हुण्डी कारोबारका संलग्न भएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ, ९६ लाख रुपैयाँ बरामद

२०७८ श्रावण २६ मंगलबार १९:२८:०० मा प्रकाशित

काठमाडौं । हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको हो ।

उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं–१३ ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ घर भई काठमाडौंको गोंगबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप घर भई भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

गणबहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने प्रहरीले विशेष सूचना पाएको थियो । सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले तनुज इन्टरप्राइजेज प्रालि गणबहालमा चेक गरेको थियो । त्यहाँ हुण्डी कारोबार भइरहेको खुलेपछि सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्राउ गरेको हो ।

उनीहरूबाट ९१ लाख ९६ हजार रुपैयाँ, ८० लाख ४३ हजार ३ सय १९ बराबरको डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरको चेक बरामद गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

ताजा खबर