आँशुदेखि मुस्कानसम्म....

२०७८ श्रावण २७ बुधबार १०:३५:०० मा प्रकाशित

लियोनल मेसी स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा आवद्ध भएका छन् । सुरुवात गरेको क्लब बार्सीलोना छोडेपछि ३४ वर्षीय मेसीले  अब पिएसजीबाटै खेल जीवनको अन्त्य गर्ने अपेक्षा पनि गरिएको छ । ६ पटकका बलुन डि योर विजेता मेसी र पिएसजी बीच दुई वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा तेस्रो वर्ष थप गर्ने विकल्प पनि समावेश रहेको पिएसजीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पुस्ताको सर्वोत्कृष्ट खेलाडी मध्येका एक मेसीको आगमन सँगै पिएसजीको अग्रपंक्ति सशक्त बनेको छ । पिएसजीमा  दुई स्टार स्ट्राइकर ब्राजिलका नेइमार र फ्रान्सका किलियन एम्बाप्पे पनि छन् ।  सम्झौतामा हस्ताक्षर गरेपछि मेसीले भने,‘पिएसजीमा मेरो करियरको नयाँ अध्यायको सुरुवात गर्न उत्साहित छु । क्लब र समर्थकका लागि विशेष योगदान दिन चाहन्छु , पिएसजीको मैदानमा कदम राख्न उत्सुक छु ।’

बार्सीलोनाका  सर्वाधिक गोलकर्ता (६७२ ) मेसी आएसँगै कतारी व्यवसायीको स्वामित्वमा रहेको पिएसजीले युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जित्ने अपेक्षा गरिएको छ । खेलाडीमा अर्बौं लगानी गरिरहेको पिएसजीले  घरेलु लिगमा वर्चश्व जमाएपनि  अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । सन् २०२० मा फाइनल पुगेको पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो ।

पिएसजीका अध्यक्ष नासिर अल खलिफाले मेसीसँग सम्झौता प्रकृया सम्पन्न गरेपछि  प्रतिकृया दिदै भने,‘मेसी उच्च स्तरमा प्रतिस्पर्धा गर्दै उपाधि जित्न चाहन्छन्  भन्ने कुरा कोहीबाट पनि लुकेको छैन, क्लब पनि त्यही चाहन्छ ।’

ला लिगाको वित्तिय बाधाका कारण बार्सीलोनाले मेसीलाई क्लबमा राख्न सकेन ।  बार्सामा वार्षिक १ सय ४० मिलियन युरो पारिश्रमिक लिदै आएका मेसी ५० प्रतिशत तलव कटौत गर्न पनि सहमत भएका थिए । तर सम्झौता नवीरकण सम्भव भएन । पिएसजीले मेसीलाई कति रकममा अनुबन्धन गरिएको भन्ने बारे प्रस्ट जानकारी दिइएको छैन  । केही अन्तर्राष्ट्रिय संचारमाध्यमले  एक सिजनको ३५ मिलियन पाउन्ड दिने सहमति भएको उल्लेख गरेका छन् ।  मेसीलाई सयौं समर्थकले स्वागत गरेका थिए । उनी आउने खबर बाहिर आएसँगै समर्थक उनको प्रतिक्षामा थिए । निजी विमानमार्फत पत्नी र तीन छोरासहित मेसी पेरिस  पुगेका थिए । उनी मेडिकल चेकअपका लागि निजी अस्पताल गए । त्यसपछि मेसीले होटलको बाल्कोनीबाट मिठो मुस्कानसहित आफ्ना  नयाँ समर्थकलाइ हात हल्लाए ।
 
दुई दिन अघि मात्र मेसीले २१ वर्ष विताएको वार्सीलोनाबाट रुँदै विदा मागेका थिए । बार्सा छोड्नु पर्दाको  पीडालाई मेसीले चिसो पानीले भरिएको  बाल्टी टाउकोमा खन्याएको भन्दै  व्याख्या गरेका थिए । यसका बावजुत बार्साका लागि चार च्याम्पियन्स लिग र १० ला लिगा सहित कुल ३५ उपाधि जितेका मेसीले अर्को टिमका लागि सफलता दिलाउन चाहेको बताएका थिए ।

नेइमार र एमबाप्पे फुटवल इतिहासका सर्वाधिक महंगा खेलाडी मध्येमा पर्छन् । मेसी थपिए सँगै प्रशिक्षक माउरिसियो पोचेटिनोको टोली पिएसजीको लाइनअप विपक्षीका लागि कठिन र चुनौतीपूर्ण बनेको छ । यसअघि बार्सामा नेइमार, मेसी र लुइस स्वारेजले अपंक्ति सम्हालेका थिए ।

मेसीले पिएसजीमा ३० नम्बरको जर्सी लगाउनेछन् । पिएसजीको ट्विटर ह्यान्डलमा पेरिसमा नयाँ हिरा क्याप्सनसहित पोस्ट गरिएको तस्विरले मेसीले ३० नम्बर लगाउने पुष्टि गरेको हो । बार्सामा मेसीले १० नम्बर लगाउँथे । पिएसजीमा दश नम्बर नेइमारले लाउने गर्छन् ।

पिएसजीले फ्रि एजेन्टमार्फत अनुबन्धन गरेका मेसी चौथो खेलाडी हुन् । यसै सिजन पिएसजीले रियाल मड्रिडका स्पेनिस डिफेन्डर सर्जियो रामोस, एसी मिलानका इटालीयन  गोलकिपर डोनारुम्मा र डच तथा लिभरपुलका  मिडफिल्डर जर्जिनो विनाल्डमलाइ भित्राएको थियो  । इन्स्टाग्राममा दुई सय ४६ मिलियन फलोअर्स भएका स्टार पावर मेसीको आगमन लिग वानका लागि सुखद समाचार हो  । उनी आएसँगै टेलिभिजन ब्रोडकास्टर्स बीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जुन क्लबको आम्दानीका लागि महत्वपूर्ण मानिन्छ ।
अबको मुख्य प्रश्न के मेसी बार्सामा जस्तै पिएसजीमा सफल हुन्छन् ? उनले पिएसजीलाई पहिलो च्याम्पियन्स लिग उपाधि जिताउलान् ? 
 

ताजा खबर