एक करोड डोज खोपको जोहो भइसकेका अर्थमन्त्रीद्वारा जानकारी

२०७८ श्रावण २६ मंगलबार १९:५३:०० मा प्रकाशित

काठमाडौं । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताएका हुन् ।   

 प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उल्लेख गरे ।

    संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए । 

    पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।
 

ताजा खबर