकिएको थियो । नर्दन आयरल्यान्डको बेलफास्ट स्थित विन्डसोर पार्कमा भएको खेलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।

२७ औं मिनेटमा काइ हाभर्टसको सहयोगमा हाकिम जियासले गोल गरेका थिए  । ७३ औं मिनेटमा जेरार्ड मोरेनोले , चेल्सीको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेपछि खेल एक एकको बराबरीमा पुगेको थियो । त्यसपछि ९० मिनेट भित्र गोल हुन सकेन ।

थप गरिएको समयमा पनि दुवै तर्फबाट गोल नभएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा केपाले भिल्लारियालका दुई पेनाल्टीको बचाउ गरेपछि थोमस टुखेलको टोली च्याम्पिपयन बनेको हो ।

उनलाई टुखेलले अतिरिक्त समय सकिनै लाग्दा मैदान प्रवेश गराएका थिए । उनको रणनीति सफल पनि भयो । चेल्सीले दोस्रो पटक युएफा सुपर कपको उपाधि जितेको हो । यसअघि उसले तीन फाइनल हारेको थियो । भिल्लारियाल पहिलो उपाधि जित्न चुक्यो । सिजन सुरु हुनुअघि च्याम्पियन्स लिग र युरापा लिग विजेता बीच सुपर कप खेलाउने प्रचलन छ ।
 

ताजा खबर